• २० असोज २०८१, आइतबार

गोरखापत्र संस्थानमा लक्ष्मीको पूजा आराधना

blog

गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक २६ गते । लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । पैसालाई लक्ष्मीको प्रतीकको रूपमा मानिन्छ र दैनिक रूपमा लक्ष्मी आउने र जाने हुनाले लक्ष्मीलाई खुसी पार्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।


संस्थानमा आयोजित पूजा कार्यक्रममा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीले लक्ष्मीको आराधना गर्नुभयो ।

यसैगरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलिया, अनलाइन प्रकाशनका सम्पादक नारदमुनि गौतम, अर्थ विभागका प्रमुख राजुकुमार महतलगायत संस्थानका प्रकाशन प्रमुख, विभागीय प्रमुखसहित कर्मचारीहरूले पनि पूजा अर्चना गर्नुभयो ।

गुरु पुष्करराज आचार्यले लक्ष्मीको पूजा गराउनुभएको थियो । पैसा, यन्त्र र तन्त्रको कारोबार हुने कार्यालयहरुमा लक्ष्मीपूजा गरिने परम्परा छ ।  लक्ष्मीपूजालाई विशेष महत्त्वका साथ कार्यालय र घरघरमा पूजा गरिन्छ । लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी कार्यालय तथा घरभरि दियो बाली मनाइन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाेले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।


लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग,  मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । 

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।