केही दिनअघि जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । हालसम्म त्यो क्षेत्रमा साना ठुला गरी तीन सयभन्दा बढी पराकम्प गइसकेका छन् । नेपाल हिमालय युरोसियन प्लेट र इन्डियन प्लेटको दोसाधमा रहेकाले निरन्तर थ्रस्टिङ र फल्टिङ भएर साना, मझौला र ठुला भूकम्पहरू गइरहन्छन् । त्यसैले यो भूभाग भूकम्पीय जोखिम क्षेत्रमा पर्छ । विगतको इतिहास हेर्दा उक्त कर्णाली मुस्ताङ क्षेत्रमा ८.४ रेक्टर स्केलको महाभूकम्प गएको ५१८ वर्ष भइसक्यो । यो अवधिलाई हेर्दा यसो अड्कल गर्न सकिन्छ कि करिब ५०० वर्षको अन्तरालमा आउने महाभूकम्प फेरी त्यही क्षेत्रमा आउन सक्छ । त्यो खतरा नेपालमा अझै रहँदै आएको छ ।
भूकम्प विज्ञान अध्ययन अनुसार यदि ठक्कर खाने प्लेट सतहहरूका लम्बहरू आपसमा सम्पाती वा समानान्तर भएमा भूकम्पबाट निस्कने शक्ति वा भूकम्पीय शक्ति अति धेरै हुन्छ । ती प्लेटहरूको सञ्चित, शक्ति पूर्ण रूपमा भूकम्पीय शक्तिमा परिवर्तन हुन्छ । जसको कारण अर्को ठुलो वा महाभूकम्प आउन धेरै वर्ष लाग्ने गर्छ । यो अवस्थाको महाभूकम्प अति ठुलो हुन्छ । यदि ती ठक्कर खाने सतहका लम्बहरू सम्पाती भएमा त्यस कर्णाली–मुस्ताङ क्षेत्रमा आगामी दिनमा आउने भूकम्पको मान ८.५ रेक्टर स्केलको हुने सम्भावना देखिन्छ । यदि ती ठक्कर खाने प्लेट सतहका लम्बबिचको न्यूनकोण बढ्दै गएमा त्यहाँ जाने भूकम्पको मान घट्दै जान्छ वा भूकम्पको शक्ति घट्दै जान्छ । यदि त्यो न्यून कोण बढी भएमा त्यो महाभूकम्पको मान करिब ७.८ रेक्टर स्केलको हाराहारीमा हुन सक्ने सम्भावना पनि छ तर ७.६ रेक्टर स्केलभन्दा कम मान भएको महाभूकम्प त्यस क्षेत्रमा जाने सम्भावना अति कम छ । समग्रमा त्यस मुस्ताङ, कर्णाली क्षेत्रमा आगामी दिनमा जाने महाभूकम्पको मान ७.६ रेक्टर स्केलदेखि ८.५ रेक्टर स्केलसम्मको बिचमा पर्ने प्रबल सम्भावना छ ।
कर्णाली, मुस्ताङ क्षेत्रमा ७.६ देखि ८.५ रेक्टर बिचको भूकम्प गएमा उक्त भूकम्पको शक्ति हालसालै जाजरकोटको रामीडाँडामा गएको ६.४ रेक्टर स्केलको भूकम्पको शक्तिभन्दा भूकम्पको शक्ति ७३.०८ गुणादेखि १४ हजार १२५ गुणा बढी हुन जान्छ । त्यो सम्भावित महाभूकम्प अति शक्तिशाली हुने हुँदा हालका संरचनाहरूको अवस्थामा ठुलो क्षति हुने देखिन्छ । अर्कोतिर भूकम्पले सतहमा पार्ने असर त्यस भूकम्पको इपिसेन्टरदेखि हाइपोसेन्टर बिचको दुरीमा भर पर्छ । अर्काे अर्थमा भन्नु पर्दा सतहदेखि भूकम्पको हाइपोसेन्टर टाढा भएमा सतहमा भूकम्पीय क्षति कमी हुन्छ । यदि हाइपोसेन्टर सतहदेखि नजिक भएमा सतहमा भूकम्पीय क्षति बढी हुन्छ । हालका कमजोर भौतिक संरचनामा ठुलो क्षति पुग्ने सक्ने जोखिम रहेको छ । भौतिक संरचनामा पुग्ने क्षतिको अनुपातले मानवीय र अन्य सम्पत्तिको नोक्सानी हुने गर्छ । जसको परिणाम मानवीय क्षति घरपालुवा जनावरहरूको क्षति पनि बढी हुन्छ ।
यदि इपिसेन्टर बस्तीमा प¥यो भने ४.५ रेक्टर स्केलको भूकम्पले पनि ठुलो क्षति पु¥याउँछ । उपरोक्त हाइपोसेन्टर, इपिसेन्टरको स्थान, भूकम्पको शक्ति आदिलाई मानवले चाहेर पनि आफ्नो नियन्त्रणमा लिन सक्दैन । यसको मतलव हाइपोसेन्टर, हाइपोसेन्टरको स्थान परिवर्तन गर्न, भूकम्पको शक्ति बदल्न, भूकम्प आउने समय बदल्न मानिसले सक्दैन ।
अर्कोतिर केही भूकम्पीय असर अरू प्रकारका पनि छन् । ती असरहरूलाई मान्छेले चाहेमा न्यूनीकरण गर्न सकिन्छ । ती असरहरू र न्यूनीकरण गर्ने उपायहरू यहाँ प्रस्तुत गरिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा कमजोर भौतिक संरचना छन् भने तिनको विकल्पमा नयाँ संरचनाहरू निर्माण गर्न जरुरी छ । भूकम्पको अध्ययन गर्ने हो भने सरकारी भवनभन्दा निजी भवनमा बढी क्षति हुने गरेको छ । मानिसको बस्ने बास गुमेपछि मानिस सडक, चौर, खेतबारीमा बस्न बाध्य हुन्छन् । बाहिरी सहयोग नभएमा उनीहरू हात–मुख जोर्न नसक्ने अवस्थामा पुग्छन् । भोकमरी बढ्छ, खुला ठाउँमा भोकै बस्दा बिरामी पर्छन्, रोगव्याधि पैmलिल्छ, त्यही बेलामा पराकम्पहरूको त्रासदीले मानिसमा भयावहको अवस्था सिर्जना हुन जान्छ ।
उपरोक्त ती भूकम्पीय असरलाई न्यूनीकरण गर्नका लागि निम्न लिखित कुरालाई ध्यान दिनु वा कार्यान्वयन गर्नु आवश्यक देखिएको छ । कर्णाली, मुस्ताङ क्षेत्रलगायत देशका विभिन्न भागमा बनेका घर, भवन पर्खालहरू माटा, ढुङ्गाले बनेका छन् । अधिकांश संरचनामा इटा, सिमेन्ट, डन्डीको प्रयोग गरेको पाइँदैन । माटो, ढुङ्गाले बनेका घर भवनको औसत आयु करिब ४० वर्ष हुने हुनाले ४० वर्ष पुगेका घर भवनहरू भत्काएर भूकम्प प्रतिरोधात्मक घर भवनहरू निर्माण गर्ने र त्यहाँ प्रयोग गरिएका वस्तुहरू ढाँचाको अध्ययनबाट ती घर भवनको आयु तोक्ने प्रणाली स्थापित गर्नु पर्छ । भवनहरूको आयु सकिएपछि भवनहरू भत्काउने र नयाँ भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्ने परिपाटीको थालनी गर्नु पर्छ । भौतिक संरचना निर्माण गर्दा प्राविधिक हिसाबले सबल र बलियो हुने प्रविधि र कच्चा पदार्थको प्रयोग गर्ने नीति अवलम्बन गर्नु पर्छ ।
भू–बनोट कमजोर भएका ठाउँमा घरहरू बनाउनु हुँदैन । यदि भू–बनोट कमजोर भएको ठाउँमा घर भवन बनेका भए ती संरचनालाई उपयुक्त भू–बनोट भएका स्थलमा सार्नु अति उत्तम हुन्छ ।
बाटा, घाटा, पर्खाल वैज्ञानिक मापदण्डमा चाँडो निर्माण गरेमा पर्खाल भत्किएर घाइते हुने वा मृत्यु हुनेको सङ्ख्या न्यूनीकरण गर्न सकिन्छ । भूकम्प पीडितलाई उचित व्यवस्था गर्न राज्य स्तरबाट हरेक ठाउँमा राहत गोदाम, औषधी पसल स्थापना गरी हरेक युवालाई राहत परिचालन तथा सहयोग गर्ने ज्ञानको शिक्षा दिलाएर युवा परिचालित गर्नु पर्छ । राहत परिचालन गर्न राज्य स्तरबाटै एकद्वार प्रणाली अवलम्बन गर्नु पर्छ ।
अहिले जाजरकोट जिल्लाको रामीडाँडामा गएको ६.४ रेक्टर स्केलको भूकम्पले गरेको क्षतिलाई गम्भीरताका साथ आत्मसात् गरी उपयुक्त तथ्यहरूलाई हेरेर राज्यस्तरबाट योजना तर्जुमा गर्दा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । साथै देशमा जनचेतनाको अभिवृद्धि हुनुका अतिरिक्त रोजगार सिर्जना गर्न सकिन्छ । पलायन भएर विदेश जाने युवा शक्तिलाई स्वदेशमै व्यस्त गराएर देश विकासमा युवाको योगदानको कदर गर्न सकिन्छ ।