हिजोबाट नेपालीको महान् चाड तिहार सुरु भएको छ । वर्षभरिका दुःख, कष्ट, पीर, व्यथा सबै बिर्सेर सपरिवार एकै ठाउँमा जम्मा भएर आआफ्नो गच्छे अनुसार मिठो मसिनो खाई रमाउने अनि आपसी वैमनस्यता भुलेर एक आपसमा शुभकामना आदानप्रदान गर्ने हिन्दुहरूको महान् पर्व दसैँ कसैका लागि दशा बनेर गयो । नपाउँदा नखाने र पाउँदा एकै पटक धेरै र अस्वस्थ ढङ्गले मासु र मिठाई खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गर्छ । तिहारलाई पनि कस्तो बनाउने भन्ने तपाईं हाम्रो हातमै छ ।
नेपालमा आठ प्रकारका प्राकृतिक र ११ प्र्रकारका सिन्थेटिक वा कृत्रिम रङ प्रयोग गर्न सरकारले अनुमति दिएको छ । खाद्य रङ नै भए पनि कृत्रिम खाद्य रङले मात्रा, शुद्धीकरण र कृत्रिम भएकै कारण हानिकारक बन्दछन् । पहँेलो खाद्य रङ टारट्राजाइनले डाबर आउने, दम, छालासम्बन्धी र अन्य समस्या निम्त्याउँछ । एन्नाटोले डाबर उत्पन्न गर्नेदेखि अन्य एलर्जी ल्याउँछ । बसेफरोनले पनि एलर्जीदेखि बेहोस भई मर्ने एनाफाइल्याक्सिससम्म बनाउन सक्छ । रातो रङ कर्माइनले एलर्जी उत्पन्न गर्न सक्छ । डेक्टाइलोपस कोकस सूक्ष्म जीवलाई सुकाएपछि पिसेर बनाइने कर्माइन कैयौँ प्रकारका कस्मेटिक, पेयपदार्थ र रातो दही बनाउन प्रयोग गरिन्छ । खान हुने रङमा रातोका लागि एमरेन्थ, निलोका लागि इन्डिगो कार्माइन तथा पहेँलोका लागि टाइड्जिन आदि प्रयोग गरिन्छ ।
बजारमा मिनरल, अखाद्य तथा कपडा रङ्गाउने रङ, मसीसमेत प्रयोग भइरहेका छन् । कतिपय खाद्यपदार्थ तथा मिठाईमा विभिन्न प्रकारका रङ, सिम्रिक, सिन्दुर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज जी, नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पा रङ मिसाइएको हुन्छ । विषालु र बढी मात्रामा खाद्य रङ क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी र खाद्य नियमावलीमा उल्लेख खाद्य रङ तथा एडिटिभ पिर्जरभेटिभ प्रयोग गरिएका खानेकुरा खा“दा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीले स्वास्थ्यमा दीर्घकालीन असर पु¥याउँछन् ।
ढुसी परेका र ओस्सिएका खाद्यपदार्थ पुछेर, धोएर वा सुकाएर पनि खानु हुँदैन किनभने यसमा रहेका टक्सिनले क्यान्सर रोग लगाउन सक्छ । यस्ता खाद्यपदार्थ सेवन गर्दा पेट गडबड गराउनुका साथै पखाला लाग्न सक्छ । रातो रक्तकोष नष्ट हुन्छ, रगतको कमी हुने रोग लाग्छ, रोगसँग लड्ने क्षमता घट्छ, भित्री कोमल अङ्ग जस्तै कलेजो, मुटु, मिर्गाैला कमजोर हुन्छन् । यसले क्यान्सर हुने सम्भावना बढेर जान्छ, चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ, बाँझोपन हुनसक्छ, आँखा, कान कमजोर हुनसक्छ । सन्तान लुला, लङ्गडा एवं अपाङ्गता भएका हुन सक्छन् । सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ । कलेजो, पेटको समस्या र हड्डी दुख्ने समस्या पनि देखिन्छ ।
चित्ताकर्षक रङ मिसाइएको मिठाई स्वादका लागि जति मिठो भए पनि गुणस्तरहीन र रङ्गीन मिठाईले भने स्वास्थ्यलाई राम्रो गर्दैन र हानिकारक हुन्छन् । रङमा सिसा, पारो, तामा जस्ता तत्व पाइन्छन् । तामाको आयनले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर, मांसपेसीलाई क्षतविक्षत पार्दछ । पारोयुक्त लवणले घाँटी खसखसाउने, श्वासप्रश्वासमा समस्या, आन्तरिक सुजन जस्ता समस्या उत्पन्न गराउँछ । पारोले मुख्यतः निष्कासन प्रणाली, मिर्गौलामा असर तथा तामाजन्य विषादीको सङ्ग्रहमा मद्दत पु¥याउ“छ । सिसाले कोषको वंशाणु डिएनए र आरएनएसँग अन्तर्वि्रmया गरी क्षतविक्षत बनाउँछ । शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्व लामो समयसम्म शरीरमा रही मन्द विषको काम गर्छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा विगतमा गरिएको अध्ययनमा रगतको हेमोग्लोबिन नष्ट पार्ने, आ“खाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने, एफसीएफ सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रङ जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेँलो रङ दिन, पुरुषको शुव्रmकिट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रङ सुरक्षित गर्न प्रयोग भइरहेको देखाएको छ । रोडामाइन बीले मिर्गौला र अण्डकाषेमा क्षति, मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन गराउन भूमिका निर्वाह गर्छन् ।
अक्सिटोसिनको एक सुईले एक किलोको तरबुजा २४ घण्टामै ५, ६ किलोसम्म बढाइदिन्छ, पशुबाट बलजफ्ती दुध निकाल्छ तथा पुरुषलाई पूर्ण नपुंसक बनाइदिन सक्छ । यस्ता नक्कली विषालु तेल, फलफूल र चियापत्तिले मिर्गौलालाई नोक्सान पु¥याउने, आँखाको ज्योति गुम्ने, प्यारालाइसिस, पुरुषलाई पूर्ण नपुंसक र क्यान्सरसम्म हुन सक्छ । निरन्तर सेवनबाट गर्भ नष्ट हुने, अपाङ्गता भएका बालबालिका जन्मने, अस्वाभाविक वृद्धि, समयपूर्व नै रजस्वला र महिलामा दारीजुँगा निस्कन सक्छ । नेपालमा भने स्प्रेका रूपमा खुलम् खुला उपलब्ध छ र किसानले प्रयोग गरिरहेका छन् ।
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा खाद्य तथा गुण नियन्त्रण विभागद्वारा गरिएको पोषण सर्वेक्षणमा देखिएको छ । खानेकुरामा मिसावट गर्ने र शुद्धता नष्ट पार्नेलाई सजाय गर्न दर्जन बढी ऐन नियम छन् । ऐन नियमावलीमा उपभोक्ता हकहितमा अनेक प्रत्याभूति रहे पनि व्यावहारिक धरातलमा चाहिँ सधैँ खडेरीको अवस्था छ । खाद्य मिसावटलाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनकै रूपमा व्याख्या गरेको छ । खाद्य अधिकारलाई संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको छ । त्यस्तै पैसा तिरेपछि त्यस अनुसारको माल नपाउनु पनि आर्थिक अधिकारसँग सिधै जोडिन्छ । स्वस्थ खान नपाउनु खाद्य अधिकारको हनन हो । तथापि लेख्नेले लेखिरहेकै छन्, बोल्नेले बोलिरहेकै छन् तर कार्यान्वयन गर्ने सरोकारवाला निकाय कानमा तेल हालेर बसिरहेको छ ।
अखाद्य वस्तुको मिसावट मात्र समस्या रहेन, यहाँ अस्वस्थ र दुषितपनाको समस्या पनि पराकाष्ठाकै रूपमा देखिएका छन् । कार्ल माक्र्सले पु“जीमा नाफामुखी व्यापारका बारेमा १० प्रतिशत नाफाले पुँजी जाग्ने, २० प्रतिशत नाफाले जीवित रहने, ५० प्रतिशतसम्मको नाफाले सकारात्मक सन्देश दिने, शतप्रतिशत नाफाले मानवीय सभ्यताको नियम कानुन उल्लङ्घन हुन्छ भने तीन सय प्रतिशत नाफा घोर अपराधपूर्ण हुन जान्छ । त्यो आम्दानी सधैँ खतराको घेराभित्र रहिरहन्छ भनेका छन् । नेपालका बजार व्यापारमा त कम्तीमा तीन सय प्रतिशत नाफा खोज्ने अपराधपूर्ण व्यवसाय मात्र पो गरी बसेका नदेखिएला भन्न सकिने अवस्था रहेन– हालको राजनीतिक तथा सरोकारवालाको रबैयाबाट ।
चाडबाडमा प्रयोग हुने मिठाईले उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या अपच, पखाला तथा निद्राजन्य बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्छ । दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकाहरूमा एकै पटक लक्षण देखिन थाल्छ । सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु, चिल्लो, फलफूल, मिठाई उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकालाई त अभिशाप नै बन्न सक्छ । चाडबाडमा खाइने मासु, चिल्लो, मसला, मिठाई र मद्यपान मुखमैत्री, मुटुमैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि छैनन् । तसर्थ चाडबाडलाई स्वास्थ्यमैत्री बनाउन जागरुक बनौँ ।