सुजल श्रेष्ठ
प्युठान, कात्तिक २२ गते । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न निकायबाट पुस्तक सङ्कलन गरिरहनुभएको छ ।
“म वैतनिक वकिल हुँदा कारागारमा केही पुस्तक दिएको थिए,” उहाँले भन्नुभयो, “त्यतिबेला धेरै खुसी हुनुभएको थियो, अलि धेरै किताब दिन पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो ।” उहाँले आफ्नो जन्मदिनको अवसरमा यो अभियान थालनी गर्नुभएको हो ।
अभियानलाई अघि बढाउन जिल्लाकै खलङ्गा सरोकार समूहले समन्वय गरेको छ । अहिले करिब एक सय बढी किताब सङ्कलन भइसकेको छ । “थुप्रै मानिसले किताब दिन्छौँ भनेर भन्नुभएको छ,” उहाँले भन्नुभयो, “दुई सय किताब भएपछि हामी कारागारमा दिन्छौँ ।”
कारागार प्रमुख सूर्य पन्तसँग छलफल गरी पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लागिएको सांसद गिरीले बताउनुभयो । पुस्तकालय कारागारमा नभएकाले राम्रो र्याक बनाउने कुरा भएको उहाँले बताउनुभयो । पीडित सेवा सङ्घले २०७१ सालमा स्थापना गरेको पुस्तकालय जीर्ण भइसकेको छ ।
यो अभियानमा अरू व्यक्तिहरूले समेत पुस्तक दिन चासो दिएको सांसद गिरीले बताउनुभयो । अभियानलाई प्रदेशका १२ वटै जिल्लामा रहेका कारागारमा पुस्तकालय बनाउने गरी अघि बढाउने सोचमा रहेको समेत उहाँले बताउनुभयो ।