सिराज खान
नेपालगन्ज, कात्तिम २२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका भूकम्पका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । बुधबार भेरी अस्पताल पुग्नु भएका मन्त्री ज्वालाले घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरूसँग पनि उपचारका बारेमा जानकारी लिनुभएको थियो ।
सो अवसरमा उहाँले घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जनाउँदै उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिनुभयो । मन्त्री ज्वालाले घाइतेको उपचारमा भेरी अस्पतालले देखाएको तदारुकता निकै सराहनीय रहेको जनाउँदै घाइतेहरूको अवस्था सामान्य रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भूकम्पपीडितको उद्धारको काम सकिएको र घाइतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको जनाउँदै अब सरकारले राहत र पुनर्निर्माणमा केन्द्रित भएर काम सुरु गरेको बताउनुभयो ।
भूकम्पमा भत्किएका घरहरूलाई अर्को भूकम्पमा नभत्किनेगरि बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै त्यसका लागि विभिन्न कार्य भइरहेको मन्त्री ज्वालाले बताउनुभयो ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, उपचारमा संलग्न चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले हालसम्म उपचारका लागि ५३ जना भेरी अस्पतालमा आएकोमा तीन जना निको भएर घर फर्किसकेको र एक जनाको बाटोमै मृत्यु भएको तथा अहिले ४९ जनाको अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
उहाँले घाइतेको उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी लगायत बाँकेका सर्वसाधारणले देखाएको सक्रियता निकै सराहनीय रहेको पनि बताउनुभयो ।