• २० असोज २०८१, आइतबार

कुम्भकार माटोको भाँडा बनाउन व्यस्त

blog

इनरुवा (सुनसरी), कात्तिक १८ गते । सुनसरीको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोही माटो मुस्छन् त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो । 

इनरुवा, लौकही, हरिपुरलगायत स्थानका कुम्भकारले दीपावली तथा छठलाई लक्षित गरी माटोका भाँडा बनाउन थालेका स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी माटोका घैला, दियो, पालासहितका विभिन्न भाँडाकुँडा बनाउने काममा व्यस्त बनेका छन् । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने भएकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्नुपर्ने उहाँको भनाइ थियो ।

एक महिना अघिसम्म विभिन्न समस्याले माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो भएको स्थानीय देवनारायण पण्डितले बताउनुभयो । नजिकमा माटो नपाइने भएकाले टाढाबाट किनेर ल्याइएको बताउँदै अहिले भाँडा, पाला तथा अन्य सामग्री बनाउन हतार भइरहेको उहाँको भनाइ थियो । 

दीपावली तथा छठ पर्वमा चौमुखे दियो, पाला, कलशालगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितले बताउनुभयो । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अहिले यो काममा बढी व्यस्त भएको उहाँले बताउनुभयो ।

पर्वलाई लक्षित गरी केही दिन अघिदेखि भाँडा बनाउन थालिएको बताउँदै समय कम भएकाले बजारको माग पूरा गर्न निकै चुनौती रहेको कुम्भकार समुदायका नेता ज्ञानदेव पण्डितले बताउनुभयो । कुमाले समुदायको पेसालाई सरकारले संरक्षण गर्नका लागि ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । रासस