• १ जेठ २०८२, बिहिबार

घाइतेको उपचारका लागि स्थानीय तहबाट स्वास्थ्यकर्मी पठाइयो

blog

भुकम्पका घाइतेलाई भेरी अस्पताल नेपालगञ्जमा उपचार गरिदैं । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक १८ गते । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् । 

खजुरा गाउँपालिकाले दुई लाख रुपियाँको औषधिसहित स्वास्थ्य शाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा शनिबार बिहान टोली जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिनुभयो । अध्यक्ष विकले भन्नुभयो, ‘प्रभावितको ज्यान बचाउन स्वास्थ्यकर्मी पठाएका छौँ, अन्य सहयोग क्रमशः गर्नेछौँ ।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्धार तथा स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको बताउनुभयो । घाइतेको ओसारपसारका लागि नेपालगन्ज उपमहानगरपालिकाले एम्बुलेन्स पनि उपलब्ध गराएको छ । 

यसैबिच जिल्ला बिपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिलाई मध्यनजर गरी आवश्यक प्रतिकार्यका लागि सम्पूर्ण संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको छ । 

बैठकमानेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगररपालिका, राप्तीसोनारी गाउँपालिका र खजुरा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटीलगायतले स्वास्थ्यकर्मी तथा औषधि र अन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालगन्जको भेरी अस्पताललाई भूकम्पमा परेका घाइतेहरूको उपचारका लागि व्यवस्था मिलाइएको छ । शिक्षण अस्पताल र अन्य अस्पताल पनि तयारी अवस्थामा राखिएको छ ।  प्रमुख जिल्ला अधिकारी पोखरेल सहितका सुरक्षा अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाकाभेरी अस्पतालमा कार्यरत अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी सहितको टोली परिचालन भएको छ ।