• १३ असोज २०८१, आइतबार

स्वतन्त्रताका कविता

blog

समकालीन नेपाली कविताको मूल स्वर विद्रोही छ । त्यसो त आधुनिक नेपाली कविताको प्रमुख धारा परम्परागत मूल्यहरूमा रहेका विभाजन र विभेदकारी पुरातन व्यवस्था तथा वर्तमानको पश्चगामी अवस्थाप्रति कविता सदैव मुखर प्रतिक्रियात्मक बनेको देखिन्छ । कविता हेतुका सम्बन्धमा स्थापित शास्त्रार्थहरूलाई एकछिन बिर्सेर आजको युगमा कविता लेख्नुपर्नाको कारणबारे उठ्ने प्रश्नहरूमा घोत्लिँदा पनि परम्परा र वर्तमानप्रति पूर्णतः सहमत मानिसलाई कविता लेखिरहनु जरुरी पनि पर्दैन होला । जीवन केही मानवीय उदात्तता र केही उच्च नैतिक राजनीतिबाट सञ्चालित होस् भन्ने एक तहको आदर्श चाहनामा विगत र वर्तमानले पु¥याएका अभिघातबाट अभिव्यञ्जित भएका कारण कविताको स्वर विद्रोही हुनु एक हदसम्म आधुनिक कविताको स्वभाव हो । कविताको यही स्वभाव छाउगोठकी आमा कविता कृतिमा सङ्गृहीत कविताहरूले पनि देखाएका छन् ।

जानु धिताल जीवनका जटिलताहरूलाई सरल भाषामा प्रस्तुत गर्नु हुन्छ । उहाँका कविता साधारण मानिसका साधारण भोगाइहरू नै हुन् । तर तिनमा गहिरिने हो भने जीवनका रहस्यमय पहेलीहरूमाथि गम्भीर टिप्पणी पनि भेटिन्छन् । उहाँ केवल साधारण मानिसले समाजमा खेल्न सक्ने हदसम्मको सकारात्मक भूमिकाको खोजी गर्नु हुन्छ । बस त्यसका लागि रुढ बनेका नियमहरूभन्दा प्रभावकारी र उत्कृष्ट बाटोको आविष्कार उहाँका कविताको प्राक्कथन हो ।

जीवन जे कारणले जटिल बनेको छ, त्यसको निराकरणबाट उहाँले जीवनलाई सरलीकृत पार्ने पक्षमा आफूलाई उभ्याउनु भएको छ । परम्पराले र परिस्थितिले विकृत र कुरूप बनाएको सामाजिकी र मानविकीलाई उहाँ धरातलीय यथार्थ आत्मसाथ गर्ने विवेक र विद्रोही आँटका माध्यमले सुन्दर र परिमार्जित गर्न चाहनु हुन्छ । परम्परागत सामाजिक मूल्यहरू निर्माण गर्ने सत्ता पुरुषसत्ता थियो । परम्परागत मान्यताहरू बलियाले आफ्ना पक्षमा निर्धामाथि थोपरेका मान्यताहरू थिए । समाजको इतिहास, देशको इतिहास र सभ्यताकै इतिहासमा पनि पुरुषले नारीमाथि दमन गर्न, शासकले शासितमाथि उत्पीडन गर्न तथा समग्रमा बलियाले निर्धामाथि निर्बाध शोषण गर्न आफ्नो अनुकूल सामाजिक साँस्कृतिक मूल्यहरूको बन्धन निर्माण गरेको हो । रजस्वला हुँदा महिलाले छाउगोठमा बस्नुपर्ने जस्ता अमानवीय प्रथा त्यसका उदाहरण मात्र हुन् । यस्तो बर्बर अमानवीय परम्पराका निर्माता पुरुषसत्ताका अधिपतिहरूलाई कविको अकाट्य प्रश्नका रूपमा धितालका कविता उभिएका छन् ।

जानु धितालका कवितामा सामयिक चेतनाको फराकिलो आयाम छ । लैङ्गिक चेतना, आदिवासी चेतना, दलित चेतना, पर्यावरणीय चेतनाजस्ता आजको वैश्विक मुद्दाहरूमा केन्द्रित उहाँका कविताले आधुनिकताभन्दा निकै वर आएर बहुलतामा आधारित मूल्यलाई सतहमा ल्याएको छ । मानिसले गरेको अति दोहनका कारण प्रकृतिमा देखा परेको विनासकारी परिवर्तनकाप्रति कविको चासो रहेको छ । खास गरी प्रकृतिमा रहेका पानीका मुहान सजीव अस्तित्वका लागि आमाका दशधारा दुध जत्तिकै पवित्र हुन् तर मानिसको कृतघ्नताको सीमाहीनताले नदीको क्षेत्रसमेत अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिएका छन् । जलप्रदूषण, वायुप्रदूषण, माटो प्रदूषण, ध्वनिप्रदूषण, दृष्य प्रदूषण, कार्बन उत्सर्जन आदि कारणले जीवन झन्झन् कष्टकर बन्दै गएकोमा मानिस मात्र कारक रहेको छ । यसप्रति कविले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

छाउगोठकी आमा कविता सङ्ग्रहमा कुल छब्बिस वटा कविता समावेश गरिएका छन् । हरेक कवितालाई नेपाली र अंग्रेजी भाषामा राखिएका छन् । नेपालीमा लेखिएका जानु धितालका कवितालाइ अंग्रेजी अनुवाद भने विधान आचार्यले गर्नु भएको कुरा पुस्तकमा सूचित गरिएको छ । अनुवाद निकै सरल र अभिधात्मक किसिमको छ । पुस्तकमा दिइएका नेपाली मूलपाठ र अनुवादित अंग्रजी पाठ दुबैले पुस्तकलाई आकार दिएका छन् । नेपाली नबुझ्ने पाठक लक्षित गरेर सायद अनुवाद राखिएको होला । नेपाली र अंग्रेजी दुबै पाठ साथसाथै राखेर कविता पढ्दा पाठकलाई नयाँ रोमाञ्चकता समेत यसबाट प्राप्त भएको छ ।

भावहरूको कोलाज बनेका धितालका कवितामा सिद्धान्तको कठोर नियन्त्रण छैन । बरू भोगाइका अनेक  रङहरूको स्वच्छन्द विचरण छ । गति जीवनको सिद्धान्त बनेको छ र स्वतन्त्रता गतिशीलताको केन्द्रीय मूल्य बनेको छ । जून र फूलजस्ता प्रेम र सौन्दर्यका सर्वकालीन विम्बहरूलाई पनि नयाँ अन्दाजमा प्रस्तुत गर्नु धितालका कविताको विशेषता हो । भाषा शील्पका हिसाबले भयङ्करै विष्मयकारी आविष्कार नभए पनि धितालका कवितामा प्राकृतिक किसिमको मौलिकता झल्कन्छ ।

रूपकहरूमा प्रयुक्त प्रतीकहरू कतिपय कवितामा अभिधार्थमा मात्र सीमित हुन पुगेका छन् । तिनले लक्ष्यलाई समाउन नसकी कोरा भावुकताको सारहीन चक्कर कटाइमा फस्न पुगेका छन् । जूनको प्रेम शीर्षक कविता त्यसको एक उदाहरण हो । कवितामा प्रेमी नायकको तस्बिर स्पष्ट रूपले खिच्न सकिएको छैन । जीवनमा भोगिएका दुःखपीडा बाँड्न उपस्थित गराइएकी सखीका रूपमा पनि जूनको विम्ब स्पष्ट हुन सकेको छैन । जूनको आलम्वनमा फिजाइएको मनको बिस्कुन पनि केका लागि हो स्पष्ट हुन सकेको छैन । यस्ता कतिपय कविताहरूमा पर्याप्त सम्पादन र परिष्कारको सम्भावना रहेका छन् । कविको आस्था भन्नु मान्छेको जीवन हो । मान्छेको जीवन नै कविको सिद्धान्त हो र त्यही नै उहाँका कविताको विषय पनि बनेको छ ।

व्यक्तिगत स्वार्थको सङ्कीर्ण घेरामा फस्दै गएको समाजको नग्न चरित्र कवयित्रीले उजागर गर्नु भएको छ । उहाँले लेखेका कुरा नयाँ होइनन् तर नयाँपनसहित आएका छन् । प्रेम नै व्यापार बनेको आजको दुनियाँमा कवि प्रेमका पक्षमा हुनुहुन्छ । कवितामा कतै वात्सल्य छ, कतै देशभक्ति, कतै मानवताको गीत छ, कतै उत्पीडनको पीडा छ । तर ती सबैमा वर्तमानप्रतिको असन्तुष्टि र विद्रोह जतासुकै छ र भविष्यको प्रस्तावना उहाँका कविताको मूल ध्येय बनेर प्रकट भएको छ । समानता, विवेकमा आधारित सामाजिक न्याय, प्रेम र मानवता तथा मानव जीवन अनुकूल सांस्कृतिक रूपान्तरण कविको प्रमुख स्वर हो । छाउगोठकी आमा कविता सङ्ग्रहमा यही स्वर बुलन्द छ । १०८ पृष्ठको यस सङ्ग्रहको मूल्य ३००÷– रुपियाँ रहेको छ । पुस्तकको प्रकाशन भने सोसल एन्ड एकेडेमिक इन्नोभेसन्स प्रा.लि.ले गरेको हो ।



Author

भरतकुमार साउद