• ८ मंसिर २०८१, शनिबार

सफलताको सिँढी सकारात्मक सोच

blog

भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, अहङ्कार, द्वेष आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, निरसता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निरासा, लाचारी, दुःख, असफलता, दरिद्रता, थकावट, असन्तोष आदिबाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ तर विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार, व्यवहारमा वीरता ल्याई मानिसको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, अनुशासित बनाइदिन्छ । 

त्यसैले राम्रो सोच्नु नै सकारात्मक हुनु हो । सकारात्मकताले सफलता प्राप्त गर्न सकिन्छ । सकारात्मक भावना हाम्रो जीवनका लागि अति फलदायी हुन्छ । हामीले यो विश्वास गर्नु पर्छ कि सबै कुरा ठिक हुँदै छन् । यसरी नै सकारात्मकता ल्याउन सकिन्छ । अर्थात् दृष्टिकोणलाई सकारात्मक बनाउन सकिन्छ । आफूले आफैँलाई धन्यवाद व्यक्त गर्ने कुरा सिक्नु पर्छ । जीवनमा भएका सकारात्मक अनुभव र आदर्शलाई मनन गरेर आफूलाई धन्य सम्झँदा आत्मऊर्जा प्राप्त हुन्छ ।  असन्तोष प्रगतिको ढोका हो । जुनसुकै कुरामा पनि असन्तोष हुनुले प्रगतिको ढोका खोल्न र हरेक कुरा जान्न र बुझ्न चाहना भइरहन्छ । तनावबिना यस्तो चाहना हुन पनि सकारात्मक सोच हुनै पर्दछ । यस प्रव्रिmयाले जुनसुकै कुरामा पनि एकदम ताजगीका साथ ढुक्कसँग माथि उक्लिन सक्छौँ । त्यसैले त जस्तोसुकै सङ्घर्षमा पनि धैर्य र आत्मविश्वास दुवै आवश्यक हुन्छ । आफूलाई सकारात्मक बनाउन हाम्रो मानसिकता अधिक सकारात्मक हुनु पर्छ । सपना पूरा गर्न प्रेरित हुनु पर्छ । आफूलाई प्रेरित बनाउनका लागि आफ्नो सपना र लक्ष्यप्रति पूर्ण ध्यान दिनै पर्छ । सपना देख्ने बानीले मानिस सफल हुन्छ । यही विश्वासले बढीभन्दा बढी सपना देख्नै पर्छ । 

सकारात्मकताका लागि सबभन्दा पहिले आफूले आफैँलाई सम्मान गर्ने बानी बसाल्नु पर्छ । यसैबाट आफ्नो मूल्यलाई महत्व दिन सकिन्छ । आफूले आफूलाई महत्व दिएपछि अरूले पनि आफूलाई महत्व दिन्छन् । आत्मस्वीकृति र मनोबल नै आफूलाई स्वीकार गर्ने दुई महत्वपूर्ण कदम हुन् । म महत्वपूर्ण छु भनी अडिग हुन सक्नु सबभन्दा चुरो कुरो हो ।योग र प्राणायाम गर्दा पनि मानसिक शान्ति र सकारात्मकता बढ्छ । यसले आत्म उन्नतिमा मद्दत गर्छ । आफूभित्रको ऊर्जालाई आभास दिलाइदिन्छ र अत्यधिक सफलतातिर डो¥याइदिन्छ । यी सबै उपायले सकारात्मकताबारे प्रेरित बनाइरहन्छ । जीवनलाई सार्थक, सकारात्मक दृष्टिकोणमा हेर्दा, ठुलो सङ्घर्षको समयमा पनि स्वास्थ्य उत्तम भइरहन्छ । अनि सदा खुसियालीको वातावरण बनिरहन्छ । अवश्य नै यो सकारात्मक सोच नै सफलताको सूत्र हो ।

कुनै काम अवश्य नै सफल हुने छ भन्ने मानसिकताले कसलाई उत्साहित नबनाउला र ? अवश्य नै सकारात्मक भावनाले मनमा आनन्द मिल्छ । आनन्दले जीवनप्रति उत्साह र आदर्श जगाइदिन्छ; जसले हामीलाई नयाँ लक्ष्य देख्न र समस्यासँग जुध्न यथेष्ट शक्ति प्रदान गर्दछ । आशाका किरणहरू जगाइदिन्छ र देखाइदिन्छ । मनोबल उच्च बनाइदिन्छ । जीवनप्रति गर्व र प्रेरणात्मक शक्ति प्रदान गर्दछ । हरेकका लागि यो अतिरिक्त प्रेरणादायी शक्ति पनि हो । 

सकारात्मक सोचले जीवनलाई राम्रो बनाउन मद्दत पु¥याउँछ र अरूलाई पनि प्रेरित गराउँछ । यसले हरेक कुरामा अध्ययन गर्ने र सामाजिक परिस्थितिलाई सुधार्ने साहस प्रदान गर्छ । गरेका निर्णयमा गल्ती हुन दिँदैन । असहाय व्यक्तिलाई स्नेह, सहयोग र प्रेमको भावना प्रकट गर्ने प्रेरणा प्रदान गर्दछ । जीवनलाई रङ्गीन बनाउँछ । हाम्रो चरित्रको विकास र सङ्घर्षको मार्गलाई बुझ्न मद्दत पु¥याउँछ । साथै आफ्नो लक्ष्यमा समर्थन प्रदान गर्दछ ।

सकारात्मक शक्ति एउटा मनोगत आदानप्रदानका रूपमा प्राप्त हुने ऊर्जा वा प्रेरणा हो; जो हाम्रो जीवनमा सकारात्मक परिणाम ल्याउन मद्दत गर्छ । यसले हाम्रो जीवनमा सान्त्वना, ऊर्जा, आत्मविश्वास, उत्साह र सफलता ल्याउँछ । यो एउटा बलियो शक्ति हो; जो हाम्रो मानसिकता र आचरणमा सशक्त तथा सही परिणाम दिन्छ । त्यस्तै आगामी कार्यप्रति प्रेरित गर्दछ । 

सकारात्मक शक्ति बढाउन सङ्गीत सुन्नु पर्छ, पुस्तक पढ्नु पर्छ, मानव सेवामा उत्रनु पर्छ, उत्सवहरूमा भाग लिनु पर्छ र नयाँ चुनौतीहरूको सामना गर्ने बानी बसाल्नु पर्छ । हाम्रो वरिपरिका हरेक सकारात्मक व्यक्तिको सोच र सङ्गतले यसमा वृद्धि हुन्छ । फलस्वरूप सफलता प्राप्त गर्न सजिलो हुन्छ । तसर्थ तपाईंको मनमा आफू राम्रो, उत्कृष्ट, हर्षित, सबल छु भन्नका लागि सकारात्मक सोच हुनै पर्छ । यही कारण नै तपार्इं ऊर्जाशील भएर अरूभन्दा एक कदम अघि बढ्न सक्नुहुने छ ।  आफूले आफूलाई कुनै पनि हालतमा सफल बनाउन उत्कृष्ट आचरण पनि हुनु पर्छ । सफलताका लागि जस्तोसुकै कदम चाल्ने दृढ अडानले नै प्रतिकूलतालाई धेरै पछाडि छाडिदिन्छ । कार्यप्रतिको लगन, इमानदारी, दखल तथा पूर्ण आशाका साथ गरिएको कडा परिश्रमले उचाइमा पु¥याउँछ; जहाँबाट गन्तव्यको अति नै रमणीय, सुन्दर संसार हासिल गर्न सकिन्छ । 

नयाँ जोश, जाँगर, उमङ्ग तथा उत्साहले भरिपूर्ण भई सकारात्मक सोच राख्न सकिन्छ । नकारात्मक सोच हटाउन यस्तै नै एउटा सशक्त सकारात्मक सोच आवश्यक हुन्छ । संसारले तपाईंलाई तल्लो स्तरमा हेरे पनि आफूले आफूलाई यसरी कहिल्यै हेर्नु हुँदैन । यसका लागि आफ्नो फुर्ती घटाउनु हुँदैन । गर्वले छाती चौडा पार्नु पर्छ । आशालाई मर्न दिनु हुँदैन ।

आज जो पनि, जसलाई पनि हेयको दृष्टिले हेर्न रमाउँछन् । उनीहरू आफू पनि गर्न सक्दैनन्, अरूले गरेको पनि सहन गर्न सक्दैनन् । गरेपछि के हुन्न ! अगाडि बढ्ने मान्छेले नै हो उडान भर्ने । उडानबाट नै हो सुन्दर, मनोरम संसार देख्न सकिने । प्रयास अरूले गर्ने होइन, आफैँले गर्ने हो । अनि जित पनि आफ्नै हुने हो ।  

Author

बिजु सुवेदी विजय