झण्डै पाँच दशकअघि (२०३३ सालमा) तिहारलगत्तै एक दिन मेरा अग्रज पवनराज सुपारीका साथ पशुपति क्षेत्रमा अवस्थित भुवनेश्वरी मन्दिरमा आयोजित भट्टराई बन्धुहरूको भेलामा म सहभागी भएको थिएँ । समय–समयमा काम विशेषले काठमाडौँ जाने–आउने गरेको भए पनि जानपहिचान र सरसङ्गतका दृष्टिले काठमाडौँ मेरा लागि नूतन थियो । यहाँको परिवेश र रहनसहनबारे पढेको मात्र थिएँ– देखे जानेको थिइनँ ।
भुवनेश्वरी मन्दिरमा चन्द्रकुमार भट्टराईको संयोजकत्वमा आयोजित भट्टराई बन्धुहरूको त्यो भेला पनि उस्तै नवीनतम रह्यो । त्यहाँ मैले चिने–जनेकोमा श्रद्धेय पवनराज सुपारी मात्र हुनुहुन्थ्यो । केही समयपछि प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई आउनु भयो । बेला–बखत भेट्ने गरेका समादरणीय व्यक्तित्वको उपस्थितिले म पुलकित हुन पुगेको थिएँ । उहाँले मलाई देख्नासाथ ‘हाम्रा भट्टराई बन्धु पनि आएका रहेछन्’ भन्नु हुँदा मेरो शिर उँचो भएको थियो । उपस्थित जनसमुदायबीच नवीनतम चेहराप्रति सबैको चासो देखिएको थियो । त्यहाँ बनेको सौहार्दपूर्ण वतावारणले मन्त्रमुग्ध भएको थिएँ । त्यसै बखत राधेश्याम भट्टराई आउनु भयो । उहाँ राष्ट्रिय पञ्चायतमा कार्यरत द्वितीय श्रेणीको सरकारी कर्मचारी हुनुहुन्थ्यो । उहाँले विशेष व्यक्तित्वको रूपमा आसन ग्रहण गर्नु भयो ।
सन्तनेता कृष्णप्रसाद भट्टराई राधेश्यमभन्दा पहिलेदेखि नै भुवनेश्वरी मन्दिरमा उपस्थित हुनुहुन्थ्यो । पञ्चायत व्यवस्थाका कटु आलोचक उहाँ सत्र सालमा खोसिएको प्रतिनिधिसभाका सभामुख हुनुहुन्थ्यो । त्यतिखेर पञ्चायतइतर विचार राख्नेहरू प्रशासनका लागि आँखाका कसिङ्गर हुन्थे । हामी लुकीछिपी किसुनजीकहाँ जाने गथ्र्यौं तर पनि हाम्रा विरुद्ध ‘ट्याग’ लागिसकेको थियो । सरकारी कर्मचारीले पञ्चायतइतर, विशेषतः नेपाली कांग्रेसका राजनीतिक नेताहरूसित सार्वजनिक ठाउँमा सम्पर्क राख्नु दुष्कर मानिन्थ्यो । कतिपय कर्मचारीको जागिर गुमेको पनि थियो । लुकेर घरमा जानेहरूसमेत ‘ब्ल्याकलिस्टेड’ हुन्थे । यस्तो विषम स्थितिमा किसुनजी र राधेश्याम भट्टराईको आमने–सामने सबैका लागि कौतुहलको विषय रह्यो । तर, मेरो मन भित्र–भित्रै रमाएको थियो । भट्टराई बन्धुहरूको देवाली प्रसङ्गमा भएको त्यो भेटघाट गैर–राजनीतिक घटना थियो । स्वभाव अनुसार किसुनजी बडो सहज ढङ्गले प्रस्तुत हुनुभएको थियो । मन्दिरमा उपस्थित जनसमुदायका जिज्ञासाहरूको जबाफ दिनु भएको थियो । नचाहँदा नचाहँदै पनि गफ–गाफको क्रममा राजनीतिक गन्धका कुरा ननिस्किएका होइनन् तर ती हलुका र सामान्य गफका विषय बनेका थिए । संयोजकले विषयान्तर हुन दिनु भएन । भट्टराई बन्धुको देवाली र नयाँ कार्यसमितिको सन्दर्भले चर्चा पायो । त्यसै भेलाले काठमाडौँको जिल्ला स्तरीय भट्टराई बन्धु समिति गठन ग¥यो । मलाई सहसचिवमा चयन गरियो । किसुनजी र राधेश्याम भट्टराई सल्लाहकार रहनु भयो । मैले राधेश्याम भट्टराईलाई यति बेलै चिनेको हुँ ।
निजामती सेवाका भट्टराई र संस्थानतर्फका हामी कर्मचारीहरूबीच जानपहिचानको आधारमा मात्र सम्बन्ध कायम हुन्थ्यो । योगदानको दृष्टिले सामान्यतया उहाँलाई निजामती सेवा, साहित्य साधना र समाजसेवा एवं आध्यात्मिक साधनाका क्षेत्रमा स्मरण गर्नुपर्ने हुन्छ । उहाँको कार्यकालमा निजामती सेवाको अवस्था तरल थियो, सहज थिएन । मुलुकमा राष्ट्रिय एकता र मेलमिलापको वातावरण निर्माण हुँदै गर्दा २०३६ सालमा राष्ट्रिय जनमत संग्रहको घोषणा भएको थियो । जनमत संग्रहमा विजयी भएको सुधारिएको पञ्चायत व्यवस्था अन्तर्गत दुई दशकपछि पहिलो पटक वालिग मताधिकारको आधारमा नेपाली जनताले राष्ट्रिय पञ्चायतमा आफ्ना प्रतिनिधि छान्ने अवसर पाए । निर्वाचित पञ्चहरू उदारवादी र अनुदारवादी दुई धारमा विभक्त थिए । सदनभित्र विश्वास–अविश्वासको द्वन्द्व चल्यो । विषम परिस्थितिमा पनि कुनै किसिमको कमीकमजोरी अनुभूत गर्नु परेन ।
बहुदलीय प्रजातान्त्रिक पक्षधरहरूले पञ्चायत व्यवस्थालाई मरेको घोडा भन्ने गरे । त्यसलाई कुनै चाबुक नहान्ने नीति लिएका भए पनि २०४६ सालको स्वतस्फूर्त जनआन्दोलनले तीस वर्षदेखि एकछत्र शासन गर्दै आएको पञ्चायत व्यवस्थालाई ढाल्यो । मुलुकमा पहिलो पटक जनभावना, इतिहास, धर्म–संस्कृति र परम्परालाई आत्मसात् गरेको मौलिक संविधान बन्यो । नवगठित प्रतिनिधि सभामा नेपाली कांग्रेसको बहुमत भए पनि आफूलाई अग्रगामी क्रान्तिकारी दावी गरेका बाममोर्चाको उल्लेख्य प्रतिनिधित्व थियो । जननिर्वाचित सरकारलाई घुँडा टेकाउने प्रपञ्चले कर्मचारी उरालिएका थिए । त्यस्तो विषम स्थितिमा पनि प्रतिनिधिसभा सुसञ्चालन हुन सक्यो । लामो समय संसद सचिवालयमा काम गर्नु भएका राधेश्याम भट्टराईले परिवर्तित परिस्थितिलाई सहजै व्यवस्थापन गर्नु भएको थियो । २०३३ सालमा भुवनेश्वरी मन्दिरमा एकै ठाउँमा देखेका मूर्धन्य व्यक्तित्वद्वय कृष्णप्रसाद भट्टराई र राधेश्याम भट्टराईको उपस्थितिले संसदीय गरिमा बढेको मलाई लाग्छ । अहिले उहाँहरूको महाप्रस्थान भइसकेको छ ।
लामो समय अब्बल दर्जाको राष्ट्रसेवा गर्नुभएका राधेश्याम भट्टराई खोटाङनिवासी पिता पण्डित देवीप्रसाद भट्टराई र माता वृन्दावनलक्ष्मी भट्टराईका कोखबाट २००२ साल असार १९ गते रावाबेंसी–३, लामीडाँडामा जन्मिनु भएको थियो । उहाँले नेपालीमा एम.ए. र संस्कृतमा आचार्य गर्नु भएको थियो । उहाँ लामो समय राष्ट्रिय अभिलेखालय र संसद सचिवालयमा कार्यरत रहनु भयो । राष्ट्रिय सभाको सचिवबाट (विशिष्ट श्रेणी) २०६२ सालमा उहाँ सेवानिवृत्त हुनुभयो ।
निजामती सेवामा प्रवेश गर्नुअघि उहाँको ‘स्वदेशमै जाऊँ’ गीत पूर्णिमा पत्रिकामा प्रकाशित भयो । उहाँले निजामती सेवा र साहित्य साधनालाई सँगसँगै हाँक्नुभएको थियो । उहाँको पहिलो कृति हलेसी तीर्थकाव्य, २०४१ सालमा प्रकाशित भयो । दश वर्षको अन्तरालमा साठी थुँगा (मुक्तकसंग्रह) २०५१ मा प्रकाशित भएको देखिन्छ । त्यसै गरी ‘मेरो देश ः मेरो सपना’ (कवितासंग्रह २०५७ साल) र नयाँ पसल (कवितासंग्रह २०६६) प्रकाशन भए । प्रकाशनाधीन कृतिहरूमा “आफ्नै अनुभूति ः आफ्नै कल्पना” (गद्यकविता सँगालो), नालापानी (खण्डकाव्य), दमौली (खण्डकाव्य), लठ्ठी–घडी (निबन्धसंग्रह), “तीर्थस्थल ः बद्रीकेदार” (निबन्धसंग्रह) र नेपालका तीर्थस्थल (तीर्थ–परिचय) छन् । त्यसका अतिरिक्त उहाँद्वारा सम्पादितमा संसद (समाचार, विचार–त्रैमासिक), खोटाङ (मुखपत्र), नयाँ कदम (मुखपत्र) आदि छन् ।
राधेश्याम भट्टराईका सृजनाका हरेक पानाहरूमा धार्मिक, राष्ट्रिय र स्वाधीन मानिसका मूल्यहरू उच्च कोटीका छन्, मौलिक छन् । साहित्य, संस्कृति र अध्यात्म मानिसभित्र पाइने विशेष चेतनाको पुञ्ज रहेको उहाँका रचनामा प्रमुख रूपले मुखरित भएका छन् । झन्डै चालिस वर्षअघि तपोभूमि एवं आध्यात्मिक धाम हलेसी तीर्थयात्रा खण्डकाव्य (इतिवृत्ति) प्रकाशित भएको छ । कविले प्रारम्भको चौथो श्लोकमा नेपाललाई यसरी चिनाउन खोज्नु भएको छ : –
देवता घुम्ने एकान्त शान्त यो देवभूमि हो,
महर्षि आई तपस्या गर्ने यो तपोभूमि हो
सिद्धिका निम्ति साधना केन्द्र, प्रेरणाकेन्द्र यो
मुमुक्षुलाई गन्तव्य पुग्ने हो मोक्ष केन्द्र हो ।
मानिसको पहिचान भावना र वचनबाट प्रकट हुन्छ । असल मानिसको पहिचान राष्ट्रको श्रीवृद्धि र समाज कल्याणका लागि हुन्छ । राधेश्याम भट्टराईले समाजको मौजुदा अवस्थालाई निर्भयताका साथ शिष्ट, सभ्य, सुसंस्कृत तथा सौम्य तवरका साथ जसरी उद्घाटित गर्नु भएको छ, त्यसले उहाँको विशिष्टताको उचाइ मापन गरेको छ । यो उचाइले समाज र राष्ट्रलाई सदैव मार्ग निर्देशित गर्छ भन्ने लाग्छ । हाम्रा पूर्वजहरू जसरी राष्ट्रिय भावनामा स्थित थिए, त्यसरी नै नयाँ पुस्तालाई पनि सबल र स्वाभिमानी बन्न उत्प्रेरित गर्न कविता रच्नु भएको पाइन्छ । त्यसै गरी उहाँले साहित्यमार्फत राष्ट्रको सम्मान गर्न जनसाधारणलाई वाचाल गराउने सन्देश प्रवाह गर्नु भएको उल्लेख गर्नु अतिशयोक्ति नहोला । पराक्रमी, बुद्धिमानी र ओजस्वी ज्ञान–विज्ञानले हामीहरू दक्ष र सम्पन्न नभएसम्म हाम्रो समाज सभ्य र सुसंस्कृत बन्न सक्तैन भन्ने सन्देशलाई विद्वान् राधेश्याम भट्टराईले लेखनीमार्फत व्यक्त गर्नु भएको छ । यी भावनाहरू नियाल्दा वैदिक सभ्यता र बौद्ध सम्प्रदायको समन्वयात्मक धार्मिक भावनालाई उहाँले प्राथमिकता दिनु भयो भन्ने लाग्छ ।
उहाँले हलेसी धामलाई सनातन हिन्दु र बौद्ध धर्मावलम्बीहरूको अतिपावन तीर्थस्थल भएको देखाउनु भएको छ । यिनका धर्म र दर्शनबारे विशद चर्चा पनि गर्नुभएको छ । जगद्गुरु शंकराचार्य र बुद्धकै अवतारजस्तै मानिने गुरु पद्मसम्भवको पावन तपोभूमिको रूपमा हलेसी र यसको सेरोफेरोलाई जोड्नु भएको छ । बुद्ध जन्मेको देश नेपालमा प्राचीनकालदेखि नै बौद्ध धर्म, दर्शन र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान हुने गरेको प्रसङ्ग रोचक ढङ्गगले उहाँले प्रस्तुत गर्नु भएको छ ।
हलेसी महादेवस्थानको महात्म्य र महिमा बहुतै सरस र सरल ढङ्गले रचिएको हलेसी तीर्थकाव्य पढ्दा अध्यात्म र दैवी शक्ति बोधगम्य हुने मान्यता स्थापित गरेको लाग्छ । मैले पहिले नसुनेका सन्दर्भहरू यस काव्यमा पढ्ने अवसर पाएँ, कविवरप्रति अनुगृहीत छु ।
उहाँको काव्यिक ध्यान समाज र राष्ट्रप्रति सदैव आकृष्ट रह्यो । नेपाली नागरिक आफ्नै देशमा विस्थापित हुनुपरेको कारुणिक व्यथाले उहाँलाई पीडा दियो । निजामती सेवामा कार्यरत रहनु हुँदा हिंसा र आतङ्कका पीडादायी व्यथालाई संयमित ढङ्गले राख्नु भएको महसुस गर्न सकिन्छ । आफ्नो निजामती सेवाकालको उत्तरार्धमा रचित “बुद्ध पाखा लागेपछि” मुलुकमा फैलिएको आतङ्कको जरा छिचोल्न केन्द्रित रहेको छ ।
जागरुक, क्रियाशील, आध्यात्मिक राष्ट्रसेवकको बौद्धिक सृजनाभित्र राष्ट्रको छाती चिरिएको, मुटु फुट्न आँटेको दारुण अवस्थाप्रतिको संवेदनशीलता प्रकट भएको छ । कविको चिन्ता छ – यहाँ मानवता हराएको छ । यसको अन्तर्य गहन छ, त्रासदीपूर्ण स्थितिको कहर छ । त्यसैलाई कविको चिन्तनले मानवता हराएको भन्ने देखिन्छ । कत्रो विराट् चिन्तन ! मेरो मन छोएको यो कविताले आतङ्कबाट उत्पीडित हजारौं पीडामा मलमपट्टी लगाउने कोसिस गरेको छ । मैले २०३३ सालमा भुवनेश्वरी मन्दिरमा भेटेका सरल व्यक्तिभित्र मुलुकप्रतिको चासो र चिन्ता कवितामा पढ्न पाउँदा कृतकृत्य भएको छु ।
जनता नै राष्ट्रियता हो भन्ने विचारबाट हुर्के–बढेको मजस्तालाई उहाँका कविता पढ्दा आनन्द लाग्यो । सात सालको जनक्रान्तिले “आम जनताको गौरव र समर्पण नै राष्ट्रियता” मानेको थियो । समाजको संस्कृति, समुन्नति र समृद्धि राष्ट्रियताको प्रमुख कारक शक्ति उजागर गर्न उद्यत राधेश्याम भट्टराईका कवितामा राष्ट्रियता देशवासीको मिहिनेतले रोपिएको हुन्छ; राष्ट्रियता जनसाधारणको पसिनामा हुर्केको मानिएको छ । अगाडि लेखिएको छ – “जाली–फटाहाको धाक र रबाफमा होइन किसानको पसिनामा राष्ट्रियता बगेको हुन्छ, शहर–बजारमा होइन गाउँका कुना–काप्चामा राष्ट्रियता अडेको हुन्छ । देशको माटो र मुटु छामेर हेर राष्ट्रियता त्यहाँ बढेको हुन्छ ।” उहाँको विश्वास जनभावनामा देखिन्छ, यसैलाई राष्ट्रियताको आत्मा भन्न खोज्नु भएको होला । निजामती सेवामा प्रवेश गरेको वर्ष रचित यो कविताले उहाँको राष्ट्रसेवा जनभावनाको कदर – सम्मानमा केन्द्रित रहेको भन्ने देखिन्छ । उहाँका रचनाहरू खँदिला, रसिला, भरिला र सन्देशमूलक रहेका छन् ।
उहाँ निष्ठावान्, कर्तव्यपरायण, सबैको कुरा सुन्ने–बुझ्ने र विधिसम्मत काम गर्ने काविल कर्मचारी रहनुभयो । निर्मल, कञ्चन र जाज्वल्यमान छविका साथ उहाँ निजामती सेवाबाट २०६२ सालमा सेवा निवृत्त हुनुभयो । ऊर्जावान् व्यक्तित्वका धनी राधेश्याम भट्टराई २०७९ असोज ५ गते यस धराधामबाट बिदा हुनुभयो ।