• ९ मंसिर २०८१, आइतबार

एक्काइसौँ शताब्दीको शिक्षा र शिक्षण

blog

भनिन्छ– शिक्षा भनेको ज्ञान, सिप, प्रतिभाको प्राप्ति हो । यो एक प्रकारको चेतना वा जागरणको विकास हो । जसले आफू, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्लाई चिन्ने र सोही अनुसार आफूलाई अनुकूलन गर्न सक्ने क्षमताको विकास गर्न सक्ने सम्भावनाहरूको खोजी गर्ने, हासिल गर्ने र त्यसको प्रयोगसमेत गर्न सक्ने बनाउनु हो । 

हरेक मानिसले कुनै न कुनै प्रकारको क्षमता लिएर आएको हुन्छ । जसलाई अन्तर्निहित वा जन्मजात गुण भनिन्छ । सही शिक्षाले हरेक मानिसमा भएको क्षमतालाई पहिचान गरी त्यसको विकास गराई उत्कृष्टताको तहसम्म पु¥याउनु पर्दछ । कुनै पनि ज्ञान तथा सिप कमजोर वा निचो हुँदैन । हरेक ज्ञान तथा सिपको कदर गरिन्छ । हरेक सिप समाजका लागि उपयोगी नै हुन्छ । 

अब प्रश्न उठ्न सक्छ कि कस्तो विषयवस्तु हुनु पर्दछ र त्यसलाई कसरी प्राप्त गरिन्छ ? विषयवस्तुको कुरा गर्दा बहुविषयक वा अन्तरविषयक र अनुसन्धानमुखी हुनु पर्दछ भनिन्छ । जसले समुदाय, समाज, स्थानीय, प्रान्तीय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकतासँंग जोड्न सक्नु पर्दछ । उच्च स्तरका वा बहुचातुर्य वा तीक्ष्ण तहको सिप, प्रविधि तथा आमसञ्चार र बहुसाक्षरतालाई समेट्नु पर्दछ । त्यसै गरी तथ्यपरक परीक्षण गर्न सकिने र पाठ्यपुस्तकपरक नभएर विषयगत, परियोजनामा आधारित र एकीकृत हुनु पर्दछ । ज्ञान खाली तथ्यहरूको स्मरण मात्र होइन वा खाली घोकन्ते मात्र होइन । यो त अनुसन्धान र प्रयोगबाट निर्माण भएको र ग्रहणयोग्य हुनु पर्दछ । व्यक्तिगत अनुभव, इच्छा, प्रतिभा, चाहना वा सोखसँग जोडिएको हुनु पर्दछ । समय सान्दर्भिक र सिकारुको आवश्यकता अनुरूप हुनु पर्दछ । मानवतासंग सम्बन्धित वास्तविक समस्या र सवालहरूलाई सम्बोधन गर्ने हुनु पर्दछ । सिकारुमा विषयवस्तु ग्रहण गर्ने उत्सुकता पैदा गर्ने खालको हुनु पर्दछ । विद्यालयको परिवेशमा मात्र होइन, विद्यालयबाहिर पनि ग्रहण गर्न सकिने बनाउनु पर्दछ । प्राज्ञिक ज्ञान, समालोचनात्मक सोच, सामाजिक सिपका अतिरिक्त आमसञ्चार प्रयोग, सहकार्य, रचनात्मक तथा विद्युतीय उपकरणबाट सिक्न सकिने ज्ञान, सिप, प्रतिभा, अभिवृत्ति र विशेष गुणको प्राप्ति गर्न सकिने हुनु पर्दछ ।

नेपालको सन्दर्भमा अन्य विषयका अतिरिक्त यहाँका कृषि र सिँचाइ, जडीबुटी, खानी, जलस्रोत, बिजुली तथा खानेपानीको प्रवर्धन तथा प्रयोग, अद्वितीय वनस्पति, पशुपन्छी, पर्यटनका विभिन्न पक्षको जानकारी र पूर्वाधार निर्माणका साथै अनुसन्धान, औद्योगीकरण र उत्पादन, त्यसको प्रयोग र पैठारी आदि विषयलाई समेट्नु पर्दछ । त्यसै गरी नेपालका मौलिकतामा आधारित परम्परागत सिपको खोजी, उजागर र आधुनिकीकरण गरेर स्वदेश तथा विश्व बजारसँग जोड्न सक्ने विषयवस्तु समेट्न सके प्रशस्त रोजगारी सिर्जना हुने र देशको अर्थतन्त्र नै कायापलट हुनजाने छ । अहिलेको सबैभन्दा सोचनीय विषय भनेको देशप्रतिको माया, अधिकार र कर्तव्यको ज्ञान गर्ने नागरिक र सामाजिक शिक्षाको आवश्यकता छ । जसले विदेश पलायन होइन, स्वदेशमै सम्भावनाको खोजी गर्ने र देशलाई समृद्ध पार्ने सोचको विकास गराउने हुनु पर्दछ ।  

उपर्युक्त पाठ्यक्रम वा पाठ्यसामग्री ग्रहण गर्ने पद्धति भनेको शिक्षण हो, जसले सिकारुलाई आवश्यक पर्ने विषयवस्तु सरल तरिकाले सिकारुको लयमा हस्तान्तरण गर्दछ । शिक्षाले सिकारुले जन्मजात प्राप्त गरेको क्षमताको अनुकूलन हुने गरी विषयवस्तु छान्न सक्षम बनाउनु र त्यसलाई हासिल गराउनु पर्दछ । आफ्नो जीवनमा प्रयोग गर्न सक्ने बनाउनु पर्दछ, जसले उसलाई एक सदस्यका रूपमा आफ्नो परिवार, समुदाय, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा समायोजन गर्न सक्ने र तत् क्षेत्रका लागि उपयोगी पनि हुन सक्ने बनाउन सकोस् । विश्वको एक सदस्यका रूपमा योगदान गर्न सक्ने उत्कृष्टता प्राप्त गराओस् अर्थात् उसको जन्मजात क्षमताको सर्वाङ्गीण विकास गराओस् ।

हिजोको कुरा गर्दा शिक्षाले बालबालिकामा शारीरिक, मानसिक र सामाजिक गुणको विकास गराउनु हुन्थ्यो । बौद्धिक छलफल, तर्कशास्त्र, लेखनकला सिप, अध्यात्मशास्त्र, खगोलशास्त्र, शिल्पशास्त्र, आयुर्वेद, सङ्गीत, ललितकला, साहित्य सङ्गीत, चित्र, मूर्ति, वास्तु र सभ्य भाषाको ज्ञान हासिल गराई एक किसिमको शैक्षिक जागरण गराइन्थ्यो । सत्य, निष्ठा, आदर्श, सौहार्दता, सहिष्णुता र नैतिकता मानिसमा नभई नहुने गुणको विकास गराइन्थ्यो ।

प्रविधिले च्याप्दै गएको आजको युगमा शिक्षाको कुरा गर्दा विश्व यति साँघुरिँदै गएको छ कि एक स्थानमा आविष्कार भएका कुरा निमेषभरमै संसारमा पुग्न सक्दछन् । त्यसकारण आजको मानिसले घर, परिवार, समुदाय, समाज तथा राष्ट्रमा मात्र होइन, विश्वमा नै समायोजित हुन सक्नु पर्दछ । त्यसकारण शिक्षा र शिक्षणमा पनि विश्वमा आएको शैक्षिक आविष्कार, प्रवृत्ति र प्रविधिलाई एकाकार गराउनु नै पर्दछ । 

विषयवस्तुहरू असान्दर्भिक हुँदै जान सक्छन् तर सिपहरू स्थानान्तरण गर्न सकिने हुन्छन् । त्यसकारण सिकारुमा विश्वव्यापी सोचाइ सिपको विकास गराउनु पर्दछ । संसारका समस्या समाधान गर्न सक्ने सिपको विकास गराउनु पर्दछ । बहुविषयक सिपको विकास गराउनु पर्दछ, जसमा नागरिक चेतनाको ज्ञान, जटिलतम समस्याहरूको सहकार्यात्मक समाधान, विश्लेषणात्मक सोचाइ र नवीनताको प्राप्ति, समालोचनात्मक सोचाइ, सृजनात्मकता र सिर्जनाको विकास गराउनु पर्दछ । शैक्षिक प्रणालीले सिकारुलाई आफ्नो जीवनयात्रा तय गर्न सक्ने बनाउनु पर्दछ ता कि उसले प्राप्त गरेको ज्ञान तथा सिपको परिस्थिति अनुसार स्थानान्तरण गर्दै अगाडि बढ्न मद्दत गरोस् । कसरी सिक्ने र सिकाउने कुरा गर्दा सिकाइलाई अत्यन्त वैयक्तिक बनाउनु पर्दछ, किनकि हरेक सिकारुका फरक फरक क्षमता हुन्छन् र सिक्ने दर पनि फरक फरक हुन्छ । उद्देश्य र विषयवस्तु एकै भए पनि प्रत्येक सिकारुलाई फरक फरक तरिकाले उनीहरूको आवश्यकता र क्षमता अनुसार सिकेको वातावरण, समयानुकूल र सान्दर्भिक पृष्ठपोषण तथा अतिरिक्त पुनर्बलको व्यवस्था गर्नु पर्दछ ता कि सिकाइ उपलब्धि सबैले हासिल गर्न सकून् । सिकाइका ढाँचाहरू यस्ता हुनु पर्दछ कि सिकारुले आआफ्नो अद्वितीय खुबी अनुसार स्वनिर्देशित तरिकाले सिक्न सकोस् ।

शिक्षकलाई उन्नत नबनाएसम्म सिकारुमा जीवनपर्यन्त ज्ञान, सिप, प्रतिभा र अभिवृत्तिको विकास सम्भव छैन । शिक्षकको शिक्षण सिपको स्तरोन्नति गराउनका लागि उसलाई व्रmमशः शिक्षण सिपको ढाँचाको रचनाकारमा परिणत गर्नु पर्दछ । समयानुकूल नूतन पद्धतिले भरिपूर्ण बनाउनु पर्दछ । प्रविधिको विकाससँगै शिक्षण यन्त्रहरूको पनि विकास भएका छन् । ती शिक्षणयन्त्रसँग परिचित र प्रयोग गरी शिक्षणलाई प्रभावकारी बनाउँदै लैजान सक्ने बनाउनु पर्दछ । शिक्षकका लागि अत्यावश्यक आर्थिक रूपले सम्पन्न तथा भौतिक रूपले भरिपूर्ण र सामाजिक रूपले प्रतिष्ठित बनाउन सक्नु पर्दछ । शिक्षकलाई उच्च दक्षतापूर्ण बनाउनु पर्दछ । समुदाय, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्मा शिक्षक उच्च सम्मानयोग्य हुनु पर्दछ । 

शिक्षण संस्थाहरूले सिकाइका लागि आवश्यक तथ्याङ्क, स्रोत सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध गराउन सक्नु पर्दछ । जसले प्रमाणमा आधारित शिक्षा दिन सकियोस् । शिक्षणलाई उच्च बनाउन मूल्याङ्कनका साधन पनि आधुनिकीकरण गर्नु आवश्यक छ । परम्परागत मूल्याङ्कन पद्धतिलाई पुनस्र्थापित गर्नु पर्दछ । अङ्कमा गरिने ग्रेडिङ पद्धतिले सिकारुमा निराशा पैदा गरेको पाइन्छ । स्तरीकृत परीक्षाको स्थानमा विद्यार्थीले नै काम गरेर गरिने मूल्याङ्कन प्रणालीको विकास गर्न सकिन्छ । सिकारु स्वयम्ले छानेका वा रुचि भएका विषयमा परियोजना निर्माण, रिपोर्ट लेखन, लेख तथा पुस्तक समीक्षा, कार्यसम्पादन, प्रयोग, सिकारुका अनुभव प्रस्तुतीकरण, सिपहरूको पोर्टफोलियो जसमा उनीहरूको नेतृत्व सिप, लेखन सिप, प्रयोग सिपमा प्रवीणता आदि अभिलेखीकरण गरिएको हुन्छ । यस्ता खालका मूल्याङ्कनका नवीनतम साधन उपयोग गरेर योग्यता परीक्षण गर्नु पर्दछ । 

मूल्याङ्कनलाई पनि प्रविधियुक्त बनाउनु पर्दछ । खास गरी मूल्याङ्कनका लागि बनेका मेसिनयुक्त सफ्टवेयर प्रयोग गर्न सकिन्छ । 

वास्तवमा शिक्षाले एक्काइसौँ शताब्दीका लागि आवश्यक सञ्चार प्रविधि, सहकार्य, सहयोग, समन्वय, समालोचना, रचनात्मकता, रचना र कम्प्युटरको प्रयोग गरी व्यवस्थित गर्न सक्ने सिपको विकास गराउन सक्नु पर्दछ ।

 

Author

प्राडा शोभाखर कँडेल