• २१ पुस २०८१, आइतबार

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख

blog

कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

काठमाडौँ, मङ्सिर ९ गते। सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ। 

कम्बोडियाको राजधानी नोमपेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान् बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गर्नुभयो। 

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडका रूपमा प्रस्तुत गर्नुभयो। 

“शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ,” उहाँले भन्नुभयो। जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याउनुभयो।

सभामुख घिमिरेले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्नेमा जोड दिनुभयो। समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उहाँले विश्वसामु प्रस्तुत गर्नुभयो।

सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै सबै राष्ट्रलाई सहकार्य र समझदारीबाट अघि बढ्न सभामुख घिमिरेले आह्वान गर्नुभयो। “शान्ति उपहार होइनस् यो एउटा लक्ष्य हो,” उहाँले भन्नुभयो, “शान्तिको प्रवर्द्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ।” रासस