नवराज श्रेष्ठ
रामेछाप, पुस २१ गते । रामेछाप जिल्लामा रहेका विकासे अड्डाको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका विकासे अड्डाको विकास बजेट खर्चको अवस्था न्यून देखिएको हो ।
विकासे अड्डाको कार्य प्रगतिलाई हेर्दा यस आवमा पनि विकास बजेट विगतका वर्षमा जस्तै फ्रिज हुने पो हो कि भन्ने अवस्था रहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले हालसम्म १० प्रतिशत मात्र वित्तीय प्रगति गरेको छ । यो कार्यालयले चालु आवमा २८ करोड रुपियाँ बजेटको योजना सम्पन्न गर्नुपर्नेमा हालसम्म १० प्रतिशत अर्थात् दुई करोड ८० लाख रुपियाँ बजेट खर्च भएको कार्यालयका इन्जिनियर शिवराम महर्जनले बताउनुभयो ।
यो कार्यालयमार्फत १५ महिनामा काम सक्ने गरी २०७८ सालमै जिल्लाका विभिन्न स्थानमा काम सुरु भएका १९ वटा स्वास्थ्य चौकी भवन अलपत्र अवस्थामा छन् । नौ महिनासम्म काम रोकिएको स्वास्थ्य चौकी भवन निर्माणको काम बल्ल निर्माण कम्पनीले सुरु गरेको इन्जिनियर महर्जनले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ कार्यालयले यो अवधिसम्म १४ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले यो वर्ष २१ करोड ७० लाख रुपियाँ बजेटको काम गर्नुपर्नेमा हालसम्म १४ प्रतिशत वित्तीय र २४.०५ प्रतिशत भौतिक प्रगति गरेको कार्यालय प्रमुख अनिलप्रसाद केसरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयले १५६ वटा योजना सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म प्रदेशतर्फ २७ वटा र सङ्घतर्फ एउटा गरी २८ वटा सम्झौता भएका छन् । प्रदेशतर्फका ४० वटा र सङ्घतर्फका चार गरी ४४ वटा योजनामा सम्झौता हुन सकेको छैन ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले हालसम्म जम्मा दुई प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । यो वर्ष २० करोड रुपियाँ पुँजीगत र एक करोड १५ लाख रुपियाँ चालु बजेट रहेको यो कार्यालयले हालसम्म जम्मा दुई प्रतिशत वित्तीय र लगभग २० प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख गोविन्दप्रसाद भुर्तेलले बताउनुभयो । उहाँका अनुसार बहुवर्षीय, क्रमागत र मर्मतसहित सिँचाइतर्फ ८९ वटा र नदी नियन्त्रणतर्फ ५० योजना सम्पन्न हुनुपर्नेमा हालसम्म ५० वटा योजना सम्झौताको चरणमा गएकोमा ३० वटा योजना सम्झौता भएका छन् ।
त्यस्तै पूर्वाधार विकास कार्यालय रामेछापको अवस्था पनि उस्तै छ । यो कार्यालयले अहिलेसम्म चालुतर्फ ३५.०४ प्रगति गर्दा पुँजीगततर्फ जम्मा ४.५३ प्रतिशत मात्रै प्रगति भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार वज्राचार्यले बताउनुभयो । यो वर्ष ९१ वटा योजना सम्पन्न गर्नुपर्नेमा ५० लाख रुपियाँसम्मका ६२ वटा योजना उपभोक्ता समितिमार्फत बन्नुपर्नेमा अहिलेसम्म १२ वटा योजना मात्रै सम्झौता भएको र अन्यको स्टिमेटलगायतका काम भइरहेकाले आगामी माघ पहिलो हप्तासम्म सम्झौता सक्ने उहाँले बताउनुभयो । रामेछापलाई पनि कार्यक्षेत्र बनाएर काम गर्दै आएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीको प्रगति पनि दयनीय नै देखिएको छ । यो कार्यालयको रामेछाप जिल्लामा विनियोजित बजेट तथा योजनामा हालसम्म वित्तीय प्रगति चार प्रतिशत र भौतिक प्रगति १० प्रतिशत रहेको कार्यालयका इन्जिनियर तुलाकान्त चौधरीले बताउनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयको भने जिल्लाका अन्य विकासे कार्यालयको भन्दा प्रगति राम्रो देखिएको छ । हालसम्म नौ करोड ४३ लाख ७० हजार रुपियाँ बजेटमा २६.५२ प्रतिशत पुँजीगत र चालुतर्फ २५.५३ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख सुरेश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “रामेछापमा ५५ वटा योजना सम्पन्न हुनुपर्नेमा २५ वटा योजना सम्पन्न भइसकेका छन् । २० वटा योजनाको काम भइरहेको छ र १० वटा योजना प्रक्रियामा गएका छन् ।”