लीलाधर वली
घोराही, कात्तिक १७ गते । दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।
लमही नगरपालिकाले तिहारलगायतका चाडपर्वलाई लक्षित गरी शुक्रवार लमही बजारका पहलसमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा भेटिएका अखाद्य तथा म्याद गुज्रिएका सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
अनुगमनका क्रममा लमहीको कान्छीरोडमा रहेको डिके सप्लायर्समा एक बर्षअघि म्याद गुज्रेका समान फेला परेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याद गुज्रिएका सामग्रीलाई स्थानीय प्रशासन, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघका प्रतिनिधिको सहभागीतामा खाडल खनेर गाडिएको छ ।
उहाँका अनुसार लमही नगरपालिका –५ सुनखोलीमा रहेको जयशम्भो पाउरोटी उद्योगले एक दिन अगाडिको मिति राखेर पाउरोटी बिक्री गरेको पाइएको बताउनुभयो । प्रशासन प्रमुख थापाले भन्नुभयो, ‘बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्रीसँगै पाउरोटीमा एक दिनअघिको मिति राखेर उत्पादन प्याकिङ गरेको भेटिएको थियो । ती सामग्रीलाई नियन्त्रणमा लिएर नष्ट गरेका छौ ।’
त्यसैगरी उद्योगमा बाल श्रमिक राख्न नपाइने भए पनि दुई पसलमा बालश्रमिक समेत भेटिएकाले सञ्चालकलाई सचेत गराइएको र फेरि भेटिए कारवाही गर्ने चेतावनी अनुगमनका क्रममा दिइएको प्रशासन प्रमुख थापाले बताउनुभयो । म्याद गुज्रेको बिस्कुट, डोनट, पाउरोटीलगायतका सामग्री नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
अनुगमन टोलीले दर्ता नभएका पसलहरु नगरपालिकामा दर्ता गर्न, समयमा कर तिर्न, मानव स्वास्थ्यमा असर पर्नेखालका सामानहरु बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत बनाउनुका साथै म्याद नाघेको सामग्री बिक्री गर्ने डिके सप्लायर्स र जयशम्भो पाउरोटी उद्योगलाई नगद २०–२० हजार रुपियाँ जरिवाना गरिएको लमही नगरपालिकाले जनाएको छ ।