• १३ साउन २०८१, आइतबार

सप्तरीका किसानलाई धान भित्र्याउने चटारो

blog

महादेवा गाउँपालिका १ मा कृषि मजदुरहरु धान काट्दै । तस्विर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) कात्तिक १७ गते । दसैं सकेलगतै सप्तरीका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दीपावली आउनुपूर्व नै धान भित्र्याउन सक्यो भने तेस्रो बाली लगाउन खेत खाली हुने र उचित समयमा आलु तेलहन दलहन र अन्य तरकारी बाली लगाउन सकिने अग्निसाइर कृष्णासवरन ५ का कृषक शम्भु मेहताको भनाइ छ । 

“महदेवा वडा १ का भागवत यादवले ८ विघा क्षेत्रफलमा धानखेती गर्दै आएका छौं । जसमध्ये अहिले तीन बिघा कतरनी (पातलो चामल निस्कने धान) लगाएका छौं । यो धान अलि छिटै हुन्छ” उहाँले भन्नुभयो, “चाडबाडका कारण मजदुर समयमा आउनै मानेनन् । पर्व सकिएलगत्तै धानकटनी सुरु भएको छ ।” 

विगतका वर्षमा विभिन्न प्रकारका प्राकृतिक विपद् र मजदुर अभावले धान भित्र्याउन कठिन भए पनि यो वर्ष अहिलेसम्म त्यस्तो कुनै प्रकारको बेमौसमी वर्षा वा विपद् नआएको र मजदुर पनि पाएकाले अहिलेसम्म सहजरुपले धान भित्र्याउँदै गरेको सप्तरीका किसानहरुको भनाइ छ । 

कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा जिल्लाभरि ६६ हजार एक सय ५० हेक्टरमा एक लाख ९८ हजार चारसय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा ६६ हजार तीन सय ७० हेक्टर क्षेत्रफलमा एक लाख ९९ हजार एकसय १० मेट्रिक टन धान उत्पादन भएको देखिन्छ । 

आर्थिक वर्ष २०७९–८० मा ६४ हजार छसय हेक्टर क्षेत्रफलमा भएको धान खेतीबाट दु  लाख छ हजार सातसय २० मेट्रिक टन धान उत्पादन भएको छ । चालु आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र सप्तरीका निमित्त कार्यलय प्रमुख किसुनदेव राउतले बताउनुभयो । सप्तरीमा मात्र ७२ हजार हेक्टर खेती योग्य जमिनमध्ये अधिकांशमा धानखेती हुन्छ ।