• ११ वैशाख २०८१, मङ्गलबार

स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

blog

सर्लाहीको बरहथवा नगरपालिका जिल्लाकै पुरानो तथा प्रमुख व्यापारिक केन्द्र हो । साबिकका बरहथवा, मूर्तिया, श्रीपुर, लौकठ, सुन्दरपुर चोहर्वा (सुचु) र जानकीनगर गाउँ विकास समितिका पाँच वटा वडालाई समायोजन गरेर २०७२ सालमा बरहथवा नगरपालिका बनाइएको हो । पश्चिममा रौतहट जिल्ला, उत्तरमा बागमती नगरपालिका, दक्षिणमा बसबरिया गाउँपालिका र पूर्वमा हरिपुर नगरपालिकासँग सीमा जोडिएको यो नगरपालिकामा महतो, साह, चौधरी, ब्राह्मण, क्षेत्री, तामाङ, मगर, माझीलगायत मिश्रित जातजातिको बसोबास छ । जिल्लाका २० वटा स्थानीय तहमध्ये बरहथवामा सबैभन्दा धेरै १८ वडा रहेका छन् । मकै, धान, उखु र आलु उत्पादनका लागि नगरपालिकाले ख्याति कमाएको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा जिल्लाकै एक मात्र महिला नगर प्रमुखका रूपमा यस नगरपालिकामा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभएको छ । गोरखापत्रका सर्लाही समाचारदाता जनार्जन खत्रीले नगर प्रमुख कटुवालसँग नगरको कामकारबाही, विकास निर्माण र अन्य विषयमा गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ:

तपाईं निर्वाचित हुनुभएको डेढ वर्ष बित्यो, यो अवधिमा के के काम गर्नुभयो ?

दूरगामी विकासमा विशेष जोड दिएका छौँ । देखिने विकास निर्माणका काम मात्रै विकास होइन, मानवीय विकास पनि महत्त्वपूर्ण हुन्छ । हामीले त्यसैमा जोड दिएका छौँ । शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता दिइएको छ । शैक्षिक गुणस्तर उकास्न हामीले भर्खरै ५१ जना स्वयम्सेवक शिक्षक नियुक्त ग-यौँ । शिक्षकलाई एकै ठाउँमा राखिरहँदा शैक्षिक सुधार हुन नसकेको निष्कर्षसहित सम्पूर्ण विद्यालयका प्रधानाध्यापकलाई एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेका छौँ । बरहथवा कृषि प्रधान ठाउँ हो, यहाँ प्रशस्त उर्वर भूमि छ । कृषि विद्युतीकरणलाई पनि जोड दिएका छौँ । प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी कृषि सिँचाइमा हाम्रो ध्यान गएको छ । यहाँ गरिबले आधारभूत स्वास्थ्य सेवा नपाएको अवस्था छ । संविधानले नै ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवा यहीँबाट प्रवाह हुनु पर्छ भन्नेमा चिन्तित छौँ । भर्खरै दुई जना चिकित्सक पनि नियुक्त गरिसकेका छौँ र अब जतिसक्दो चाँडो नवनिर्मित अस्पताल हस्तान्तरण गरेर भरपर्दो स्वास्थ्य उपचार सेवा प्रवाह गर्छौं ।  

बागमती र लखन्देही नदीको कटानबाट बर्सेनि यस नगरपालिका प्रभावित भइरहेको हुन्छ । यसको रोकथामका लागि के गर्दै हुनुहुन्छ ?

यो नगरपालिका दुई नदी (बागमती र लखन्देही) को बिच धारमा पर्छ । यो वर्ष गएको साउनमा बागमती नदीले कटान गर्दा तत्काल अस्थायी बाँध बाँधेर जोखिममुक्त गर्ने काम ग-यौँ । दिगो हिसाबले तटबन्ध कस्न अहिले सर्भेको काम चलिरहेको छ । नगरपालिकाको बजेटले मात्रै स्थायी किसिमको संरचना निर्माण गर्न असम्भव देखिन्छ । त्यसैले नदी नियन्त्रणको काम गर्न तटबन्ध, नदी नियन्त्रण कार्यालयलगायत अन्य निकायसँग कुरा गरिरहेका छौँ । हिजोको तुलनामा जोखिममुक्त गराउने काम भएकै छ । हामी यहीँको प्राकृतिक स्रोतलाई समेत उपयोग गरी बागमती र लखन्देही नदीको अलाबा सोती सोतरा, एकादशी, बुढीबागमतीको पनि व्यवस्थापनमा लागिपरेका छौँ ।

बरहथवा बजार जिल्लाकै सबैभन्दा पुरानो बजार हो । बजारको विकासका लागि के काम हुँदै छ ? 

विशेष गरी गोरु बजारका रूपमा बरहथवा प्रख्यात छ । त्यसबाहेक यहाँ अन्य चौपाया र अन्नपात तथा कपडा बिक्री पनि धेरै हुने गरेको छ । दक्षिण पश्चिम भेगका आधा दर्जन पालिकाको बजार भएकाले यहाँ मानिसको चाप ज्यादा हुन्छ । हामीले बजारलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत केही दिनअघि मात्रै वर्षौंदेखि अलपत्र रहेको बसपार्क सञ्चालनमा ल्याएका छौँ । अब बिचबजारको सडकमै बस पार्किङ गर्नुपर्ने छैन । त्यसले बजार केही फराकिलो देखिएको छ । बजारलाई सफा तथा व्यवस्थित बनाउन अन्य संरचना निर्माण र उद्योग वाणिज्य सङ्घसहित उद्योगी, व्यापारी साथीहरूसँग हातेमालो गर्न हामी तयार छौँ । 

यो नगरपालिका मुसहर तथा अन्य दलित र गरिब परिवारको अत्यधिक बसोबास भएको पालिका हो । ती समुदायका लागि के गर्दै हुनुुहुन्छ ?

गरिब आवासका लागि यो वर्ष राष्ट्रिय योजना आयोगसँग समन्वय गरेर काम गर्न लागिरहेका छौँ । गरिब आवास निर्माणका लागि ठेक्का प्रव्रिmयामा जाने तयारी हुँदै छ ।  परिणाममुखी रोजगार कार्यक्रम पनि अगाडि सार्दै छौँ । किसानका लागि कृषि विद्युतीकरण, सिँचाइ गर्न मोटर, कृषि सडक निर्माण गर्ने कुरामा हाम्रो प्राथमिकता छ । अशक्त वृद्धवृद्धाका लागि वडाको सिफारिसमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने तयारी हुँदै छ । हामीले हरेक गतिविधि र विकास निर्माणका काममा सुशासन र पारदर्शीता अपनाई गरिब तथा किसानकै पक्षमा काम गरिरहेका छौँ । पालिकामा सेवा लिन आउने जो कोहीलाई सहज ढङ्गले सेवा प्रवाह गरेका छौँ । 

बरहथवामा खानेपानी योजना वर्षौंदेखि अलपत्र छ । आमनागरिकले शुद्ध खानेपानी पाउन सकेका छैनन् । अलपत्र र जीर्ण अवस्थामा रहेको खानेपानी आयोजना सञ्चालनका लागि तपाईंको योजना के छ ?

यहाँको खानेपानी योजना केही वर्ष सञ्चालन भएर बन्द भएको कुरामा म जानकार छु । यहाँका नागरिकले शुद्ध पिउने पानी नपाएकोमा हामी चिन्तित छौँ । बन्द अवस्थामा रहेको खानेपानी योजना सञ्चालन गर्ने हाम्रो योजना बनिसकेको छ । अधुरो अवस्थामा रहेको पाइप लाइनलाई विस्तार तथा जीर्ण अवस्थाको ओभरहेड ट्याङ्कीलाई मर्मत गरी जतिसक्दो चाँडो खानेपानी योजना सञ्चालन गर्छौं । यसअघिका जस्तो खानेपानी योजनाप्रति बेवास्ता गरेर बेवारिसे अवस्थामा छाड्ने छैनौँ । 

तपाईं जिल्लामै एक मात्रै महिला नगर प्रमुख हुनुहुन्छ । महिला भएकै कारण काम गर्ने सिलसिलामा के–कस्ता चुनौती झेल्नुभएको छ ?

सबैसँगको समन्वय र साझेदारीमा प्रभावकारी ढङ्गले स्थानीय सरकार सञ्चालन हुनु पर्छ भन्ने मेरो मान्यता हो । कुशल ढङ्गले परिवार चलाउने महिलाले भूमिका पाएको खण्डमा जनप्रतिनिधि हुँदा पनि उत्कृष्ट ढङ्गले काम गर्न सक्छन् भन्ने गरी काम गर्दै छु । महिलालाई मात्रै होइन, पुरुषलाई पनि चुनौती छ । पुरुष पालिका प्रमुख भएका कतिपय ठाउँमा अवरोध र विरोध भइरहेका छन् मैले त अहिलेसम्म सबैको साथ र सहयोगमा कुशलतापूर्वक काम गरिरहेको छु । सीमित स्रोत र साधन प्रमुख चुनौती हो । त्यसो भए पनि इमानदारीपूर्वक मलाई दिएको जिम्मेवारी निर्वाह गरिरहेको छु । कसैमाथि अन्याय हुने गरी र राज्यको स्रोत र साधन तथा बजेटको अनियमितता हुने ढङ्गले काम गर्दिनँ ।