• ९ मंसिर २०८१, आइतबार

२१ सयभन्दा बढीको लाइन काटियो, एक करोड २३ लाख बक्यौता उठ्यो

blog

विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेपछि विद्युत महसुल बुझाउनका लागि नेपालगञ्ज वितरण केन्द्रमा पालो पर्खदैं सेवाग्राहीहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १६ गते ।
लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ ।

गत आइतबारदेखि सञ्चालन गरिएको लाइन काट्ने अभियानअन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न ६ जिल्लाका दुई हजार १२७ जना सेवाग्राहीको विद्युत् लाइन काटिएको हो । साथै एक हजार २० जना सेवाग्राहीबाट एक करोड २३ लाखभन्दा बढी बक्यौता रकम असुली भएको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई.हरिप्रसाद पाण्डेले जानकारी दिुनभयो ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाहरुका १० विद्युत् वितरण केन्द्रहरुबाट आइतबारदेखि बुधबारसम्म गरी चार दिनको अवधिमा विद्युत् महसुल बापतको बाँकी बक्यौता रकम नतिर्ने दुई हजार १२७ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँले उक्त सङ्ख्याका सेवाग्राहीबाट दुई करोड दुई लाखभन्दा बढी रुपियाँ महसुल उठ्न बाँकी रहेको र चार दिनको अवधिमा एक हजार २० जना लाइन काटिएका सेवाग्राहीले आफ्नो बक्यौता रकम तिरेर पुनः लाइन जडान गरेको बताउनुभयो । पाण्डेका अनुसार एक हजार २० जना सेवाग्राहीबाट एक करोड २३ लाखभन्दा बढी रुपियाँ बक्यौता महसुल रकम सङ्कलन भएको छ ।

चार दिनमा नेपालगञ्ज वितरण केन्द्रबाट ६७ लाख ८७ हजार ७३४ रुपियाँ बक्यौता रहेका ५७६ जना, गुलरीया वितरण केन्द्रबाट १९ लाख ५४ हजार १२५ रुपियाँ बक्यौता रहेका २७६ जना, घोराही केन्द्रबाट २० लाख ५५ हजार ९२५ रुपियाँ बक्यौता रहेका २६४ जना, कोहलपुर केन्द्रबाट ४५ लाख ९१ हजार २१ रुपियाँ बक्यौता रहेका २९४ जना र राजापुर केन्द्रबाट चार लाख ८० हजार ७३२ रुपियाँ बक्यौता रहेका ८६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही वितरण केन्द्रबाट १५ लाख ४२ हजार ३४ रुपियाँ बक्यौता रहेका २५७ जना, तुलसीपुर केन्द्रबाट ११ लाख ३० हजार ४७१ रुपियाँ बक्यौता रहेका १२१ जना, प्युठान केन्द्रबाट चार लाख ३५ हजार ८७६ रुपियाँ बक्यौता रहेका १०७ जना, रुकुमपूर्व केन्द्रबाट चार लाख ३५ हजार ६८८ रुपियाँ बक्यौता रहेका ६४ जना र रोल्पा केन्द्रबाट आठ लाख १५ हजार ५७३ रुपियाँ बक्यौता रहेका ८२ जना सेवाग्राहीको लाइन पनि काटिएको छ ।

त्यसैगरी, नेपालगञ्ज वितरण केन्द्रबाट २०५ जनाले ३८ लाख २१ हजार ८५५ रुपियाँ, गुलरीयाबाट १२० जनाले १० लाख ६९ हजार २८८ रुपियाँ, घोराहीबाट १५० जनाले १७ लाख १७ हजार ५१६ रुपियाँ, कोहलपुरबाट १२७ जनाले २३ लाख ९३ हजार २९२ रुपियाँ, राजापुरबाट ५० जनाले तीन लाख ३७ हजार ५९० रुपियाँ, लमहीबाट १४५ जनाले १० लाख ३१ हजार ७६७ रुपियाँ, तुलसीपुरबाट ९० जनाले १२ लाख ६ हजार ६८१ रुपियाँ, प्युठानबाट ७३ जनाले तीन लाख १४ हजार ७६१ रुपियाँ, रुकुमपूर्वबाट १३ जनाले २६ हजार आठ सय रुपियाँ र रोल्पा वितरण केन्द्रबाट ४७ जनाले ४ लाख ४४ हजार ६५५ रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन गरेर आफ्नो लाइन पुनः जोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

बाँकी बक्यौता महशुल नतिरेका विद्यालय तथा स्वास्थ्य चौकीहरुका पनि लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

“विद्यालय र स्वास्थ्य चौकीहरुका पनि लाइन काटिएका छन्, स्वास्थ्य चौकीमा हुने खोप लगायतका अत्यावश्यक औषधिलाई आवश्यक पर्ने चिस्यानका लागि समस्या पर्ने देखिएमा सम्बन्धित पक्षसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छु ।” उहाँले भन्नुभयो, “बक्यौता रकम नतिर्ने जो सुकैको पनि लाइन काट्छौं, अब सरकारी कार्यालयहरुको पनि लाइन काट्न सुरु हुन्छ, मैले निर्देशन दिइसकेको छु ।”

नेपाल विद्युत प्राधिकरणले गत आइतबारदेखि ६० दिन पुग्दासम्म पनि विद्युत् महसुल नबुझाएका सेवाग्राहीहरुको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।