लीलाधर वली
घोराही, कात्तिक १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–११ जीतपुरमा सहिद परिवारसँग भेटघाट गर्नुहुँदै मन्त्री शर्माले परिवर्तनका लागि योगदान गर्ने सहिदसँगै घाइते, अपाङ्गता परिवारलाई सम्मान गर्ने बताउनुभएको हो ।
सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरेर राज्यले सहिदको सम्मान गरेको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘ राष्ट्रको हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुको नाम राजपत्रमा प्रकाशित गरेर सम्मान भएको छ । यसक्रममा कतिपय व्यक्तिको नाम छुटेको छ, त्यस्ता सहिदको नामलाई आगामी दिनमा समावेश गरिने छ ।’’
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राख्नुभयो । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिनुहुँदै उहाँले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिने बताउनुभयो ।
भेटमा सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।
साथै मन्त्री शर्माले देशको परिवर्तनका लागि संघर्षका क्रममा घाइते तथा अपाङ्गत भएका व्यक्तिहरुका लागि राज्यले प्रदान गर्ने सेवा सुविधा अपुग भएको भन्दै यसलाई आगामी दिनमा बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहिद परिवारसँग भेटघाटका क्रममा मन्त्री शर्माले यस क्षेत्रको विकास निर्माणका लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भेटघाटका क्रममा सहिद परिवार, घाइते तथा अपाङ्गताहरुले आ–आफ्ना समस्याहरु मन्त्री शर्मासँग राख्नुभएको थियो ।
मन्त्री शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले सङ्घीय संसदमा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउने तयारी भइरहेको बताउनुहुँदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो विषयलाई छिटोभन्दा छिटो हलगरी नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिनुभयो ।
खानेपानीको पाइपलाइनको शिलन्यास
यसैबीच, मन्त्री शर्माले घोराही उपमहानगरपालिका–१६ सर्रामा खानेपानी पाइपलाइन विस्तारको शिलन्यास गर्नुभएको छ । सर्रा खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको सर्रा खानेपानी आयोजनाअन्तर्गत १५ सय घरधुरीलाई पानी पुर्याउने आयोजनाको बिहीबार मन्त्री शर्माले सेवारखोलामा शिलान्यास गर्नुभएको थियो । खानेपानी पाइपलाइन विस्तार योजनाको शिलान्यास गर्दै मन्त्री शर्माले जनतालाई घरमै सहज रुपमा सफा र स्वच्छ खानेपानी पुर्याउनका लागि आफ्नोतर्फबाट पनि सहयोग गर्ने बताउनुभएको थियो ।