स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), कात्तिक १६ गते । जनकपुर क्षेत्रका कलाकार प्रतिभा प्रदर्शनको अवसरबाट वञ्चित भएका छन् । कला क्षेत्रको दुरवस्थाका कारण प्रतिभावान् कलाकारलाई पनि यस क्षेत्रमा टिकिरहन मुस्किल भएको छ । कलाकारको वृत्तिविकास र आर्थिक सुरक्षाका लागि सरकारी निकायबाट ठोस कदम चाल्न नसक्दा यस क्षेत्रको गौरवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा पुस्तान्तरण पनि हुन नसकी लोप हुने अवस्थामा पुगेको छ ।
प्रदेश तथा स्थानीय तहबाट पनि यस क्षेत्रको सांस्कृतिक विकासका लागि ठोस कार्यक्रम र बजेट तय हुन सकेको देखिँदैन । नेपाल सांस्कृतिक महासङ्घ धनुषाका अध्यक्ष अनिलकुमार मिश्रले अवसर अभावमा कला क्षेत्रप्रति नवप्रतिभाको आकर्षण पटक्कै नरहेको, भएका कलाकार विस्थापित हुँदै गएको बताउनुभयो । उहाँले वरिष्ठ सर्जकका अनुभव तथा अभ्यासबाट नयाँ पुस्ताले लाभ लिन नसकेको बताउनुभयो । मिश्र भन्नुहुन्छ, “प्रदेशमा चलचित्र तथा लोकसंस्कृति बोर्ड छ तर यो संस्था स्थापना भएको तीन वर्षमा कलाकारको परिचयबाहेक कुनै ठोस काम गर्न सकेन ।”
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले अश्लील गीत/सङ्गीत र नृत्य प्रदर्शनको क्रम टुटाउन परम्परागत कला सिर्जनमा सबैको जोड हुनुपर्ने बताउनुहुन्छ । उहाँले सरकारले मौलिक विशिष्टताका आधारमा कला सिर्जना गर्ने अवसर कलाकारलाई उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । सरकारले अश्लील गीत÷सङ्गीत र नृत्य प्रदर्शनमा प्रतिबन्ध नै लगाउनुपर्नेमा जोड दिनुहुन्छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा रहेको रामानन्द युवा क्लबका महासचिव रोशन मिश्रले धार्मिक एवं आध्यात्मिक चेतनाबोध गराउने संस्कार गीत तथा लोकनृत्य प्रवर्धन नै कला क्षेत्रलाई जोगाउने उपाय भएको सुझाउनुहुन्छ ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले कलाकारको जीविकोपार्जन, प्रतिभा उन्नयन र कला क्षेत्रलाई परिष्कृत बनाउन प्रदेशस्तरीय प्रतियोगिता गराउने योजना रहेको बताउनुभयो । उहाँले प्रतियोगिताका लागि आवश्यक कार्य अगाडि बढाउनका लागि मधेश प्रज्ञा–प्रतिष्ठानलाई जिम्मेवारी दिएको पनि बताउनुभयो ।