काठमाडौं, कात्तिक १५ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको उल्लेख गर्नुहुँदै अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ ।
बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजश्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौँ । तर अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन । अर्थतन्त्रको दबाब हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठुलो कार्यभार हुन आएको छ ।’’
प्रधानमन्त्रीले थप्नुभयो, ‘‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ । मैले नै त्यसको अध्यक्षता गर्छु । उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टिम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौँ ।’’
‘‘हाम्रो बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग गरेको छैन । परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न सक्दैन’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ । लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ । तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ । बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ । यसपटक हामी बदल्छौँ ।’’
प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्तिहरू नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’’