• २५ असार २०८१, मङ्गलबार

महासचिव गुटेरेसको प्रतीक्षामा पर्यटकीय नगरी पोखरा

blog

गण्डकी,  कात्तिक१३ गते ।  आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । 

पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अति विशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।

नेपालको औपचारिक भ्रमण रहनुभएका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा परेकाले पोखरेलीहरू गौरवान्वित बनेका छन् । महासचिव गुटेरेस दिउँसो आउनुहुने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुुभयो ।

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख आचार्यले आफूहरू उहाँको भव्य स्वागतको प्रतीक्षामा रहेको बताउनुभयो ।

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनुहुनेछ । उहाँ सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उहाँलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नुुहुनेछ ।

यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्च पदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी गराउनुुभयो ।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवर्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । आफूहरू महासचिवको स्वागतको पर्खाइमा रहेको  जनाउँदै उहाँले पोखरासहित यस क्षेत्रको मौलिकता झल्कने किसिमका झाँकीहरू प्रस्तुत गर्न लागिएको बताउनुभयो । 

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

महासचिव गुटेरेस मङ्गलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुने बताइएको  छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उहाँको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्ने तयारी गरिएको जनाउँदै उहाँले आफूहरू स्वागतका लागि आतुर भएको बताउनुभयो । रासस