• २५ असार २०८१, मङ्गलबार

इजरायलमा तीनजना नेपाली विद्यार्थीको शव पहिचान

blog

काठमाडौँ, कात्तिक १२ गते । दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । 

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको छ । 

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी विज्ञप्तिमा उल्लेख छ ।  

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहनुभएको छ । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ । रासस