• २० असोज २०८१, आइतबार

युवालाई धर्मग्रन्थ कुरान कण्ठस्थ

blog

१८ वर्षमै ७९१ पृष्ठको कुरान कण्ठस्थ पार्ने भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँ । तस्विर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १२ गते । दुई चार पेज कण्ठ पारेको सुनिएकै हो, तर यहाँ एक १८ वर्षीय युवकले मुस्लिमको धर्म ग्रन्थ कुरान नै कण्ठ पार्नुभएको छ । भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँले ७९१ पृष्ठको कुरान कण्ठ पार्नुभएको हो । 

२०६२ साल साउन २४ गते जन्मनुभएका मियाँले गाउँकै मदरसामा पढेर कलिलो उमेरमा कुरान कण्ठस्थ पार्नुभएको छ । कक्षा ६ सम्म नेपाली अध्ययन गर्नुभएका मियाँले औपचारिक अध्यन छाडेर मुस्लिम धर्मग्रन्थ कुरान पढ्नुभएको हो । 

अन्य मुस्लिम समुदायले कुरान कण्ठ पारे पनि १८ वर्ष उमेरमा कण्ठ पार्ने जिल्लाको एक मात्र युवा रहनुभएको सो समुदायका व्यक्तिको भनाइ छ । औपचारिक नेपाली र मदरसा पढ्न अप्ठ्यारो भएपछि नेपाली पढ्न छाडेर मदरसामा पढेको बताउँदै मियाँले दुई वर्षमा ३० प्याराको कुरान कण्ठस्थ पारेको बताउनुभयो । 

कुरानको जुनै पेजको सोधे पनि जस्ताको तस्तै भन्ने बताउँदै मियाँले घर परिवारको सहयोगले कण्ठस्थ पार्न सहज भएको बताउनुभयो । गाउँको मदरसामा पढेर बयरघारीमा कुरान पढ्नुभएका मियाँले अब कारी, आलिम र मौलाना पढ्ने चाहना रहेको र पढ्ने बताउनुभयो । 

सुरु सुरुमा त दैनिक दुई घण्टा हिंडेर कुरान पढ्न बयरघारी पुगेको स्मरण गर्दै मियाँले पछि बयरघारीमै बसेर अध्ययन गरेको बताउनुभयो । मुस्लिम धर्मग्रन्थ कुरान पढ्छु भनेर छोरा लागेपछि सक्दो सहयोग गरेको बताउँदै बाबु बासिरद्दिन मियाँले सानै उमेरमा कुरान कण्ठ पारेर सबैको इज्जत राखेको बताउनुभयो । अब पढ्न चाहेको कारी, आलिम र मौलाना पढ्न सहयोग गर्ने र आवश्यक ठाउँमा पढ्न पठाउने बसिरद्दिनको भनाइ छ ।