सिराज खान
नेपालगन्ज, कात्तिक ८ गते । बाँकेका बुधबार दिउँसो दुर्गादेविको मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको जनाउँदै त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी तैनाथ गरिएको बताउनुभयो ।
उहाँले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका स्थानहरुमा विशेष फोकस गरेर बढी सतर्कता अपनाइएको जनाउँदै ती स्थानमा गत १२ घण्टा अगाडिबाटै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको बताउनुभयो ।
मुर्ती विसर्जनलाई भव्य तरिकाले सम्पन्न गर्न समयसीमा पनि निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । समयसीमाका बारेमा सम्बन्धित सबै पक्षलाई यसअघिनै जानकारी गराइसकिएको छ ।
सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको जनाइएको छ । सो अनुसार भारतबाट आउने भारतीय आईडी भएका नागरिकलाई आवश्यक कामबाहेक बुधबार एकदिनका लागि आउन पनि कडाइ गरिएको छ ।
जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ भने नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको छ ।
दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको सुरक्षा समिति बाँकेले जनाएको छ ।
मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ः०० बजे अघि नै पूजन कार्य समापन गरेर विसर्जनस्थल तर्फ प्रस्थान गर्न पूजा समितिहरुसँग आग्रह गरिएको छ । साँझ ५ बजे अघि नै मूर्ति विसर्जन कार्य सम्पन्न गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।