• २५ असार २०८१, मङ्गलबार

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

blog

काठमाडौं, कात्तिक ८ गते । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउनुभएको छ ।

चीनको होङजाउमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रच्नुभयो । पलेशाले एसियाली पारा खेलकुदमा जितेको काँस्य पदक उनको मात्र नभई नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै [चौथो] संस्करणदेखि मात्र समावेश गरिएको हो ।

चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको थियो। सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुक्नुभयो। सेमिफाइनलमा पराजित भएपनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि काँस्य पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाउनुभयो

पलेशाको स्पर्धामा नेपालसहित चीन, काजाकिस्तान र इरान गरी ४ राष्ट्र ५ खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोस्राे काँस्य पदक भिडन्त चीनका लिटिङ र युजी लिबीच भएको थियो । त्यसमा युजी लिले ८–१ अङ्कले बाजी मार्नुभयो। युजी लि तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक– २०२२ को काँस्य पदक भिडन्तमा पलेशालाई पराजित गर्नुभएको थियो। फाइनलमा इरानकी रोजा इब्राहिमीले काजाकिस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउदै स्वर्ण चुम्नुभयो।

केहि महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको साङ्घाइ जानुभएको थियो। उहाँ त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव पुग्नुभएको हो ।

पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी पदक जित्नुभएको थियो। २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी काँस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रच्नुभएको थियो।

पदक विजेता पलेशाले पदक जितेकोमा खुसी लागे पनि अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने प्रतिक्रिया दिँदै ऐतिहासिक दिनमा जितेको ऐतिहासिक पदक राष्ट्रका लागि समर्पण गर्न चाहेको बताउनुभयो ।

‘पदक जितेकोमा खुसी छु । तर योभन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ । यहाँ (साङ्घाई) मा पनि आएको धेरै भाको छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अलि सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो ।’ २ महिनाअघि मात्र साङ्घाइ आएकी पलेशाले भन्नुभयो– ‘खेल हो । कहिलेकाहीँ यस्तै हुन्छ । ऐतिहासिक विजयादशमीको दिन पदक जित्दा एकदमै खुसी छु । मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु ।’

टिम प्रशिक्षक लामाले सँगै तयारी प्रशिक्षण गराउन पाएको भए पलेशाले अझ राम्रो गर्न सक्ने बताउनुभयो ।

‘सँगै तयारी प्रशिक्षण गराउन पाएको भए अझ राम्रो नतिजा आउँथ्यो होला । म पनि अलि अगाडि आएर पलेशालाई साङ्घाइमै प्रशिक्षण दिन पाएको भए योभन्दा राम्रो हुन्थ्यो कि भन्ने हो । अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक लामाले भन्नुभयो– ‘पलेशा पदकको आशा गरिएकी खेलाडी पनि हुन् । आफ्नो चेलीले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकोमा ज्यादै खुसी छु । अब सम्बन्धित निकायले पेरिस पारा ओलम्पिकको तयारीका लागि समयमा नै ध्यान दिनुपर्छ । त्यसो हुने हो भने पारा ओलम्पिकमा पनि पदक टाडाको विषय हो जस्तो लाग्दैन ।’

एसियाली पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् । तेक्वान्दोबाट सहभागी पलेशा एक्ली खेलाडी हुन् । अक्टोबर ८ तारिख हाङझावमै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक १ रजत र १ काँस्य पदक जितेको थियो । एसियाड इतिहासमै पहिलो पटक नेपालका लागि एरिका गुरुङले करातेमा रजत तथा महिला कबड्डी टिमले काँस्य पदक जितेको थियो ।

जुडो:

जुडोमा नेपालबाट एक्लो सहभागी खेलाडी मनोज भट्टको पराजयसँगै नेपालको चुनौती समाप्त भएको छ । एक्सएसएल जिम्न्याजिममा भएको मनोज पुरुष ७३ केजीमुनि जे वानको राउन्ड अफ १६ र रिपेचेजमा पराजित भयसँगै नेपालको चुनौती समाप्त भएको हो ।

एक्सएल जिम्न्याजियममा भएको राउन्ड अफ १६ मा इन्डोनेसियाका अहनाफ रफ्लीले मनोजलाई पराजित गर्नुभयो। रिपेचेजमा इरानका महदी बोरक्लौले मनोजलाई हराउनुभयो । दुवै प्रतिद्वन्द्वीसँग मनोज इप्पोनका आधारमा पराजित भए ।

ब्याडमिन्टन:

ब्याडमिन्टनमा नेपाल पुरुष डबल्स एसयु ५ समूह ‘बी’ मा पराजित भएको छ । मलेसियाका हाउ लिक चेह र फरिज मोहम्मद विन अनुरको जोडीले नेपालका प्रकाश अधिकारी र हेमबहादुर गुरुङको जोडीलाई २१–६ र २१–८ को सोझो सेटमा पराजित गर्यो ।

टेबल टेनिस:

टेबल टेनिसमा नेपालकी लाली तामाङ र विवेक राई पराजित हुनुभएको छ । दुवै ३–० को सोझो सेटमा पराजित भए ।

जिएसपी जिम्न्याजियममा भएको महिला सिंगल्स क्लास ४ को समूह ‘डि’ मा लाली विरुद्धको प्रतिस्पर्धामा थाइल्यान्डकी वासाना श्रृगमले तीनै सेट समान ११–१ ले आफ्नो पक्षमा पार्नुभयो ।

पुरुष सिंगल्स क्लास ७ को समूह ‘डि’ मा हङकङका लाम हिङ चोइले विवेकलाई ११–६, ११–७ र ११–७ ले हराउनुभयो ।