• २० असोज २०८१, आइतबार

कैदीबन्दीलाई प्रजिअले लगाइदिनुभयो टीका जमरा

blog

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैदीबन्दीलाई टीका जमरा लगाउनुहुँदै । तस्विर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) कात्तिक ७ गते । कारागार प्रशासन कार्यालय सप्तरीमा रहेका चारसय ३८ कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी किरण थापाको हातबाट मङ्गलवार टीका तथा जमरा ग्रहण गर्नुभएको छ । 

विभिन्न अपराधमा संलग्न वा आरोपको कारण परिवारबाट टाढिएका कैदीहरूको आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन दुर्गामाताले कृपा गरून् भन्दै प्रजिअ थापाले आशीर्वाद दिनुभयो । विजयादशमीमा मानवीय संवेदनालाई उजागर गरी आफूभित्रका विकारलाई मानिसले फालेर समाजमा हुने अपराधको ठाउँमा प्रेम र सद्भाव कायम गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी थापाले कैदीबन्दीलाई टीका जमरा अर्पण गर्दै दशैको शुभकामना दिनुभएको सप्तरी कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मातहतको कारागार शाखाको रुपमा रहेको, गृह मन्त्रालय कारागार व्यवस्थापन विभागअन्तर्गत २०५० साउन १ गतेदेखि सप्तरी जिल्ला कारागार सञ्चालनमा आएको हो ।

यसरी ३० वर्षको इतिहासमा पहिलो पटक दसैंमा जिल्लाको प्रमुखबाट कैदीबन्दीले टीका थाप्न पाउँदा आफूहरू अत्यन्तै खुशी भएको बताएका छन् । कर्तव्य ज्यान मुद्दाका आरोपी जितिन सरदारले टीका थाप्न पाउँदा खुशी लागेको बताउनुभयो । 

दसैंको अन्तिम दिन विजयादशमीको हिन्दु क्यालेन्डरअनुसार टीकाको साइत मानिन्छ । आजको दिनदेखि कोजाग्रत पूर्णिमासम्म हर्षोल्लासको पर्व दसैंमा मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद लिने चलन रहँदैआएको छ । नेपाली समाजको विविध संस्कृतिलाई अँगालेर मजबुत राष्ट्रिय एकताको सन्देश जाने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।