• १ जेठ २०८२, बिहिबार

दसैंका लागि गबरुको लोकल कुखुरा

blog

धम्बोझी चोकमा विक्रीका लागि राखिएको लोकल कुखुरा देखाउँदै गबरु चौधरी । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक ७ गते । नेपालगञ्ज उपमहानगरपालिका ६, फुल्टेक्राका गबरु चौधरी एकाबिहानै लोकल कुखुराहरु राखेको टोकरी बोकेर नेपालगञ्जको धम्बोझी चोकमा पुग्नुहुन्छ । विगत २०–२१ वर्षदेखिको यो उहाँको दैनिकी हो । 

धम्बोझी चोकमा रहेका ५–६ वटा मासु पसल अगाडि चौधरीजस्तै अन्य किसान पनि लोकल कुखुरा राखेका टोकरीहरु लिएर लाइनसँग बसेका हुन्छन् । लोकल कुखुरा खरिद गर्न बिहानैदेखि बेलुकासम्म ग्राहकको भीड लागेको हुन्छ ।

अन्य दिनभन्दा विशेष गरेर चाडवाडको समयमा कुखुरा बढी बिक्री हुने बताउनुहुन्छ गबरु चौधरी । अरु दिनमा भन्दा दसैं तिहारजस्ता चाडवाडमा बढी कुखुरा विक्री हुन्छ, दसैंको बेलामा विशेष गरेर पूजापाठ गर्नेहरुले लोकल कुखुराका भाले बढी खोजी हुन्छ, चौधरीले भन्नुभयो, ‘अरु दिनमा १५–१६ वटा कुखुरा विक्री हुन्थ्यो, तर अहिले दसैंको समयमा २५–३० वटासम्म कुखुरा विक्री भइरहेको छ ।’

चौधरीले विगत २०–२१ वर्षदेखि यही व्यवसाय गर्दैआएको बताउनुभयो । आफ्नो चार जनाको परिवारलाई यही पेशाबाट आउने आम्दानीले गुजारा चलिरहेको उहाँले बताउनुभयो । ‘काम गर्ने हो भने यहीँ आफ्नै ठाउँमा चाहिए जति पैसा कमाउन सकिन्छ, लाखौं ऋण गरेर विदेश गयो, काम पनि भनेजस्तो पाउदैन, धेरै नेपाली अलपत्र परेर दुःख पाएका छन् । आफ्नै ठाउँमा थोरै लगानीबाट पनि पैसा कमाउन सकिन्छ’ चौधरीले भन्नुभयो ।

‘आफ्नो ठाउँमा काम गर्न लाज मान्ने विदेश गएर दुःख पाउने हामी नेपालीको बानी छ, त्यही भएर धेरै जनाले विदेशमा दुःख पाएका छन् । म त एकदम सन्तुष्ट छु यो कामबाट’ उहाँले भन्नुभयो ।

चौधरीले नेपालगञ्जको यो ठाउँमा पहिला पहिला दाङ तथा बर्दियाका किसानहरुले लोकल कुखुरा बेच्न आउनेगरेको बताउनुभयो । उहाँले आफूले बाँकेका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर कुखुरा खरिद गरी ल्याएर नेपालगञ्जमा विक्री गर्दैआएको बताउनुभयो । 

‘पहिला पहिला दाङ र बर्दियाका किसानहरुले यहाँ लोकल कुखुरा ल्याएर बेच्ने गर्नुहुन्थ्यो, तर अहिले बाँकेका किसानहरुले आफै लोकल कुखुराहरु उत्पादन गर्न थाल्नुभयो । अहिले बाहिरको कुखुरा विस्थापित भएको छ । बाँकेमै उत्पादित लोकल कुखुराहरु विक्री भइरहेको छ । जिल्लाका किसानले चाहिए जति लोकल कुखुरा उत्पादन गर्दा पैसा पनि जिल्लाभित्रैका किसानले पाउनुभएको छ’ उहाँले भन्नुभयो ।

चौधरीले लोकल कुखुराको भाले ७ सय ५० देखि ८ सयसम्म र पोथी ६ सयदेखि ७ सयसम्ममा प्रतिकिलो विक्री गर्दैआएको बताउनुभयो । डेढ किलोदेखि दुई किलोसम्मका कुखुराको तौल रहेको उहाँले बताउनुभयो ।