• २० असोज २०८१, आइतबार

सातदोबाटोमा प्रारम्भ भएको देवी भागवत नवाह सम्पन्न

blog

नवदुर्गा पूजा तथा नौ लाख बत्ती प्रज्वलन । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, कात्तिक ७ गते । बडा दसैँ २०८० को अवसरमा दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटोमा प्रारम्भ भएको देवीभागवत नवाह सम्पन्न भएको छ । 

चरिकोट तथा जिल्लावासीमा शान्ति सुस्वास्थ्य तथा पितृ उद्धारसमेतका लागि चरीकोटवासीहरुले आयोजना गरिएको यो देवीभागवत नवाह सहजका साथ सम्पन्न भएको नवदुर्गा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार घटस्थापनादेखि नवाहसँगै नवदुर्गाको पनि मूर्ति स्थापना गरी पूजाआजा गरिएको हो । भक्तजनले कथा श्रवण गर्नुका साथै भव्य रूपमा नवदुर्गाको पूजा अर्चना गरे । नौ दिनसम्मै बिहान र साँझ भएको आरतीमा श्रद्धालु भक्तजनहरू पीरमर्का त्यागेर सामेल भई मनोरञ्जन लिनुका साथै आशीर्वाद लिएका छन् । 

प्रत्येक दिन देवीभागवत वाचन तथा नवदुर्गाको पूजासँगै कथामा वर्णित राक्षसहरूलाई मारी असत्यमाथि सत्यको विजय भएको प्रहसन पनि प्रदर्शन गरिएको पूजा व्यवस्थापन समितिका केसीले जानकारी दिनुभयो ।  

राक्षसहरूको अत्याचार समाप्त पार्न देवी प्रकट भएको देखाई राक्षस वधसमेत प्रत्यक्ष प्रदर्शन गरिएकाले कथाको सार स्पष्ट रूपमा ग्रहण हुन सकेको भक्तजनले बताएका छन् । 

नौ लाख बत्ती प्रज्वलन गरिएको थियो । सात वटा बाटो जोडिएको सातदोबाटोमा सधैँ आउने र यातायातबाट आउने भक्तजनको भिड लागेको थियो ।  स्थापना गरिएको नवदुर्गाको मूर्ति कोजाग्रत पूर्णिमापछि तामाकोसीमा लगी विसर्जन गरिने पनि उहाँले बताउनुभयो ।