• २० असोज २०८१, आइतबार

कम्फु र जङ्गे निशानलाई पहिलो पटक नेपाली सेनाको सलामी

blog

पाँचथरको याङवरक गाउँपालिका ४ कालिका मन्दिर परिसरमा निशान देखाइएको निशान र निशान लाइ सलामी दिंदै नेपाली सेना । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, कात्तिक ६ गते । पाँचथरको याङवरक गाउँपालिका – ४ को कालिका मन्दिर परिषरमा प्रत्येक वर्ष महानवमीका दिन प्रदर्शन गरिने कम्फु र जङ्गे निशानलाई पहिलो पटक नेपाली सेनाले सलामी अर्पण गरेको छ ।

कम्फु र जङ्गे निशान पृथ्वीनारायण शाहको नेपाल राज्य एकीकरण अभियानका क्रममा लिम्बुवान राज्यका सेनासँग लडाई गर्दा जितहार नभएपछि सम्झौता गरेर शाहवंशीय राजा पृथ्वीनारायणले लिम्बूवानलाई उपहार दिएका थिए ।

विसं. १८३१ देखि नै निशान देखाउन थालिए पनि २४९ वर्षपछि पहिलो पटक नेपाली सेनाको रणशेर गणले सम्मानसहित सलामी अर्पण गरेको हो ।

सोहि समयदेखि महानवमीको दिन तत्कालीन युद्वमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार र औजारसहित निशान देखाउने गरिएको छ । जसलाई निशान जात्रा पनि भनिन्छ ।

इतिहास जीवन्त राख्ने उद्देश्यले यो वर्षदेखि ती दुवै निशानलाई नेपाली सेनाले सलामी अर्पण गर्ने परम्परा सुरुवात गर्न लागेको रणशेर गणका गणपति दिलीप राउतले जानकारी दिनुभयो ।

सलामीमा जिल्लाबाट निर्वाचित सांसद, पूर्वमन्त्री, जनप्रतिनिधि, कार्यालय प्रमुखसँगै विभिन्न क्षेत्रका अगुवाको उपस्थिति थियो ।

याङवरक गाँउपालिकाको वडा कार्यालयको संयोजनमा आयोजित यस निशान जात्राका अवसरमा काली मन्दिरमा हजारौं सङ्ख्यामा बोका र राँगाको बलि पनि दिइन्छ । निशानको पूजा र दर्शन गर्दा मनाकांक्षा पूरा हुने स्थानीयको विश्वास छ । 

यो वर्ष निशान जात्रा हेर्न महानवमीका दिन पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, भारतको सिक्किम र दार्जिलिङबाट पनि दर्शनार्थी आएको वडाध्यक्ष सबिन माबोले बताउनुभयो ।