• २० असोज २०८१, आइतबार

मौलिक इतिहास बोकेको नेपालगन्जमा रामलीला जारी

blog

ऐतिहासिक रामलीला मञ्चन गर्दै कलाकारहरु । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ६ गते । विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनक बेग्लै बनाउने गरेको छ । 

विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चनले रामायण बुझ्न सहज हुनेगरेको आयोजकले जनाएको छ । रामलीलाका कारण रातिको समयमा नेपालगन्जमा मानिसको चहलपहल हुँदैआएको छ । 

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष विगतका वर्षमा जस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ । भारतको वृन्दावनबाट २५ जना कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।”

भगवान् श्रीरामको भूमिकामा रहनुभएका भारत वृन्दावनका कलाकार राधारमण शर्माले नेपालगञ्जको रामलिला ऐतिहासिक र विशेष महत्वको रहेको बताउनुभयो । 

शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन् । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलाकारले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्नेछन् ।

नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढसय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले बताउनुभयो ।

नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी भइरहेका छन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको आयोजकको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार, स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गर्नुभएको थियो । 

रामलीला सञ्चालक समितिका प्रवक्ता आदित्य गुप्ताले सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको जनाउँदै यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीय समुदायमा लोकप्रिय रहेको बताउनुभयो । 

उहाँले भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि यहाँ हरेक वर्ष आउनेगरेको बताउनुभयो । रामलीला मञ्चनका लागि हरेक वर्ष १० देखि १५ लाख रुपियाँसम्म खर्च हुनेगरेको समितिले जनाएको छ । समितिका अनुसार बर्सेनी लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइने गरिएकाले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना तयार भइरहेको बताउनुभयो । 

कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्यले यहाँको ऐतिहासिक रामलीला सामाजिक सद्भाव र नेपाल–भारत मैत्रीको प्रतीकसमेत बनेको बताउनुभयो ।