• ८ मंसिर २०८१, शनिबार

बेलबारी गोल्डकपको उपाधी विग्रेड ब्वाइजलाई

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, कात्तिक ५ गते । मोरङको बेलबारीमा जारी छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी विग्रेड ब्वाइज काठमाडौंले जितेको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइव्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो । टाइव्रेकरमा बिर्तामोड युनाइटेड झापालाई  ५–३ गोलले हराउँदै विग्रेड ब्वाइज काठमाडौंले प्रतियोगिताको उपाधी जितेको हो । 

निर्धारित ८० मिनेटको खेलमा विर्तामोडले २ मिनेटमा नै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । आशिष चापागाईको पासलाई सदुपयोग गर्दै विर्तामोड युनाइटेडका अभिषेक गुरुङले गोल गर्नुभयो । 

खेलको २१ औं मिनेटमा बिग्रेड ब्वाइज खेलमा फर्केको थियो । विग्रेडका कप्तान समेत रहनुभएका दिपेश घलेले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । 

दुबै टिमले पटक पटक गोल गर्ने राम्रा अवसर बनाए पनि गोललाई जालिको दिशा दिन सकेनन् । अन्ततः खेल सिंधै टाइव्रेकरमा पुगेको हो । टाइव्रेकरमा बिग्रेड ब्वाइजका रोशन राना, एन्जल महर्जन, दिपेश घले, अनिष तामाङ र जय गुरुङले गोल गर्नुभयो । 

विर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बूले गोल गर्नुभयो । विर्तामोडका निशान तामाङको प्रहार विग्रेड ब्वाइजका गोल रक्षक विशाल सुनारले बचाएपछि विर्तामोडको उपाधी यात्रा समाप्त भएको थियो । आजको खेलमा अभिशेक गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो । 

 जितसँगै विग्रेड ब्वाइजले ८ लाख नगदसहित गोल्ड कप जितेको छ । उपविजेता बनेको विर्तामोड युनाइटेडले ५ लाख नगदसहित ट्रफि प्राप्त गरेको छ । विजेता तथा उपविजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रफि तथा पुरस्कार प्रदान गर्नुभयो । 

बेलबारी–११ को  लक्ष्मी खेल मैदानमा भएको प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको विर्तामोड युनाइटेड उत्कृष्ठ खेल खेलेर पनि उपाधीबिहीन भयो ।