• ९ मंसिर २०८१, आइतबार

दुई कृतिलाई विमल गुरुङ कृति पुरस्कार २०७९ दिइने

blog

निशा राई

धरान, कात्तिक ५ गते । कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङ्सा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । 

कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शनिवार पत्रकार सम्मेलन गर्दै पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले विमल कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीभाषी लेखकबाट  १ सय १ कृति प्राप्त भएका थिए । 

तीमध्ये पहिलो चरणमा उत्कृष्ट २१ ओटा कृति छनौट गरिएको र सोहीमध्येबाट उक्त दुई कृतिलाई पुरस्कारका लागि चयन गरिएको पुस्तकालयका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।  

पुरस्कृत कृतिकार कवि चन्द्र गुरुङ गोरखाका हुनुहुन्छ । मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपालीभाषी गोर्खालीहरुले भोग्दैआएको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएकाले पुस्तकालयले छनाेट गरेको जनाएको छ ।

उक्त पुरस्कार कात्तिक १९ गते हुने ३२ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औँ जन्मजयन्तीको अवसरमा सम्मानपत्रसहित नगद राशी, ताम्रपत्र र दोसल्लाले सम्मानित गरिने पुस्तकालयका अध्यक्ष तथा संस्थापक गुरुङले बताउनुभयो ।