सिराज खान
नेपालगन्ज, कात्तिक ५ गते । नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको शाखाबाट दसैका लागि १८ करोड ९६ लाख नयाँ नोट सर्वसाधारण नागरिकलाई वितरण गरिएको छ । गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो ।
राष्ट्र बैंक नेपालगन्जका प्निर्देशक गिरिजाप्रसाद कोइरालाले दसैंका लागि सर्वसाधारण नागरिकले १८ करोड ९६ लाख रुपियाँ साटेर लगेको जानकारी दिनुभयो। बैंकले विगतभन्दा यस पटक फरक तरिकाले नोट साट्ने व्यवस्था मिलाएको थियो । सर्वसाधारणको सहजताका लागि बैंकले क्युआर कोडमार्फत पनि नयाँ नोट साट्ने व्यवस्था मिलाएको थियो ।
सर्वसाधारणले क्युआर कोडमार्फत मात्रै ५ करोड ६ लाख नयाँ नोट साटेर लगेको निर्देशक कोइरालाले बताउनुभयो । राष्ट्र बैंकले सर्वसाधारणलाई एकसय, पचास, बीस, दश र पाँच रुपियाँका नोटगरी कुल १८ हजार ५ सय रुपियाँको दरले नयाँ नोट उपलब्ध गराएको छ ।
राष्ट्र बैंक नेपालगन्जबाट मात्रै यस पटक करिव १० हजार जना सर्वसाधारण नागरिकले सेवा लिएको बताएको छ । यसमध्ये क्युआर कोडमार्फत २ हजार २९३ जनाले सेवा लिएका छन् ।