• ९ मंसिर २०८१, आइतबार

संवेदनशील सूचना र समाचार

blog

विश्व समाज सूचना र समाचारको प्रभावमा छ । सूचना नै शक्तिका रूपमा देखिएको छ । महत्वपूर्ण सूचना आमनागरिकमा समाचारका रूपमा सम्पादन भई प्रस्तुत भएका छन् । सूचनालाई राम्रो सम्पादन गरी समाचारका रूपमा प्रस्तुत हुँदा नागरिकले सुसूचित र जागरुक हुने अवसर प्राप्त गर्छन् । सूचनालाई प्रभावकारी समाचारका रूपमा प्रकाशन र प्रसारण गरी समसामयिक र वास्तविकता प्रवाह गर्नु सञ्चार माध्यमको दायित्व हो ।

सामान्यतया सूचना र समाचार निरन्तर प्रकाशन र प्रसारण हुने, आकस्मिक रूपमा प्रस्तुत हुने, खोजमूलक र ज्ञानबर्धक एवं संवेदनशील सूचनाका आधारमा हेर्न सकिन्छ । सूचना र समाचारबाट नागरिक भूमिका र दायित्वमा बोध गराउने, जीवन जिउने कला सिकाउने, जोखिमबाट सतर्कता अपनाउने र खोज र सिर्जनाका विषयलाई मानवीय मूल्य र मान्यतामा संयोजन गर्ने भन्ने कुरामा जोड दिइएको पाइन्छ । समाजको एकता र भाइचाराको सम्बन्ध बढाउने र विग्रहको अवस्था आउन नदिन सचेत हुने र नयाँपन तथा आविष्कारमा प्रोत्साहित गर्न सूचना समाचारका रूपमा आएको हुन्छ । केही सूचना तथ्यहीन समाचारका रूपमा प्रस्तुत हँदा मानिसमा आवेग, उद्दण्डता र अराजकताको पीडाबाट समाज द्वन्द्वमा परिरहेको छ भने सकारात्मक प्रभावबाट प्रशस्त लाभ पनि लिएको पाइन्छ । 

सिद्धान्ततः संवेदनशील भन्नेबित्तिकै संवेदन भई सजकता अपनाउने विषयलाई हेर्नुपर्ने हुन्छ । नागरिकलाई सत्यतथ्यमा आधारित सूचना र समाचारले पार्ने सकारात्मक र नकारात्मक प्रभावमध्ये नकारात्मक परिस्थिति सिर्जना हुने विषयमा संवेदनशीलता जोडिएको हुन्छ । सूचनाको सम्पादनबाट बन्ने समाचारले मानिसमा आउन सक्ने आक्रोश र विद्रोहलाई आकलन गरिएन भने समाज द्वन्द्वको चपेटामा पर्न सक्छ । जातीय सदेभाव, गोपनीयताको विषय, आवेगपूर्ण समाचारपछि आउने प्रतिव्रिmया र प्रभावका बारेमा आकलन गर्नुपर्ने विषयहरू नै संवेदनशीलताभित्र पर्दछन् । भूगोल, सामाजिक बनोट, धार्मिक विषय र वर्ग समुदायविशेषका आधारमा संवेदनशीलता आकलन गरी सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । सूचनाबाट बन्ने समाचारको नकारात्मक पक्षलाई न्यून गरी सकारात्मकता कसरी बढाउने र नागरिकलाई बढी लाभान्वित गराउने विषयमा ध्यान दिनै पर्छ ।

विश्व परिवेशमा संवेदनशील सूचना र समाचारको चर्चा गर्दा विभिन्न धार्मिक बिषयको समाचारका प्रस्तुति र कार्टुनहरूको सन्दर्भको कुरा बढी आएको पाइन्छ । जातीय र वर्गीय विषय पनि उत्तिकै चर्चामा रहेका छन् । समाचारको प्रभावले मानव हिंसाका धेरै घटना भएका छन् । सूचना र समाचारको सत्यतथ्य निक्र्योल नगरी समाचार प्रस्तुत गर्दा भएका घटनाले भएको मानवीय क्षतिबाट पत्रकारिता पेसाप्रतिको प्रतिष्ठामा विचलन भएको छ । सत्यतथ्यमा आधारित भए पनि संवेदनशील समाचार प्रस्तुतिमा निकै सचेत हुनुपर्ने हुन्छ । विश्वका विगतका घटना, प्रविधिको पहुँच र विकाससँगै मानिसमा आएको परिवर्तन, सूचना र समाचारको सहजता र फैलावट, मानिसहरूबिचको सन्निकटताको सहज अवस्थाले आजको समाज लाभसँगै चुनौतीको सँघारमा छ । 

विश्व बन्धुत्व र भाइचाराको मार्गचित्र खल्बलिन सक्ने चिन्ता बढ्दै गएको छ । मानवीय स्वार्थको सङ्घर्षमा आत्मतुष्टि र पीडाहरू झुम्मिएका छन् । सन्तुलित र सौहार्दताको वातावरण धमिलो हुँदै गएको आभास हुन थालेको छ । समाजिक सञ्जाल सुविधाको दुरुपयोगले समाज आक्रान्त छ । साम्प्रदायिक सोच र कुण्ठाले शासकीय व्यवस्थाको व्यवस्थापनमा कठिनाइ देखिन थालेका छन् । सूचना र समाचारको संवेदनशीलता नबुझ्दा मानवीय र भौतिक क्षतिका घटना भइरहेका छन् । कसरी समाजलाई एकताबद्ध गर्ने भन्ने विषयमा सामाजिक सञ्जाल बाधक हुने हो कि भन्ने चिन्ता बढ्दै गएको छ ।

संवेदनशील विषयमा कसरी सूचना र समाचार प्रस्तुत गर्ने भन्ने कुरा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको १६ बुँदे आचार संहितामा प्रस्ट उल्लेख छ । मानव संवेदनाका विषयमा विशेष ध्यान दिन आचारसंहिताले जोड दिएको छ । नेपालको संविधानको भाग ३ मा नागरिकको मौलिक हकमध्ये विचार अभिव्यक्तिको स्वतन्त्रताको हक, सञ्चारको हक र सूचनाको हकको प्रस्ट उल्लेख गरेको छ । विचार अभिव्यक्तिको स्वतन्त्रताको हकको उपयोग गर्दा सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता, सङ्घीय एकाइ वा जात, जाति, धर्म, सम्प्रदायबिचको सुसम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अपहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन सक्ने संवैधानिक सर्त पनि छ । 

विचार र अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवर्धन र उपयोगका लागि पत्रकारिताका सिद्धान्त र अन्तर्राष्ट्रिय मूल्य मान्यतासहित उच्च पेसागत मर्यादामा रही राष्ट्रप्रति उत्तरदायी र समाजको सर्वोत्तम हितका लागि सञ्चार माध्यम र पत्रकारले पालना गर्नुपर्ने आचरण र व्यवहारमा ध्यान दिन आवश्यक देखिन्छ । सूचानाको हकसम्बन्धी ऐनले पनि संवेदनशील सूचनालाई प्रस्ट पारेको छ । राष्ट्रिय एकता, सार्वजनिक सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पर्ने, अपराध अनुसन्धानको असर पर्ने विषय, व्यक्तिका गोपनीयताको हकको संरक्षणमा खलल हुने, बैङ्किङ र व्यापारिक एवं बौद्धिक सूचना र राज्यले गोप्य राख्नुपर्ने सूचनाहरूको संवेदनशील सूचनामा पर्दछन् । राष्ट्रिय सुरक्षाका विषयका सूचनाहरू पनि संवेदनशील सूचनामा पर्दछन् । यी सूचनाको संरक्षण गर्ने दायित्व नागरिकको पनि हो ।

नेपालमा पत्रकार आचारसंहिताले बालमैत्री, अपाङमैत्री, महिलाप्रति उत्तरदायी र ज्येष्ठ नागरिकमैत्री विषयमा जोड दिएको छ । समाचार प्रस्तुत गर्दा सत्य र तथ्य, स्वच्छ र निष्पक्ष, मानवीय मूल्यमान्यताको सम्मान, उत्तरदायित्व र जबाफदेहितामा जोड दिइएको छ । सञ्चार माध्यमले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचना सम्प्रेषण, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख, बीभत्स दृश्य र तस्बिर प्रकाशन वा गलत प्रयोग, अनुचित दबाब वा सम्बन्ध, न्याय निरुपणमा प्रभाव, समाजिक मर्यादा र आत्मसम्मानमा प्रतिकूल असर, जनस्वास्थ्यका सवालसमेतमा विशेष सचेत हुनुपर्ने उल्लेख छ । 

विद्युतीय सञ्चार माध्यमको उपयोग गर्दा प्रतिलिपि अधिकारको सम्मान, कानुनी आधार, व्यावसायिकताको प्रवर्धन, जबाफदेही हुने, संवेदनशील विषयमा होसियारी र सतर्कता अपनाउने, पेसागत मूल्यमान्यतामा जोड, सदाचारिता र व्यावसायिकताबिच संयोजन गरी तटस्थ, निष्पक्ष र निर्भीक रूपमा समाचार प्रस्तुत हुनु पर्छ । सञ्चार माध्यमले नागरिकप्रतिको उत्तरदायित्व र जिम्मेवारीमा विशेष ध्यान दिनुपर्ने संवेदनशील विषयलाई प्रस्तुत गर्दा त्यसले समाजमा पार्ने प्रभावको पूर्वानुमान गरी समाचार प्रकाशन वा प्रसारण गर्नु पर्छ । पत्रकारले सूचनाको सत्यतथ्यमा आधारित भई समाजमा पर्न सक्ने प्रभावको आकलन गरी पत्रकारिताको भूमिका र प्रभावकारितामा जोड दिनु पर्छ ।

हाल सूचना र समाचारको द्रुत प्रवाह समाजिक सञ्जाल भएकाले व्यक्ति नै सूचना र समाचारको सृजनाकार र प्रस्तुतकर्ता भएको तुरुन्त प्रतिव्रिmया लिन पाइने हुँदा अन्य सञ्चार माध्यमको प्रभाव साँघुरिएको हो कि भन्ने आभास भएको छ । सूचना र समाचारको परिभाषामा नै प्रश्नचिह्न आएको छ । सूचना सङ्कलक, समाचारको सृजनाकार, पाठक, दर्शक र श्रोता एवं विवेचकसमेत भएकाले सूचना र समाचारको मियो व्यक्ति नै हुन पुगेको छ । सूचना र समाचारलाई सामूहिकताको प्रभावमा हेरिएन, उत्तरदायित्व र जिम्मेवारी बोध गर्न र गराउन सकिएन भने अबको समाजमा सकारात्मकता साँघुरिँदै जाने छ । यस्तो अवस्थाको नियमन गर्न स्वनियमन हुने प्रणालीको जरुरत देखिन्छ । 

 

 

Author

भरत गौतम