मीना कँडेल
कावासोती, कात्तिक २ गते । हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । सहर गएकाहरू गाउँ फर्किरहेका छन् । पसलमा यतिखेर सामान किन्नेको भिड छ । यता गाउँमा युवाहरुको सक्रियतामा लिङ्गेपिङ निर्माणको काम भइरहेको छ ।
विद्यालय बिदा भएका छन् । गाउँघरमा उमङ्ग छाएको छ । तर दसैं–तिहारजस्ता ठूला चाडपर्व जिल्लाका हरेक गाउँबस्तीका टोलटोलमा हालिने र खेलिने पिङ बिस्तारै लोप हुँदै जान थालेको छ ।
‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने मान्यताका साथ पिङ हाल्ने र दसैँमा पिङ खेल्ने चलन चल्दै आए पनि यो बिस्तारै हराउन थालेपछि पूर्वी नवलपरासीको विभिन्न स्थानमा युवाको सक्रियतामा लिङ्गेपिङ निर्माण गरिएको छ ।
दसैं–तिहारमा हाल्नेगरेका लिङ्गेपिङ, रोटेपिङ, काठेपिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । युवायुवती भेला भई हरियो बाबियाे काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकोमा अहिले प्रायः युवा गाउँमा छैनन् । बुढापाकाले नसक्ने हुँदा अहिले युवाहरुको सक्रियतामा लिङ्गेपिङ निर्माण गरिएको कावासोती –६ का भरत गौडेलले बताउनुभयो ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबैखाले मानिसको रुचिको विषय हो । ‘पहिले पहिले टोल–टोल र हरेक सार्वजनिक स्थानमा पिङ हाल्ने चलन थियो आज भोलि भने पिङमा भन्दा अन्य कुरामा युवायुवतीहरु रमाउने गरेको देवचुलीका एकदेव पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिजोआज आधुनिक जीवनशैलीसँगै यस्ता संस्कृति विस्तारै हराउँदै जान थालेकाले यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले देवचुली –१३ मा लिङ्गेपिङ निर्माण गरिएको छ ।” बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा परम्परा लोप हुँदै गएको पौडेलको भनाइ छ ।
बडादसैंको दिन मान्यजनको हातबाट टीका जमरा ग्रहण गरेपछि पिङमा बसेर भुइँ छोड्नुपर्ने प्रचलन छ । वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । तर गाउँमा पिङ नहुँदा वर्षाैदेखि पिङ खेल्न नपाएको कावासोती नगरपालिका –२ का राम पराजुलीले गुनासो गर्नुभयो ।
अहिले गाउँमा लिङ्गेपिङमा मच्चिएर चचहुई गरेको आवाजले दसैंको रौनक बढाएको छ । बच्चादेखि वृद्धसम्म सबैजना पिङमा रमाएको देख्न सकिन्छ । पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्ता मौलिक मनोरञ्जनका साधन ओझेलमा परेको स्थानीय सालिकराम सापकोटाले बताउनुभयो ।
बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु, पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाेको डोरीको समेत अभाव, दसैँ र तिहारका बेला चाडपर्वमा मात्र गाउँघरमा जुट्ने युवालाई चर्खेपिङ बनाउने फुर्सद र सीप पनि छैन ।
नेपाली मौलिक परम्परा तथा संस्कृति युवापुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृतिको लोप भएको गैंडाकोटका तेजराम घिमिरेले बताउनुभयो । बेरोजगारीका कारण गाउँमा युवा नबस्दा अहिले गाउँघरमा पिङ बनाउने जनशक्ति पनि पाइन छाडेको घिमिरेले बताउनुभयो ।
पिङप्रतिको आकर्षण कम र आधुनिक प्रविधिको बढ्दो मोहका कारण चाडपर्वको मौलिकतासँग जोडिएका रमाइला पक्षहरु विस्तारै हराउने हो कि चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ ।