• १ जेठ २०८२, बिहिबार

चाडपर्वको किनमेल : फेरि पनि सीमापारि

blog

भारतबाट सामान लिएर नाकामा पुगेका नेपाली उपभोक्ता । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, कात्तिक २ गते । हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपैडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ । 

महान् चाड दसैँ सुरु भइसकेपनि नेपालगन्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, किनमेलका लागि सीमापारि जानेहरूको भिड नाकामा थामिनसक्नुछ । 

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा हेल्प डेस्कनै स्थापना गरेर उनीहरूलाई भन्सार राजस्व तिर्न लगाउन सुरु गरेको छ । तर, पनि किनमेलका लागि सीमापारि जाने नेपालीहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउनेहरूसँग नेपालगन्ज भन्सार कार्यालयले नाकामा राजस्व असुलीमा कडाइ पनि सुरु गरेको छ । पछिल्लो समयमा भारतबाट सामान ल्याउने नेपाली उपभोक्ताले भन्सार राजस्व तिरेर नै सामान ल्याइरहेका छन् । 

सीमापारि सामान खरिदका लागि जाने नेपालगन्ज, कोहलपुर, बासगढी र भुरीगाउँ लगायतका उपभोक्ताले भन्सार राजस्व तिरेर पनि रुपैडिहामा सामान सस्तो पर्ने गरेकोले उतैबाट ल्याउने गरेको जनाएका छन् । 

नाकामा भेटिनु भएका कोहलपुर १० का उपभोक्ता जीवन परियारले सीमापारिबाट चामल र चिनी लगायतका सामान ल्याएर भन्सार तिर्दा पनि नेपालगन्ज र कोहलपुरभन्दा निकै सस्तो परेकोले ल्याएको बताउनुभयो । 

उहाँले नेपालगन्ज र कोहलपुरमा चाडपर्वको बेला व्यवसायीले मनपरी तरिकाले मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेकोले बाध्य भएर सीमापारि गएर सामान ल्याउनु परेको बताउनुभयो । नेपाली उपभोक्तालाई सीमापारि जानबाट रोक्नका लागि नेपालमा उचित मूल्यमा सामान बिक्री गर्नु पर्ने परियारको सुझाव छ । 

नाकामा गएर हो हल्ला गर्दैमा वा हेल्प डेस्क राख्दैमा सीमापारिबाट हुने खरिदारी नरोकिने अधिकांश उपभोक्ताको भनाई छ । नेपालगन्ज ११ का मुबारक सिद्धिकीले रुपैडिहाबाट ल्याएको धेरैजसो उपभोग्य सामानको भन्सार तिरेर ल्याउँदा पनि यहाँभन्दा सस्तो पर्ने गरेकोले आफूले राजस्व तिरेर चामल, दाल, चिनी लगायतका उपभोग्य सामान ल्याउने गरेको बताउनुभयो । 

उहाँले नेपालगन्जका व्यवसायीले मूल्य नियन्त्रण र एकरूपता नगरेसम्म यहाँको बजार सुनसान नै रहने बताउनुभयो । चाडपर्व नजिकिएकोले अहिले रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्तानै देख्न सकिन्छ । 

रुपैडिहाका व्यवसायी दीपक अग्रवालले अहिले धेरै ठुलो सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आइरहेकोले एक मिनट पनि फुर्सद नपाइएको जनाउँदै अन्य दिनको तुलनामा अहिले तेब्बर भन्दा बढी बिक्री बढेको बताउनु भयो । 

उहाँले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाउ र दाङ तथा सुर्खेतसम्मबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ताहरू यहाँ आइरहेको बताउनु भयो । 

रूपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले अहिले त्यहाँ दैनिक ५ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरेको छ । 

नेपालगन्ज बजार अझै सुनसान

सीमापारिको बजारमा अत्यधिक भिड भएपनि हालसम्म नेपालगन्जमा भने खासै चहल-पहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा चहलपहल नबढेको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताउनुभयो । सोही प्रकारको भनाई नगरका अन्य व्यवसायीको पनि छ ।  

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पनि नेपालगन्ज सुनसान र सीमापारि भिडभाड कसरी भयो भन्ने कुराको अनुसन्धान गरिरहेको जनाएको छ । सङ्घका अध्यक्ष टङ्क धामीले भन्सारमा झनै कडाइ गर्नुपर्ने जनाउँदै नेपालगन्जका व्यवसायीले सामानको के कस्तो मूल्य निर्धारण गरेका छन् त्यसको पनि अनुगमन गरिने बताउनुभयो ।