• १ जेठ २०८२, बिहिबार

नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न भूमि व्यवस्था मन्त्री श्रेष्ठको निर्देशन

blog

पहिलो सेवाग्राहीलाई अनलाइन (नेलिस) प्रणालीबाट प्रिन्ट गरिएको नक्सा हस्तान्तरण गरेर सेवाको सुरुआत गर्नुहुँदै भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक  २ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

बुधवारदेखि कोहलपुरबाट सञ्चालनमा आएका मालपोत तथा नापी कार्यालयको सेवा प्रारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले चुस्त दुरुस्त सेवा पाउने नागरिकको संविधानप्रदत्त अधिकार भएकाले कोहलपुरवासीको आग्रहमा नेपाल सरकारले सेवा आरम्भ गरेको बताउँदै उहाँले नागरिकलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।

कोहलपुर शाखाबाट आधुनिक प्रविधिको प्रयोग गरी कम्प्युटर प्रणालीबाट सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । कतिपय कार्यालयमा एनइएलआइएस (नेलिस) र एलआरआईएमएस प्रणाली विकास भएकाले घरमै बसेर पनि नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवा लिन सक्ने उहाँले बताउनुभयो । यी प्रणालीको विकासले जग्गा प्रशासनसम्बन्धी काम थप प्रभावकारी तथा विश्वसनीय हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

आर्थिक वर्षको अन्त्यतिर कार्यालय स्थापनाको निर्णय भएकाले सेवा प्रारम्भ हुन समय लागेको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘गतवर्ष कार्यालय उद्घाटन भए पनि बजेट विनियोजनमा कठिनाइ भएकाले सेवा प्रारम्भ गर्न कठिनाइ भयो ।’ ढिलै भए पनि सेवा शुभारम्भ भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले पहिलो सेवाग्राहीलाई अनलाइन (नेलिस) प्रणालीबाट प्रिन्ट गरिएको नक्सा हस्तान्तरण गरेर सेवाको सुरुआत गर्नुभएको थियो ।

नापीतर्फ कार्यालयका पहिलो सेवाग्राही बैजनाथ–६ का दलबहादुर वलीलाई अनलाइन प्रणालीबाट जग्गाको नक्सा र मालपोततर्फ कोहलपुरका धिरेन्द्रबहादुर विकलाइ जग्गाको लालपुर्जा प्रदान गरिएको थियो । 

बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घीय सांसद सूर्य ढकालले २० वर्षअघिको कोहलपुरवासीको सपना आज आएर पूरा भएको बताउनुभयो । उहाँले कोहलपुरमा जग्गा प्रशासनसम्बन्धी थुप्रै समस्या रहेकाले मन्त्री र सचिवले त्यसलाई समाधानका लागि चासो दिन आग्रह गर्नुभयो । उहाँले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई चाँडो लालपुर्जा उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

सांसद आशा विकले लामो समयपछि कोहलपुरवासीको सपना पूरा भएको बताउँदै कोहलपुरमै मालपोत र नापी कार्यालयका सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै कोहलपुरवासीलाई बधाई दिनुभयो । उहाँले अब कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद कृष्णा केसी (नमुना)ले कोहलपुरमा मालपोत तथा नापी कार्यालयबाट सेवा सुरु हुनु यहाँका बासिन्दाका लागि खुसीको कुरा भएको बताउनुभयो । कार्यालय स्थापना हुँदै गर्दा यस वरपरका भाडा अस्वाभाविक रूपमा वृद्धि नगर्न सुझाव दिनुभयो ।

उहाँले बुटवलमा लुम्बिनी प्रदेशको अस्थायी राजधानी घोषणा भएपछि त्यहाँको भाडा दर अत्यधिक महँगो भएको आफ्नो अनुभव सुनाउँदै कार्यालय वरपरका भाडा अस्वाभाविक रूपमा वृद्धि नगर्न आग्रह गर्नुभयो । उहाँले लालपुर्जा वितरणमा देखिएका कानुनीलगायतका गाँठा फुकाएर सहज बनाउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका अर्का सांसद दुर्गाप्रसाद चौधरीले सबैको अथक प्रयासबाट कोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना भएर सेवा आरम्भ हुन सकेकोमा खुसी व्यक्त गर्नुभयो । कोहलपुर नगरपालिकामा थारु समुदायको बाक्लो बसोबास भएकाले चौधरी मन्त्री भएका बेला ती समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती न्यौपानेले कोहलपुरका भूमिहीन सुकुम्बासीलाई चाँडो लालपुर्जा उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले लालपुर्जाको कुरा चुनावी नारा बन्ने गरे पनि भूमिहीन सुकुम्वासीले लालपुर्जा पाउन नसकेको गुनासो गर्नुभयो ।

त्यसै गरी लुम्बिनी प्रदेशकै सांसद सञ्जु चौधरीले पनि सुकुम्वासीलाई चाँडो लालपुर्जा वितरण गर्न माग गर्दै कार्यालयबाट प्रवाह गरिने सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताउनुभयो । कोहलपुरमा एउटा पूरै वडा सार्वजनिक जग्गा भए पनि ती बासिन्दाले लालपुर्जा पाउन नसकेकोमा रोष प्रकट गर्नुभयो ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनाल, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालगायत विभिन्न पालिकाका प्रमुख उपप्रमुखको उपस्थिति थियो ।