वीरगञ्ज, कात्तिक २ गते । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।
प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रु. ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु. पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । रासस