• १३ साउन २०८१, आइतबार

कृषिमा आत्मनिर्भरता कम गर्नका लागि खेती किसानी मैत्री शिक्षा आवश्यक–ओली

blog

कृषि क्याम्पस भवनको उद्घाटन गर्दै ओली । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक १ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आत्मनिर्भरता कम गर्नका लागि खेती किसानी मैत्री शिक्षा आवश्यक भएको बताउनु भएको छ । कृषि प्राविधिकहरूमा सैद्धान्तिक ज्ञान भए पनि व्यवहारिक ज्ञानको कमीका कारण अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले विद्यार्थीहरूलाई व्यवहारिक र किसानलाई प्राविधिक ज्ञान दिएमा मात्र परिणाम निस्कने बताउनु भयो । झापाको गौरा दहमा मङ्गलवार अपराह्न कृषि क्याम्पस भवनको उद्घाटन गर्दै विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानको थुप्रो हुने तर व्यवहारिक ज्ञानको भण्डार रित्तो हुने अवस्था रहनु नहुने जनाउनु भयो ।

कृषिको उत्पादकत्व बढाउनका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि आवश्यक छ, ओलीले भन्नुभयो  । किसानहरू व्यवहारिक ज्ञानले भरिपूर्ण भए पनि सैद्धान्तिक ज्ञान नहुँदा सोचेजस्तो परिणाम आउँदैन र विद्यार्थीमा सैद्धान्तिक ज्ञान हुँदा तर व्यवहारिक ज्ञान नहुँदा हामी पछि परेका छौ, उहाँको भनाइ थियो ।

ओलीले बिद्यार्थीहरुले सिकेका कुरा आफ्ना घर आँगनमा पुगेर किसानलाई सिकाउन आग्रह गर्नु भयो । सैद्धान्तिक ज्ञान लिएका विद्यार्थी र व्यवहारिक ज्ञानले पोख्त किसान मिल्यो भने यसले परिणाम राम्रो ल्याउँछ, उहाँको सुझाव थियो । टमाटर, खुर्सानी जस्ता कृषि उपजहरूमा भारतमा निर्भर हुनु दुखदायी भएको उहाँले बताउनु भयो । 

गौरा दहमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा गौरा दह कृषि क्याम्पस रहेको छ । क्याम्पस भवन सहित पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगको ६ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिनुभएको छ ।