• २८ पुस २०८१, आइतबार

इजरायलमा मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु भएको छ : मन्त्री साउद

blog

परराष्ट्रमन्त्री एनपी साउद कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २९ गते । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताउनु भएको छ । 

सुदूरपश्चिम पत्रकार समाजद्वारा आज सोमबार यहाँ आयोजित दसैँ, तिहार, छठ तथा नेपाल स‌‌वतकाे अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्नुहुँदै नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 


हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा मन्त्री साउदले सुदूरपश्चिम प्रदेश विकासको दृष्टिकोणले अझै पछाडि रहेको चर्चा गर्नुहुँदै सबैको सामूहिक प्रयास र पहलले त्यहाँको विकास हुने बताउनुभयो । सुदूरपश्चिम प्रदेश रिसोर्सको हिसाबले सबैभन्दा धनी भए पनि त्यसको सही सदुपयोग गर्न नसकिएको उहाँले चर्चा गर्नुभयो । विकासको काम क्रमिक रूपमा भइरहेकाले त्यहाँका राजनीतिक दल, सुदूरपश्चिमवासी, पत्रकार, तीनै तहका सरकारको सामूहिक पहलले सुदूरपश्चिम समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो ।

काठमाडौँलाई केन्द्र मान्दा सुदूरपश्चिम सबैभन्दा दुर्गम भए पनि देशको हिसाबले सुदूरपश्चिम टाढा नरहेको उहाँले चर्चा गर्नुभयो । त्यहाँको समग्र विकासका लागि धार्मिक पर्यटकीय क्षेत्रको यथोचित विकास गर्न सके वर्षमा दसौँ लाख धार्मिक पर्यटक सुदूरपश्चिममा भित्र्याउन सकिने उहाँले बताउनुभयो । 

नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंहले सुदूरपश्चिमको समृद्धिका लागि सबै राजनीतिक दल, नेता, सरकार, पत्रकार तथा मिडिया र सुदूरपश्चिमवासीको सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । त्यहाँको मुद्दा पहिचान र राष्ट्रिय एजेण्डामा पार्न पनि पत्रकारले भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक रुपा सोसी चौधरीले सुदूरपश्चिममा अथाह सम्भावना भए पनि विकास गर्न नसकिएकाले सबैले त्यहाँको विकासका लागि गम्भीर बन्नुपर्ने बताउनुभयो । दसैँमा घर जाने सुदूरपश्चिमवासीलाई चर्को भाडा कायम गरिएकाले पीडा भएको भन्नुहुँदै त्यसमा ध्यान दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो । 


गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सुदूरपश्चिम विकासको विषय अझै चाहे जति मिडियाले उठाउन नसकेको बताउनु भयो । सुदूरपश्चिमबाट काठमाडौँ आएर सयौँ पत्रकार विभिन्न मिडियामा काम गरिरहेको भए पनि पत्रकारको क्षमता अभिवृद्धिमा सरकार तथा सरोकारवाला संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो । सुदूरपश्चिम हाम्रो साझा पहिचान भएकाले त्यसको विकासका लागि पनि सबैको हातेमालो आवश्यक रहेको उहाँको भनाइ छ । 

समाजका अध्यक्ष एम. बमको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ पत्रकार प्रशान्त अर्याल, पत्रकार गोविन्द खड्का, लक्की चौधरी, लक्ष्मी बलायरलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।