• १२ साउन २०८१, शनिबार

कृषि क्षेत्र विशेष प्राथमिकतामा

blog

सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको सदरमुकाम हो । युगकवि सिद्धिचरण श्रेष्ठको नामबाट यस नगरपालिकाको नाम राखिएको हो । यस नगरपालिकामा साबिकका तलुवा, ठुलाछाप, बर्नालु, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, बेतेनी, विगुटार, अँधेरी, जन्तरखानी र रुम्जाटार गाउँ विकास समिति समावेश गरिएका छन् । आठ वटा स्थानीय तह रहेको ओखलढुङ्गा जिल्लाको योमात्रै एक नगरपालिका हो । यस नगरपालिकामा १२ वटा वडा  छन् । स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा तेजेन्द्र खनाल निर्वाचित भई नगर क्षेत्रको विद्युत्, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिलगायत नगरवासीको आवश्यकता पूरा गर्न क्रियाशील हुनुहुन्छ । यस नगरपालिकामा भइरहेका विकास गतिविधिलगायतका विषयमा केन्द्रित भई नगर प्रमुख खनालसँग गोरखापत्रका ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।  

तपार्ईं यस नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको एक वर्ष बित्यो के के गर्नुभयो ?

सर्वप्रथम त नगरपालिकाका लागि आवश्यक न्यूनतम मापदण्डमा पर्ने विद्युत्, यातायात, शिक्षा, खानेपानी, कृषि, स्वास्थ्यलगायतका महìवपूर्ण क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गरेका छौँ । दुई वर्षभित्र नगरको सम्पूर्ण वडा र बस्तीमा केन्द्रीय विद्युत् विस्तार गर्ने योजना बनाएर काम गरेका छौँ । अब केही वडाका ग्रामीण क्षेत्रमा विद्युत् पुग्न बाँकी छ, चाँडै पु-याउँछौँ । नागरिकलाई स्वास्थ्य सेवा सहज बनाएका छौँ । नगरपालिकाको १२ वटै वडामा रहेको सडक सुधार गरेर बाह्रै महिना सञ्चालन हुने बनाएका छौँ । खानेपानी समस्या समाधानका लागि काम गरेका छौँ । बजार व्यवस्थापनका साथै लामो समयदेखि सञ्चालन हुन नसकेको बसपार्क सञ्चालनमा ल्याएका छौँ । यसका साथै नागरिकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । जिल्ला सदरमुकाममा राष्ट्रियस्तरको खेल मैदान बनाएका छौँ । नगरपालिकामा सीमित स्रोत साधन छ, नागरिकको असीमित आवश्यकता र माग आइरहेका छन् । सकेसम्म जनताको आवश्यकतालाई सम्बोधन गरिरहेका छौँ । तीन तहको सरकार भए पनि अधिकांश जनता स्थानीय सरकारसँगै बढी अपेक्षा राख्छन् । नजिकको सरकार भएको कारणले पनि होला । सकेसम्म नागरिकलाई सन्तुष्टि दिने काम गरिरहेका छौँ । 

खस्कँदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कस्तो योजना छ ?

नगरपालिकाको १२ वटै वडामा रहेका सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने योजना बनाएका छौँ । यसका लागि बजेट व्यवस्था गरेर कार्यान्वयनको चरण छ । विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयलाई एकीकृत गरेर नमुना विद्यालय र शैक्षिक वातावरण सिर्जना गर्ने योजना ल्याएका छौँ । सामुदायिक विद्यालयका लागि आवश्यकता अनुसार विद्यालय बसको व्यवस्था गर्ने योजना बनाएका छौँ । यस पटक तत्काल वडा नं. २ बाट सामुदायिक विद्यालयको सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि काम थाल्ने योजना छ । विद्यालय मर्जको योजना पनि बनाएका छौँ यसका लागि स्थानीय समुदाय र अभिभावकसँगको सहमति सल्लाहमा काम अगाडि बढाइने छ । 

बहुसङ्ख्यक नगरवासी कृषि पेसामा आबद्ध हुनुहुन्छ, कृषकको जीवनस्तर उकास्ने योजना के के छन् ?

हामीले कृषि क्षेत्र र कृषकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । यस वर्ष कृषकका लागि खुसीको कुरा छ । नगरपालिकाबाट कृषकका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेका छौँ । कृषकले आफ्नो खेतबारीमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु-याउन कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेका हौँ । यसका साथै हाम्रो नगरपालिकाका अधिकांश कृषकले अहिले पनि परम्परागत कृषि प्रणाली अपनाइरहनुभएको छ, त्यसलाई निरुत्साहित गरी आधुनिक र व्यावसायिक कृषि व्यवसाय गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यव्रmम बनाएका छौँ । नगदेबाली, फलफूल, पशुपन्छीपालन, परम्परागत अन्नबाली प्रवर्धन गर्न र किसानलाई व्यावसायिक बनाउन कृषि पकेट कार्यक्रम सञ्चालन गरेका छौँ । यसका साथै कृषकलाई व्यावसायिक बनाउन बिउबिजन, कृषि यान्त्रिक सामग्री वितरण गर्ने गरिएको छ । कृषि उपजमा लाग्ने हाटबजार कर हटाइएको छ । नगरपालिकाको माथिल्लो क्षेत्रमा प्रशस्तै आलु उत्पादन हुने भएकाले प्रवर्धन र बजारीकरणका लागि काम गरिरहेका छौँ । 

तपाईले निकै महत्त्व दिनुभएको पर्यटकीय झोलुङ्गे पुल निर्माणको योजना कहिले सुरु हुन्छ ?

यो मेरो ड्रिम प्रोजेक्ट हो । यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय संरचनाको अभाव महसुस गरेर मैले अति महत्त्वका साथ ओखलढुङ्गा सदरमुकाम बजारको हुलाक डाँडा र सिद्धिचरण स्रष्टा पार्क जोड्ने पर्यटकीय झोलुङ्गे पुल निर्माणका लागि योजना अगाडि बढाएँ । प्राविधिक सर्भे पनि भयो । नगरपालिकाको बजेटले निर्माण गर्न नसकिने भएकाले सङ्घीय सरकारसँग प्रस्ताव पु-याएँ तर सङ्घीय सरकारबाट पर्यटकीय पुल निर्माणका लागि बजेट नदिने नीति रहेछ । बजेट ल्याउन सकिएन । यसले पर्यटन क्षेत्रको प्रवर्धन र आकर्षण बढ्थ्यो । नगरपालिकाको राम्रो आर्थिक स्रोत सिर्जना हुने थियो । यो योजना पूरा गर्नका लागि अहिले पनि विभिन्न निकायमा धाइरहेको छु । योजना सम्पन्न गर्न पहल भइरहेको छ ।

रुम्जाटार विमानस्थलमा लामो समयदेखि उडान ठप्प छ, सुचारु गर्न के पहल भइरहेका छन् ?

रुम्जाटार विमानस्थल सुचारु गर्नका लागि मैले पर्यटनमन्त्रीलाई दुई/तीन पटक भेटिसकेँ । उहाँ सकारात्मक हुनुहुन्छ तर नेपाल वायु सेवा निगमलगायतका अन्य निजी वायु सेवाले यात्रुको अभावका कारण देखाएर सञ्चालन गर्न मानेका छैनन् । रुम्जाटारमा हवाईजहाज सञ्चालन गर्दा घाटा छ भन्ने बहाना बनाएका छन् तर पनि कमसे कम हप्तामा एक/दुई पटक सञ्चालन गर्न पहल गरिरहेका छौँ । यद्यपि सफलता मिलेको छैन् । 

सङ्घीय र प्रदेश सरकारसँगको समन्वय र सहयोग कति प्राप्त भइरहेको छ  ?

हामीले अपेक्षा गरे अनुसार सङ्घीय सरकारबाट बजेट पार्न सकेनौँ यो कुरा जनतालाई यथार्थ भन्नु पर्छ । अपेक्षा ठुलो थियो । नगरको विकासका लागि केही गर्न सकिन्छ कि भन्ने थियो । प्रदेशमा सरकार फेरबदल भइरहेकाले बजेट कार्यक्रम ल्याउन सकिएको छैन् । यद्यपि सङ्घीय सरकारबाट मिलनचोक–सल्लेरी–बेतेनी–पारादोभान सडक स्तरोन्नतिका लागि एक करोड बजेट आएको छ । जिल्ला स्तरीय सभा हल निर्माणका लागि थोरै बजेट प्राप्त भएको छ । सङ्घीय सरकारमै रुम्जाटार सडक स्तरोन्नति, ओखलढुङ्गा–ज्यामिरे–मोलुङखोला सडक स्तरोन्नति, विगुटार सडक स्तरोन्नतिका लागि बजेट माग गरिएको थियो तर आएन । प्रदेशमा पनि केही योजनाका लागि बजेट माग गरिएको छ । स्थायी सरकार बनेपछि आउने आशा गरेको छु । निरन्तर पहल गरिरहेको छु ।