• १ मंसिर २०८२, सोमबार

‘जेनजी’ आन्दोलनका नाममा तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको माग

blog

लक्ष्मी तिमिल्सेना

जमुनाह, मङ्सिर १ गते । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले ‘जेनजी’का नाममा कात्तिक २३ र २४ गते बाँकेमा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा आक्रमणका घटनामा संलग्न समूहलाई तत्काल कानुनी कारबाही गर्न जिल्ला प्रशासनसँग माग गरेको छ । जिल्ला प्रमुख अधिकारी दिलकुमार तामाङ्गलाई सोमबार ज्ञापनपत्र बुझाउदै एमाले बाँकेले उक्त माग गरेको हो।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङद्वारा हस्ताक्षरित पत्रमा जेनजी नामका समूहले जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, अदालत, भन्सार, आन्तरिक राजस्व, वडा कार्यालयदेखि सडकमै रहेका शालिकसमेत तोडफोड गरेर ‘अराजक गतिविधि’ फैलाएको कुरा उल्लेख छ ।

यस्तै, विभिन्न स्थानमा ट्राफिक, अदालत तथा सरकारी संरचनामाथिको आक्रमणले शान्ति–सुरक्षामा गम्भीर असर परेको भन्दै घटनाको योजनाकार तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी उपचार गर्न प्रशासनलाई आग्रह गरिएको छ ।

सार्वजनिक सम्पत्तिमा आक्रमण र जनताको सुरक्षालाई चुनौती दिने घटनाले स्थानीय बासिन्दा त्रसित भएको भन्दै एमाले बाँकेले घटनामा संलग्न अपराधीलाई छुट नदिई कडा भन्दा कडा कारबाही गर्न माग गरेको हो ।

एमाले बाँकेले घटनाका योजनाकार, उक्साउने, निर्देशित गर्ने तथा प्रत्यक्ष सहभागी सबैलाई खोजी गरी कानुनी दायरामा ल्याउन, पीडितलाई राहत तथा नष्ट भएका संरचनाको शीघ्र पुन:निर्माण गर्न माग गरेको छ ।