चितवन, असोज २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका प्रमुख एवम् प्रधानमन्त्री पुत्री रेणु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागि नसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नु हुनेछ ।
शारदानगरको सो आयोजना ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ । सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर-११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ ।
यो आयोजना २५ करोडको लागतमा निर्माण गरिएको हो । यसैगरी, भरतपुर महानगरपालिका-२६ दिव्यनगरको खानेपानी आयोजना दश करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् । रासस