• ८ मंसिर २०८१, शनिबार

नियात्रा

ग्रिसमा वाइनका देवता खोज्दा

blog

एथेन्समा संसारको पहिलो थिएटर ! म एकाएक उत्साहित हुन्छु । त्यस ऐतिहासिक स्थानमा स्पर्श गर्न मन उद्वेलित हुन्छ । नाटकप्रेमी मेरो मनमा अचानक जिज्ञासाका पर्दाहरू खुल्न थाल्छन् । आतुरता प्रकाशको गतिमा दौडन्छ । मेरा पाइला त अझै एथेन्सको एक्रोपोलिसमै छन् ।

एक्रोपोलिसमा अवस्थित एथेना देवीको मन्दिरबाट थिएटरलाई चियाउने प्रयास गर्छु । ठिक मुनि अलिकति भिरालो परेको ठाउँमा छ ‘द थिएटर अफ डायोनाइसस ।’ खासै ठम्याउन सक्दिनँ । विलम्ब नगरी एक्रोपोलिस डाँडाबाट खुत्रुक खुत्रुक उत्रन्छु तलतिर ।  समथर जमिनमा लम्किरहेको छु लमकलमक । हिँडिरहेको छु एउटा आदिम बाटोमा । प्राचीन कालको त्यस धार्मिक बाटोबाट वरपर देखिरहेछु ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महìवको स्थलका भग्नावशेषहरू । युद्धमा पूर्ण रूपमा ध्वस्त भएका सहरका भौतिक संरचनाहरू जस्तै घाइते भएर सुतिरहेका छन् भुइँमा क्षतविक्षत अनुहार लिएका इतिहासका गौरवहरू । जीर्णोद्धारका लागि गुहारिरहेका छन् यत्रतत्र छरिएका सङ्गमरमर र ढुङ्गाका विभिन्न संरचनाले । 

डायोनाइसस थिएटर कहाँ छ भनेर आँखा डुलाइरहेको छु । एक ठाउँमा मानिसको विशेष चहलपहल देख्छु । त्यहाँ नजिकै पुगेर सङ्केत पाटीमा नजर लगाउँछु । त्यहीँ पो रहेछ डायोनाइसस थिएटर । करिब दस मिनेटको पैदल यात्राबाट त्यहाँ पुगेथेँ ।

उभिएको छु प्रजातन्त्र, पश्चिमी दर्शन, राजनीति विज्ञान, पश्चिमी नाटक र ओलम्पिक खेलको जन्मस्थल ग्रिसको एथेन्समा । आजभन्दा छब्बिस सय वर्षअघि बनेको र भौतिक अस्तित्वका केही अंश सुरक्षित भएको संसारको प्रथम थिएटरमा टेकेको छु । दृष्टि दौडाउँछु पर परसम्म । खुला आकाशमुनि रहेको इतिहासको विरासत प्राचीन थिएटर घोडाको टाप आकारको रहेछ । त्यसलाई अलिकति जीर्णोद्धार गरिएको पाउँछु । 

म बिस्तारै पाइला चाल्छु थिएटरको दर्शक बस्ने स्थानतिर । ढुङ्गाले बनेको दर्शकदीर्घामा पुगेपछि त्यसलाई स्पर्श गर्छु । चर्को घाममा थाकेको शरीर ढुङ्गाको सिटमा थपक्क बिसाउँछु । दर्शकदीर्घाको मध्यतिरको लाइनमा बसेको रहेछु । त्यहीँबाट अगाडि दृष्टि लगाउँछु । त्यहाँ थुप्रै जिज्ञासु अवलोकनकर्ताहरू सलबलाइरहेका देख्छु । एकछिन त्यहाँ बस्दाबस्दै मेरो मानसपटलमा एउटा भव्य मञ्च तयार हुन्छ । नाटकको कलाकारले गरेको अभिनयको कल्पना गर्न थाल्छु । दिवास्वप्न जस्तो अजीव कल्पना ! झल्यास्स हुन्छु । एकछिनको कल्पनाले मलाई नेपालमा नाटक हेरेको झझल्को दिलायो । यदि साँच्चै त्यस प्राचीन थिएटरमा कुनै दुःखान्त नाटक हेर्न पाए कस्तो अनुभूति हुन्थ्यो होला ? एउटा प्रश्न तैरिन्छ मनमा । दर्शकदीर्घाबाट उठेर मन्चतिर लाग्छु । मन्चनजिकै रहेको पहिलो लहरको सिटमा पुगेर उभिन्छु । तिनलाई नियाल्छु । उतिबेला पहिलो लहरका ती सिटहरू एथेन्सका महìवपूर्ण व्यक्तिहरूलाई आरक्षित राखिँदो रहेछ । ती सिटहरू डायोनाइसस देवताको वेदीनजिकै पर्दथे । अग्र पङ्क्तिमा केही विशेष प्रकारका सङ्गमरमरका कुर्सीहरू पनि देख्दछु । ती कुर्सी पुजारीहरूका लागि रहेछन् । त्यस प्राचीन कुर्सीलाई स्पर्श गर्दछु । चञ्चल मनले मलाई पुजारी बस्ने कुर्सीमा बसाएर छाड्यो । मेरा पितापुर्खा पुजारी नभए पनि म किसान बाहुनको छोरो पुजारी बस्ने कुर्सीमा बसेर एकछिन गमक्क पर्छु ।

डायोनाइसस थिएटर ग्रिकका देवता डायोनाइससको नाममा समर्पित छ । प्राचीनकालमा उक्त थिएटर डायोनाइसस देवतालाई पूजा गर्ने मुख्य स्थान थियो । एथेन्सवासीहरू डायोनाइसस देवताको पूजा गर्न अहिले भग्न अवस्थामा रहेको उतिबेलाको भव्य थिएटरमा जम्मा हुन्थे । ती देवताको सम्मानमा त्यहाँ पाँच दिनसम्म धार्मिक उत्सव आयोजना गरिन्थ्यो । देवताको सम्मानमा त्यहाँ नाटक मञ्चन गर्नुका साथै गीत, सङ्गीत र नृत्य प्रतियोगिताको आयोजना गरिन्थ्यो । यसरी हेर्दा ग्रिसेली नाटक सुरुमा धर्मसँग जोडिएको पाउँछु । पूजा, नाटक र गीत सङ्गीतको सङ्गमको रौनक कस्तो हुँदो हो ? दर्शकहरूमा कस्तो रोमाञ्चकता उत्पन्न हुँदो हो ? अनुमान गर्ने प्रयास गर्छु ।  

डायोनाइसस प्राचीन ग्रिक धर्मका एक प्रमुख देवता र जीउस देवताका पुत्र थिए । उनी ग्रिक धर्मका बाह्र ओलम्पियन देवतामध्येका एक शक्तिशाली देवता थिए । उनलाई पूजा गरी खुसी पार्न पशुबलि दिइन्थ्यो । थिएटर, प्रजनन, प्रकृति र वाइनका देवता हुन् डायोनाइसस । उनलाई अङ्गुरको मदिरा अर्थात् वाइन चढाइन्थ्यो । उनैले अङ्गुर खेती गर्ने कलाको विस्तार गरी मानिसलाई वाइन बनाउन सिकाएका हुन् भनेर ग्रिसवासीहरू विश्वास गर्दछन् । डायोनाइससको साथमा हरदम मदिराले भरिएको प्याला हुन्थ्यो ।

त्यस डायोनाइसस थिएटरमा नाटक हेर्नेहरूले समेत खुसियालीमा वाइन पिउँथे । तिनीहरू वाइन पिउँदा डायोनाइसस देवताको नजिक पुगिन्छ भन्ने विश्वास गर्दथे । उनीहरूको विश्वास सम्झेर हाँसो पनि उठ्छ । अत्यधिक मदिरा पिएपछि हुने विभिन्न भ्रमका बारेमा पिउने र तिनलाई देख्नेहरू जानकार छन् । त्यस्तो भ्रमबाट म पनि कहाँ अछुतो छु र ? 

डायोनाइसस मानवताको महान् देवता मानिन्थे । उनी मृतकलाई पनि जीवित पार्ने सामथ्र्य राख्दथे । ती देवतामा मानिसको हृदयमा पागलपन र नशा पैदा गराउन सक्ने क्षमता थियो । उनी प्रकृतिका पनि देवता भएकाले सामान्य रूपमा बोटबिरुवा, उर्वरता र प्रकृतिमा सजिलै हेरफेर गर्न सक्दथे । आफूलाई विभिन्न प्राणीमा बदल्न सक्ने क्षमताका धनी थिए । यस्ता रोचक ग्रिक पौराणिक कथा जति पटक पढे पनि म आनन्दित हुन्छु ।  अचानक म दर्शकदीर्घाबाट उठ्छु । अनि भग्न अवस्थामा रहेको मञ्चमा पाइला टेक्छु । मैले टेकेको रङ्गमञ्चको छाना, पर्खाल, झ्याल, ढोका केही छैनन् । उतिखेर बनाइएको कलात्मक बुट्टेदार मोजाइकका केही टुव्रmाहरू प्रमाणका रूपमा भुइँमा सुरक्षित देख्छु । त्यसलाई हातले स्पर्श गर्छु । त्यहाँ नजिकै उतिबेला ढुङ्गामा कुँदिएका नाटकका पात्र, डायोनाइसस देवता आदिका केही क्षत विक्षत मूतिहरू पनि छन् । समय र परिस्थितिका चोटले घाइते ती संरचनाहरू उपेक्षित अवस्थामा रहेको पाउँछु । 

रङ्गमञ्चमा अवलोकन गरिरहेको बेला फ्रान्सबाट आएका एक जोडीले तिनको मोबाइल फोनबाट भिडियो खिचिदिन अनुरोध गरे । भिडियो खिच्न म तयार हुन्छु । 

केटाले एउटा रातो गुलाफको फूल केटीलाई दिँदै “आई लब यु” भन्यो । “आई लब यु टु”, केटीले मुस्कुराउँदै भनी ।

केटाले केटीलाई चुम्बन ग¥यो र अँगालो मा¥यो । संसारको पहिलो थिएटरको रङ्गमञ्चमा त्यो तिनीहरूको अभिनय थियो वा सच्चा प्रेम मैले थाहा पाउन सकिनँ । अँगालोबाट छुट्टिएपछि मोबाइल फोन केटालाई फर्काएँ ।

“संसार एक रङ्गमञ्च हो । हामी त्यसका कलाकार हौँ ।” महान् नाटककार शेक्सपियरको उपरोक्त भनाइ सुनाएँ । उनीहरू मज्जाले हाँसे । तिमीहरूको यो जोडी नटुटोस् भन्दै शुभकामना दिएँ । मलाई धन्यवाद भनेर तिनीहरू निस्के ।

त्यहीँ उभिएर नाटकको इतिहास सम्झन्छु । त्यही रङ्गमञ्चमा संसार प्रसिद्ध दुःखान्त नाटकहरू मञ्चन गरिएको थियो । ती नाटकमा समाजमा दबाइएका मानिस, महिला, देश निकाला गरिएका व्यक्तिहरू र विदेशीहरूका कथासमेत हुन्थे । दर्शकका आँखाबाट आँसु बगाउने कैयौँ अभिनय गरियो त्यहाँ । भक्कानो छुटाउने कैयौँ कथा भनियो । विचरा रङ्गमञ्च भने अहिले आफ्नै दुःख कहिरहेको छ । मन कटक्क पार्ने कथा सुनाइरहेको छ । म ग्रिसेली नाटकको इतिहासका केही पाना पल्टाउँदछु । प्राचीन एथेन्सका महान् नाटककारहरू एस्किलस, सोफोक्लिस र युरिपिडिस दुःखान्त नाटक डायोनाइसस थिएटरमा मञ्चन गरिएको थियो । डायोनाइसस थिएटरलाई दुःखान्त नाटकको जन्मस्थान पनि भनिन्छ । 

उतिबेलाको नाटकमा गीत, सङ्गीत र संवाद हुन्थ्यो । कलाकारहरूले मुखौटा अर्थात् मास्क लगाउँदथे । एउटै कलाकारले मुखौटा र पोसाक बदलेर विभिन्न पात्रको अभिनय गर्दथे । महिलालाई स्टेजमा अभिनय गर्न अनुमति नभएकाले पुरुष कलाकारले नै महिलाको अभिनय गर्दथे । काठमाडौँ उपत्यकामा प्रचलित प्राचीन नाटक र केही परम्परागत धार्मिक तथा सांस्कृतिक नृत्यहरूमा मुखौटा लगाएको मैले देखेको छु । नेपाली र ग्रिसेली नाटकमा कुनै प्रभाव वा सम्बन्ध पो छ कि ? थाहा पाउन मन लागेको छ ।

यस्तै कुरा मनमा खेल्दै गर्दा रङ्गमञ्चमा उभिएर दर्शकदीर्घातर्फ दृष्टि दौडाउँछु । दर्शकदीर्घा एकदम विशाल देख्दछु । त्यति प्राचीन थिएटर उतिबेलै सत्र हजार दर्शकले अवलोकन गर्ने क्षमताको पो रहेछ ! त्यसले मलाई आश्चर्यचकित पा¥यो । नेपालमा सत्र हजार दर्शक अट्ने क्षमताको न सभागृह छ न त थिएटर नै । हामी अझै कति हजार वर्षपछि छौँ हँ ? प्राचीन रङ्गमञ्चमा उभिएको बेला मेरो मनमा ठुलो प्रश्न उठेथ्यो ।

संसारभर एथेन्सका थिएटर र नाटकको लोकप्रियता बढे पनि एथेन्समा रहेका महान् दार्शनिक प्लेटो नाटक र कविताका विरोधी रहेको कुरा मलाई अनौठो लाग्छ । सुरुवातको समयमा प्लेटो स्वयं कविता र नाटक लेख्थे भन्ने कुरा इतिहासमा पाइन्छ । दर्शनको कुरा गरेर आदर्श समाजको परिकल्पना गर्ने प्लेटो साहित्यले मानिसलाई भ्रष्ट बनाउँछ भन्थे । उनले भनेका छन्, “नाटकले जनताको पक्षमा काम गर्दैन । नाटकमा मानिसलाई भ्रष्ट र अनैतिक देखाइएको हुन्छ । त्यहाँ प्रस्तुत गरिएका मूल पात्रहरू आफ्नो स्वार्थका लागि एकअर्कासँग झगडा गरिरहेका हुन्छन् । यसरी विकृत रूपमा प्रस्तुत गरिएको छविले बालबालिकाको मस्तिष्कमा नराम्रो असर पार्न सक्छ ।” उनले कविताका बारेमा भनेका छन्, “कविता मानिसमा भएका कमजोरी देखाएर क्षणिक मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र हो । त्यसले मानिसलाई बौद्धिक रूपमा कमजोर बनाइरहेको हुन्छ ।” कविताका बारेमा यस्ता कुरा गर्ने प्लेटो आफ्नो आदर्श गणराज्यबाट कविहरूलाई निष्कासन गर्नुपर्ने बताउँदथे । 

साहित्यप्रति प्लेटोको उपरोक्त भनाइसँग म असहमत छु । सत्य कुरा के हो भने नाटक, साहित्य, कविता ती सबैले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई शिक्षित, सुसंस्कृत र समृद्ध बनाउँछन् ।

नाटकको जन्मस्थानमा नाटकउपर प्रतिशोध, प्रतिबन्ध र विरोधका थप जानकारी पाउँदा आश्चर्यचकित हुन्छु । नाटकलाई दार्शनिक प्लेटोले खुब विरोध गरे । त्यसपछि इशापूर्व ४०४ मा स्पार्टाले एथेन्सलाई युद्धमा हराएपछि नयाँ शासकले एथेन्समा नाटक मञ्चन बन्द गराए । फेरि सन् १९६७ मा सैनिक शासनको समयमा ग्रिसमा दुःखान्त नाटकउपर कडा सेन्सरसिप लगाइयो । कुनै घातक अस्त्र नबोकेको नाटकको शक्ति यही घटनाबाट थाहा पाउन सकिन्छ ।

नेपालमा पनि पञ्चायत शासनकालमा जनचेतना जगाउने नाटक प्रदर्शनी गर्दा धरपकड गरेको सम्झन्छु । दार्शनिकलाई मन नपरे पनि अथवा शासकहरूले प्रतिबन्ध लगाएर धरपकड गरे पनि नाटक अहिलेसम्म जीवित छ । सिनेमा, टेलिभिजनको झिलिकमिलिक र युट्युबको रमझम आए पनि संसारभर अझै नाटक मञ्चन भइरहेका छन् । दर्शकको मनमा ठुलो प्रभाव पार्ने नाटक रङ्गमञ्चबाट कहिल्यै हराएर जाने छैन ।

मनमा इतिहासका उपरोक्त घटना सिलिङबिलिङ गरिरहेको बेला भग्न अवस्थामा रहेको डायोनाइसस थिएटरमा त्यसको दुर्दशाको कथा खोज्न थाल्छु । तेस्रो शताब्दीमा ग्रिसमा शासन गरिरहेको रोमन साम्राज्यले डायोनाइसस थिएटरलाई ग्लाडिएटर खेलको आयोजना गर्ने स्थानका रूपमा परिवर्तन गरिएको थाहा पाउँदा उदेक मान्छु । ग्लाडिएटर खेलमा मानिस र मानिस वा जनावर र मानिसका बिचमा लडाइँ गराइन्छ । त्यस खेलमा एक पक्षको मृत्युसमेत हुन्थ्यो । दर्शक त्यसबाट मनोरञ्जन लिन्थे । छक्क पर्दछु, अरूको ज्यान जाने खेल हेरेर कसरी मनोरञ्जन लिन सकेका होलान् ?

छैटौँ शताब्दीमा त्यस थिएटरलाई क्रिश्चियनको चर्चमा परिणत गरिएको थाहा पाउँदा नरमाइलो लाग्यो । थिएटरनजिकै क्रिश्चियनले ठुलो बाजिलिकासमेत बनाएछन् । बाजिलिकानजिकै रहेको सानो सूचना पाटी पढ्छु । विभिन्न समयमा भएको क्षति र मर्मत सम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको त्यस बाजिलिकालाई त्यागियो । त्यसरी नै डायोनाइसस थिएटरलाई पनि त्यागिएको थियो । धुलीसात भएको बाजिलिकाको अलिकति जीर्णोद्धार भएकाले त्यसको केही अंशमा सर्सर्ती आँखा दौडाउँछु । 

यस धरामा अनन्तकालसम्म बाँच्ने न कुनै भौतिक संरचना छन्, न त कुनै धर्म, शक्ति र सत्ता । किन मानिस तिनमा घमण्ड गर्दछन् ? तिनकै लागि किन लडाइँ गर्छन् ? मनमा यस्तै कुरा खेलाउँदै डायोनाइसस थिएटरबाट बाहिरिन्छु ।  

Author

कृष्ण बजगाईं