उत्कृष्ट व्यापारिक केन्द्र घोषित चीनको होङजाउले एसियाली खेलकुदलाई प्रतिष्ठाको विषय बनाएको थियो । कोरोना महामारीले एक वर्ष ढिला सुरु भएपछि होङजाउले तयारीका लागि थप एक वर्ष समय पनि पायो । त्यसैले होङजाउ एसियाडमा रौनकताको कुनै कमी भएन । होङजाउ एसियाडलाई एक सफल आयोजना मानिएको छ । नेपालको सन्दर्भमा पनि होङजाउ सहभागिता सम्झनलायक बन्यो ।
हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले होङजाउ यात्रालाई सफल बनायो । पदक हासिल गर्न नसके पनि नेपाली व्रिmकेट टिमको सानदार प्रदर्शनले विश्व व्रिmकेटको ध्यान आफूतिर तान्यो । यी उपलब्धिले यस पटकको एसियाड सम्झनलायक रह्यो । दीपक अधिकारीले दस हजार मिटर दौड र भारोत्तोलन खेलाडी विशाल सिंह विष्टले एसियाडमा राखेको राष्ट्रिय कीर्तिमान पनि केही सुखद पक्षका रूपमा रहे । यी केही उपलब्धिलाई छाड्ने हो भने नेपालको प्रदर्शन कमजोर रह्यो । एसियाली खेलकुदकै इतिहासमा अहिलेसम्मकै २९ खेलका सर्वाधिक २५३ खेलाडी होङजाउ पुगे । व्यक्तिगत स्पर्धामा टेनिसका प्रदीप खड्का, तेक्वान्दोकी अञ्जली तामाङ, बक्सिङका रविन थापा, कराँतेका विप्लवलाल श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुनिल जोशी र रशिला महर्जन, अनुमाया राईले पहिलो चरणका खेल जित्नुभयो । प्रिन्सले विष्णु कटुवालसँग जोडी बनाएर डबल्समा पनि एक खेल जित्नुभएको थियो तर कराँतेका विप्लवलालबाहेक अन्य कुनै पनि खेलाडी पदकको नजिक पुग्न सकेनन् । विप्लवलाल कांस्य पदक भिडन्तमा निराश बन्नुभएको थियो ।
समूहगत खेलमा नेपाली क्रिकेट टिमले दुई तथा नेपालको महिला कबड्डी टिम र भलिबल टिमले समूहगत खेलमा एक खेल जिते । महिला कबड्डी टिम एक खेल जितेरै कांस्य पदकको हकदार बन्यो । यस अर्थमा कबड्डी टोलीलाई भाग्यमानी मान्नु पर्छ । नेपालको पब्जी टिम सेमिफाइनलमा पराजित भयो । नेपालले यस पटक मार्सल आर्ट्स र ई–स्पोर्ट्स पब्जीमा पदकको अपेक्षा गरेको थियो ।
कराँतेलाई अलग राख्ने हो भने नेपालको मार्सल आर्ट्स फ्लप रह्यो । मार्सल आर्ट्स नेपालमा प्रशिक्षण लिएर सबभन्दा बढी खेलिने खेल हो । नेपालमा मार्सल आर्ट्सका लाखौँ अनुयायी छन् । यस हिसाबले अन्तर्राष्ट्रिय स्तरमा नेपालको मार्सल आर्ट्सले प्रभुत्व जमाउनुपर्ने हो । विगतमा मार्सल आर्ट्समा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रै थियो तर अहिले मार्सल आर्ट्समा नेपालको छवि खस्कँदै गएको छ । होङजाउ एसियाड पनि यसको ज्वलन्त उदाहरण बन्यो । एसियाडमा सबैभन्दा बढी पदक जित्ने तेक्वान्दोले सबैभन्दा बढी निराश पा¥यो । एक, दुई भिडन्तबाहेक मार्सल आर्ट्सका सबै खेलमा नेपाली खेलाडीको प्रदर्शन बेहाल थियो । ब्याडमिन्टन, गल्फ, टेबलटेनिस, टेनिस, आर्चरी, कुस्ती, सुटिङ, साइक्लिङ, भारोत्तोलन, भलिबल जस्ता अन्य खेललाई एसियाली खेलकुद अनुभव प्राप्त गर्ने प्रतियोगिताका रूपमा मात्र लिइएको थियो । भयो पनि त्यस्तै ।
नयाँ स्टार एरिका
होङजाउ एसियाडमा नेपालले एरिका गुरुङका रूपमा नयाँ स्टार खेलाडी पायो । एसियाड सकिन एक दिनअघि एरिकाले कराँतेमा रजत पदक जितेर आफूलाई देशले चिन्ने बनाउनुभयो । यसअघि एरिका खासै सुनिएको नाम थिएन । एरिका अहिले १९ वर्षकी मात्र हुनुभयो । एरिकासँग खासै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव पनि छैन । उहाँ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेको नै पहिलो पटक हो । एसियाडको तयारीस्वरूप इन्डोनेसियामा खेलेको वल्र्ड सितेरियो कराँते च्याम्पियनसिप एरिकाको पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो । सो प्रतियोगितामा पनि एरिकाले एक स्वर्ण र एक कांस्य पदक जितेर आफ्नो क्षमता देखाइसक्नुभएको थियो तर पनि एसियाड बेग्लै स्तरको प्रतियोगिता थियो । जहाँ विश्व च्याम्पियन खेलाडीको सहभागिता थियो । सायद त्यसैले एरिकाबाट ठुलो अपेक्षा गरिएको थिएन ।
यद्यपि एरिकाले नेपाली खेलकुद इतिहासकै व्यक्तिगत सबभन्दा ठुलो पदकको बराबरी गर्नुभयो । २५ वर्षअघि बैङ्ककमा भएको १३ औँ एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले ऐतिहासिक रजत पदक हासिल गर्नुभएको थियो । अझ एरिकासमक्ष नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जित्ने अवसर थियो । दावेदार जापानी एजुकी सबाइलाई क्वाटरफाइनलमा हराएपछि एरिका पहिलो पटक सबैको नजरमा पर्नुभयो ।
जापान कराँतेको जननी राष्ट्र हो । कराँतेमा जापानी खेलाडी प्रायः पदक दावेदारका रूपमा रहेका हुन्छन् । जापानी खेलाडीलाई स्तब्ध पारेर मनोबल उच्च पारेकी एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई सजिलै ८–४ ले हराउनुभयो । त्यसपछि नेपालको सङ्ग्रहमा पहिलो पटक एसियाली खेलकुदको स्वर्ण पदक पनि रहने सम्भावना बनेको थियो तर एरिकाले स्वर्ण पदकको अन्तिम बाधा पार गर्न सक्नुभएन ।
महिला कबड्डीले दिएको खुसी
होङजाउ एसियाली खेलकुदमा सबै खेलमा लगातार पराजय मात्र भोगिरहेको नेपालको यस पटक पदकविहीन बन्ने छाँट देखियो तर दसौँ दिन नेपाली महिला कबड्डीबाट एक्कासि खुसीको समाचार आयो । नेपालले बङ्गलादेशलाई हराएपछि कांस्य पदक लगभग पक्का गरेको थियो । नेपाली महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराइएको थियो । नेपाललाई पदक दिलाउने सम्भावना बोकेको खेलमा यो टिमलाई राखिएको थिएन तर अपेक्षाविपरीत महिला कबड्डी टोलीले नेपाललाई पदक दिलायो ।
यसबाट महिला कबड्डीले नेपाली खेलकुदका थिङ्क ट्याङ्कलाई सोच्न बाध्य बनाएको छ । उचित लगानी गरेमा यस खेलले नेपाललाई ठुलो पदक दिलाउन सक्छ भनेर नेपाली महिला कबड्डीले सन्देश दिएको छ । हुन त करिब छ वर्षअघि भलिबललाई राष्ट्रिय खेल घोषित गर्नुअघि कबड्डी नेपालको राष्ट्रिय खेलका रूपमा रहेको थियो । वर्षौंसम्म नेपालका राष्ट्रिय खेल कबड्डी, डण्डीबियो हुन् भनेर सामान्य ज्ञानमा उल्लेख भए तर पनि नेपालमा कबड्डीको स्थिति दयनीय थियो । सम्बन्धित निकायको व्यवहारले राष्ट्रिय खेल मान्नु त कता हो कता, यसलाई खेलकुदको अङ्ग पनि मानेको छैन भन्ने प्रतीत हुन्थ्यो ।
नेपालको महिला कबड्डीले पछिल्लो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेर वाहवाही कमाएपछि भने यस खेलमा ध्यान दिन सरोकारवालाहरू बाध्य बने । त्यसैले पनि महिला कबड्डीलाई पहिलो पटक एसियाली खेलकुदमा सहभागी गराइएको हो । जे होस्, यस सफलतापछि नेपाली खेलकुदमा कबड्डीलाई सम्मानका साथ हेरिने पक्का छ ।
नेपालले विश्व क्रिकेटको ध्यान तान्यो
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेशपछि सधैँ वाहवाही मात्र कमाएको नेपाली क्रिकेट टिमले एसियाडबाट आफ्नो छवि अझ उच्च पा¥यो । मङ्गोलियाविरुद्धको खेलमा टी–२० संरचनाका लगभग सबैजसो विश्वकीर्तिमान आफ्नो नाममा लेखाएर विश्व क्रिकेटको ध्यान तान्यो । सो खेलपछि नेपाललाई एसियाडमा पदकको दावेदारका रूपमा पनि हेरिएको थियो तर क्वाटरफाइनलमा उपाधि विजेता भारतसँग परेपछि नेपाललाई घाटा भयो । यद्यपि नेपालले भारतलाई पनि आच्छुआच्छु पारेको थियो । मङ्गोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा आठ छक्का र एउटा दुई रनसहित अर्धशतक बनाएर विश्वकीर्तिमान बनाउनुभयो । पहिलो छ बलमा छ छक्कापछि दुई रन र त्यसपछि दुई छक्का प्रहार गर्दै दीपेन्द्रले सो असाधारण पालि खेल्नुभएको हो । दीपेन्द्रको सो कीर्तिमान अमर रहने छ । दीपेन्द्रको यो कीर्तिमान बराबरी गर्न पनि ब्याट्सम्यानले नौ बलमा नौ छक्का नै प्रहार गर्नुपर्ने हुन्छ, जसको सम्भावना न्यून छ । अझ दीपेन्द्रले क्रिजमा आएको पहिलो बलदेखि नै छक्का हान्नुभएको थियो । क्रिकेटमा क्रिजमा आउनासाथ छक्का प्रहार गर्नु निकै कठिन मानिन्छ । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तेज अर्धशतकमा सधैँ दीपेन्द्रकै मात्र नाम आउने छ ।सो खेलमा युवा ब्याट्सम्यान कुशल मल्लले ५० बलमा अविजित १३७ रन बनाएर टी–२० मा सर्वाधिक तेज शतकको विश्वकीर्तिमान तोड्नुभयो । नेपालले २७३ रनको कीर्तिमान जितसहित टी–२० अन्तर्राष्ट्रियमा यो सबभन्दा फराकिलो जित हासिल ग¥यो । यसै गरी नेपालका पालिमा कुल २६ छक्का प्रहार भयो । त्यो पनि विश्वकीर्तिमान भयो ।
चीनको आयोजना र दबदबा
आजको चीन धेरै अगाडि छ । बेइजिङ ओलम्पिक, ग्वान्जाओ एसियाडपछि होङजाउले पनि आफूलाई विकास र समृद्धिमा धेरै अगाडि उभ्याएको देखायो । होङजाउ एसियाड खेलाडी, पदाधिकारी र खेलको आधारमा बृहत् एसियाली खेलकुदका रूपमा रह्यो । अर्को वर्ष फ्रान्सको पेरिसमा विश्वको सबभन्दा ठुलो खेलकुद मेला ओलम्पिक हुँदै छ । पेरिस ओलम्पिकमा दस हजार पाँच सय खेलाडी सामेल हुने छन् तर होङजाउ एसियाडमा ४५ देशका १२ हजार ४१७ खेलाडीले ४० खेलमा सहभागिता जनाएका थिए ।
होङजाउ सहरले यस खेलकुद मेलालाई सफल बनाउन ३० विलियन डलर खर्च गरेको थियो । आयोजना मात्र होइन, खेलमा पनि चीनले एकछत्र राज ग¥यो । चीन कुल २०१ स्वर्ण पदक हासिल गरी पदक तालिकाको शीर्ष स्थानमा रह्यो । सन् १९८२ देखि प्रत्येक एसियाली खेलकुदमा चीनले नै शीर्ष स्थान कायम गर्दै आएको छ तर यसपालि चीनको दबदबा अझ देखियो । दोस्रो स्थानमा रहेको जापानका स्वर्ण सङ्ख्या ५२ मात्र थियो । दक्षिण कोरिया ४२ स्वर्ण पदकका साथ तेस्रो स्थानमा रह्यो । यस पटकको एसियाडमा १३ विश्व कीर्तिमान बने । सुटिङ र भारोत्तोलनमा प्रायः विश्व कीर्तिमान बनेका हुन् । यसै गरी २६ एसियाली कीर्तिमान र ९७ गेमको कीर्तिमान कायम भए । यसपालि ब्रेक डान्स र स्पोर्ट्सले एसियाडमा पहिलो पटक ठाउँ पायो । यसमध्ये स्पोर्ट्स दर्शकको रुचिको हिसाबमा निकै सफल साबित भयो । २० औँ एसियाड तीन वर्षपछि जापानको नाओयामा हुने छ । अहिले नै आशा गरौँ, नेपालले सो संस्करणमा यसपालिभन्दा अझ बढी उपलब्धि हासिल गर्नेछ ।