• १३ साउन २०८१, आइतबार

पदमार्ग सुध्रिएसँगै पर्यटक आगमन वृद्धि

blog

तिलिचो ताल जानका लागि माथिल्लो मनाङ पुगेका कोरियाली पर्यटक ।

मनाङ समाचारदाता

मनाङ, असोज २७ गते । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटक बढ्दै जाँदा यहाँका होटल पनि भरिन थालेका छन्। मनाङ भ्रमणमा आउने यो उत्तम सिजन हो। असोज अन्त्यतिर आइपुग्दा मौसम अनुकूल भएकाले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो।

केही दिनअघिको प्रतिकूल मौसममा सुधार आएकाले पर्यटक आगमनमा बढोत्तरी भएको होटल व्यवसायी बताउँछन्। दिनप्रतिदिन मनाङ अन्तर्गतको अन्नपूर्ण पदमार्ग चलायमान बन्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) ले जनाएको छ। 

दुई वर्ष कोभिडका कारणले पूर्ण रूपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिने एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो। उहाँले भन्नुभयो, “सिजन सुरु भएसँगै दैनिक १५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका छन्।” 

मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल र विश्वकै १० औँ स्थानको जोखिमयुक्त पदमार्ग अन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन्। सन् २०२३ को सुरुवातदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको एक्यापको तथ्याङ्कमा देखिन्छ। सन् २०२३ को जनवरीमा ४२ देशका नागरिक मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क छ।

हिमपात भएपछि हिउँपहिरो आउन सक्ने भएकाले पूर्ण रूपमा यात्रा रोकिन्छ तर यस पटक हिमपात भएको छैन। पर्यटकलाई यात्रामा सहज हुन्छ। एक्यापको तथ्याङ्कमा सबैभन्दा बढी कोरियाली आएका छन्। कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुनाले पनि हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेका छन्। एक्यापले विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिने गरेको छ। 

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जोखिमयुक्त यात्रा गर्नुपर्ने भएकाले सचेतता अपनाउन सुझाव दिने गरेको बताउनुभयो। 

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरूको आकर्षण बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक भएको गुरुङको भनाइ छ। उहाँका अनुसार जिल्लामा करिब साना ठुला गरी तीन सय होटल रहेका छन्। 

लमजुङस्थित पर्यटन सेवा प्रदायक संस्था टिम्सको कार्यालय कोभिड–१९ पछि पुनः नियमित हुन सकेको छैन। पछिल्लो समय अन्नपूर्ण पदमार्गमा आएका बाह्य पर्यटकका लागि टिम्स र नेपाली सहयोगी अनिवार्य भने पनि टिम्सको कार्यालय हालसम्म सञ्चालनमा आएको छैन। 

जिल्लामा ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले पर्यटनसम्बन्धी सेवा प्रवाह गर्दै आएका थिए तर सन् २०२० देखि टिम्सको कार्यालय पूर्ण रूपमा बन्द भएको थियो। कोभिडको प्रभावसँगै जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटक जाँच केन्द्र एक्याप र टानले पर्यटक आगमनमा कमी हुन थालेपछि कार्यालय नै बन्द गराएका थिए। बेँसीसहरस्थित टिम्सको कार्यालय विस्थापित भएपछि अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा मात्रै पर्यटक जाँच हुने गरेको छ।