• ९ मंसिर २०८१, आइतबार

परदेशमा देशको सम्झना

blog

जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँसी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको यादले विदेशमा जति सुखसयल भए पनि मन अमिलो हुन्छ । नारायणगोपालको स्वर लहरीमा गुञ्जेको गीतमा झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ, म खेले जहाँ त्यही आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ जस्ता सुमधुर गीतका आवाजले मन चसक चसक बिझाउँछ । 

देश छोडेर आउने बेलामा नै हामी (परदेशी) अभागीहरूले मुटु कठोर बनाउने अभ्यास गरेर आएका हुन्छौँ । त्यसैले जे जस्तो भए पनि सहने बानी परेको छ । हामीलाई चुनाव आउँदा पनि आफ्नो प्रतिनिधि आफैँ छान्ने अवसरबाट वञ्चित हुनु परेकोमा दुःख लाग्छ । हाम्रा जनप्रतिनिधि हामीले छान्न नपाउनु दुर्भाग्य नै भन्नु पर्छ । यसरी मत जाहेर गर्न नसक्नेको सङ्ख्या अर्थात् परदेशीको सङ्ख्या ७० लाखभन्दा बढी पुगेको छ । 

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा कतिपय प्राविधिक जटिलता होलान् । व्यवस्थापकीय असहजता छन् होला । तथापि आजको हाइटेक दुनियाँमा सरकार सत्ता र राजनीतिक दलहरूले चाहे भने यो असम्भव पनि छैन । परदेशी सुखको खोजी गर्न, आफ्ना परिवार बालबच्चाको भविष्य सुनौलो बनाउने सपना देखेर, ज्ञान विज्ञानको भोक मेट्न पनि संसारका कुना कुनासम्म पुगेका नेपालीलाई मताधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्नु राज्यको पहिलो दायित्व पनि हो । 

विदेशमा बस्ने नेपालीले पनि आफ्नो प्रतिनिधि आफैँ रोज्न पाउने विषय अदालतसम्म पुगेकाले कुनै दिन यो माग पूरा हुने छ भन्ने विश्वास छ । आफैँले चुनेको प्रतिनिधि र गरेको निर्णयप्रति खुसी हुने र दुःखी हुने अवसर पाए राष्ट्रप्रतिको दायित्व सधैँ नवीकरण हुन्थ्यो भन्ने बिदेसिएका नेपालीको माग छ । विश्वको जुनसुकै कुनामा बसेर पनि नेपाली माटोको सेवा गर्न सकिन्छ, आफ्ना दाजुभाइको पीरमर्कामा मलपपट्टी लगाउन सकिन्छ भने त्यो अवसर परदेशमा बसेका नेपालीलाई किन नदिने भन्ने प्रश्न अहम् रूपमा खडा भएको छ । 

आफ्नो देशमा गुजारा हुन्थ्यो र आफूले उब्जाएको आँटो पिठो सहजै बिक्थ्यो भने विरानो मुलुकमा आएर हाड, छाला घोट्ने रहर पक्कै कुनै नेपालीको हुने थिएन । पढ्न, सिक्न आएकाहरू पनि सिप अनुसारको काम पाए आफ्नै देशमा बस्ने थिए । अस्ति भर्खरै दिवङ्गत हुनुभएका पूर्वसभामुख र संविधान सभाध्यक्ष सुवास नेम्वाङको शवले समेत छोराहरूको विदेशबाट आगमनका लागि तीन दिन कुरेर बस्नु प¥यो । यो एउटा विशिष्ट मान्छेकै घरको एउटा घटनाले समग्र नेपाली घरपरिवार र परेदशीको अवस्था चित्रण गरेको छ । 

आजभोलि दिन्दिनै कुनै न कुनै घटना र दुर्घटनामा नेपालीले ज्यान गुमाएको खबर पाइन्छ । बाकसमा आफ्नै सहकर्मी, छिमेकी र नेपालीको लास देश फर्काउन अनेक ठाउँमा हारगुहार गर्दा, दूतावास धाउँदा, आफ्नै पनि कुन दिन यस्तै नियति हुने हो भनेर मन अतासिन्छ, मुटु काँप्छ, भक्कानिन्छ । यही दुर्दशाले छाती पोल्छ, आँसु झर्छन् । बेचैनी हुन्छ । यो विरानो मुलुक छोडेर आफ्नै आमाको काख जाउँ जाउँ पनि लाग्छ तर गाउँ फर्केर पनि के गर्ने ? उचित अवसर र वातावरण छैन । 

अर्काको देशमा श्रम, पसिना, आँसु र रगतले सिञ्चन गरेर मलिलो बनाउन, बालुवामा फसल फलाउन लाग्नुभन्दा एक थोपा पसिना भए पनि आफ्नै देशमा पोख्न मन नलाग्ने त होइन ? तर मरुभूमिमा सुन फलाएको श्रम र सिप आफ्नो मातृभूमिको मुहार फेर्न लगाउन सकिएको छैन । 

एक गाँस खान र एक आङ ढाक्न अनि श्रीमती, छोराछोरीको भविष्य बनाउन सकिन्छ कि भनेर मरुभूमिमा पसिना बगाउन आएका छाैँ हामी परदेशी । नेपालीको सेवा भाव, सहयोग गर्ने बानी, परिश्रम, जोखिम मोलेर काम फत्ते गराइछोड्ने आँटप्रति विदेशी रोजगारदाता पनि यदाकदा प्रशंसा गर्छन् । त्यति बेला संसार नै जितेको अनुभूति हुन्छ तर विदेश भनेको अर्काको देश नै हो । उनीहरूले ज्याला दिएपछि काममा जोत्छन्, पुच्छर निमोठी रहन्छन् । ज्यानको सुख, सुविस्ता, सन्चो, विरामको ख्याल राख्दैनन् । ती पीडा हामीसँग कति छन् कति ! त्यसको लेखाजोखा गर्ने हो भने त मन उतै फर्किऊ झैँ हुन्छ ।

परदेशमा बस्दा बिरामी भएको छुट मिल्दैन । मानवीय अर्थ र महँव भुलेर काम, काम र फगत कामको लागि जोडबल गर्नु पर्छ । आफ्नो देशमा यति दुःख गरियो भने के असम्भव छ र जस्तो लाग्छ तर फेरि आफ्नै अतीतले दुखाउँछ, पोल्छ भत्भती । मैले अनि हामीले त्यसै गाउँ छोडिएको थिएन भनेर मनभित्रै गुनगुनाउनु पर्छ ।

परदेशमा धेरै थोक छ तर देश छैन, आमाको ममत्व छैन, बुवाको अभिभावकीय हप्की छैन । काकाको स्नेह छैन । वनमा कराउने कोइलीको कुहु कुहु छैन, घाँस दाउरा र गोठालो जाँदा साइँली दिदीले ल्याइदिने चुत्रो छैन । ऐसेलु र काफल खल्तीमा बोकेर ल्याइदिने मायालु चम्पा छैन । केवल यहाँ छ साहु अनि उसका निर्दयी आदेशहरू मात्र । यन्त्रमानव भएर छाती चिरा पारेर काम गर्दै बाँचेका छाैँ ।

वैदेशिक रोजगारी पनि आधुनिक दास जस्तै हो । यहाँ मजदुरको कुनै स्वतन्त्रता छैन । काम गर्न सक्यो, परदेशमा बस्यो, काम गर्न सकिएन परदेश विरानो देश हुन्छ । उखरमाउलो गर्मीमा खलखली पसिना बगाएर काममा जोतिनु र शून्य डिग्रीभन्दा तल रगत जम्ने चिसोमा काम गरेर बस्नु हामी परदेशीको नियति हो । देश सम्झँदा आँखाबाट आँसु होइन, रगत चुहिन्छ । इजरायलमा बमबारी भएको सुनेर र नेपाली विचल्लीमा परेका, घाइते भएका सुनेर हरेक परदेशीको मन बेस्सरी दुःखेको छ । 

प्रवासमा बसेर रेमिट्यान्स पठाएर देश धानेको छु भन्ने सन्तोष र घर परिवारलाई आर्थिक रूपमा जेनतेन चलाएको छु भन्नेबाहेक अर्र्र्काे सन्तोष गर्ने विषय परदेशीका लागि छैन । हाम्रा गाउँ युवाविहीन भएका छन्, खेतबारी बाँझो भएका छन् । जहाँ बसे पनि देशको माया छ, आँखाभरि देश बनाउने सपना छ तर देशले हामी जस्ता युवा स्वदेशमै राख्ने नीति बनाएको छैन । त्यसैले बिदेसिनुको पीडा छ, सरकारले ध्यान देओस् । देशका सिर्जनात्मक पाखुरी र रचनात्मक दिमागलाई स्वदेशमा नै राख्न मिलेर काम गर्ने, युवालाई स्वदेशमै लगानी र रोजगारीको वातावरण निर्माण गर्न सबैको ध्यान जाओस् । बाध्यताले परदेशिएको नेपाली स्वदेश फर्कन आतुर छ । त्यस दिशातर्फ सरकारले ध्यान दिनु आवश्यक भइसकेको छ । 

  

Author

सञ्जीव कार्की