रेखीराम राना
पाल्पा, असोज २५ गते । बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीमा पहिलो पटक बिजुली बत्तीको पहुँच पुगेको छ । निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुलीबत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।
गाउँमा बिजुली बत्ती बाल्ने डेढ दशकदेखिको सपना पूरा भएको यहाँका बासिन्दाले बताएका छन् । बिजुली बत्ती बाल्न यहाँका बासिन्दाले सामुदायिक विद्युतीकरण मार्फत घरको खसी, बोका तथा सुँगुरका पाठा बेचेर रकम उठाएका थिए । उक्त रकम उठाएको डेढ दशकसम्म विद्युतीकरण हुन सकेको थिएन ।
घरमा बिजुली बत्ती बाल्ने सपनासहित विद्युतीकरणका लागि पाँच हजारदेखि दश हजार रकम उठाएको डेढ दशकपछि बल्ल बत्ती बाल्न पाएको स्थानीय बासिन्दा टेकबहादुर पल्लीले बताउनुभयो । बिजुली बत्ती बलेपछि आफूहरूले बिजुली बाल्ने सपना पूरा भएको र अबदेखि टुकीको सहारा लिन नपर्ने भएको उहाँले बताउनुभयो ।
निस्दीका अधिकांश वडामा बिजुलीबत्ती बाल्नका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गरेपछि काम भएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । गाउँमा विद्युतीकरण भएपछि निस्दीका जनताले आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउने अध्यक्ष सारुले बताउनुभयो ।
निस्दी –७ का वडाध्यक्ष मुक्तबहादुर पाटाले ज्यामिरेको धेरैजसो टोलमा विद्युतीकरण भइसकेको र बाँकी बेभोके, रोल्लाबास, मदनपुर लगायतका स्थानमा पनि छिट्टै बत्ती बल्ने बताउनुभयो ।
गाउँमा बिजुली बत्ती आएपछि विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ । बिजुली बत्तीको सहज उपलब्धताले अब गाउँमा धेरै काम हुने र अन्य जान नपर्ने स्थानीय रामबहादुर विश्वकर्माले बताउनुभयो ।