• १७ वैशाख २०८२, बुधबार

पाँचथरमा डायलासिस सेवा

blog

फिदिम समाचारदाता

फिदिम, असोज २५ गते । पाँचथर जिल्ला अस्पतालमा बुधबार पहिलो पटक बिरामीको डायलासिस गरिएको छ । डा. गणेश बनेको टोलीले फिदिम नगरपालिका–१० का ४४ वर्षीय जयबहादुर तावाको डायलासिस गरेको हो ।

जयबहादुरका भाइ पृथ्वीका अनुसार दुवै मिर्गौला फेल भएका तावाले करिब दुई वर्षअघि एक पटक डायलासिस गर्नुभएको थियो । “कमजोर आर्थिक अवस्थाका कारण दोहो¥याएर सेवा लिन सक्नुभएको थिएन । जिल्लामै सेवा सुरु भएपछि दाजुको डायलासिस गर्न पाउँदा खुसी लागेको छ,” पृथ्वीले भन्नुभयो । वडाध्यक्ष कमल चापागाईंले जिल्ला अस्पतालमा डायलासिसका लागि ल्याउन सहजीकरण गर्नुभएको पनि पृथ्वीको भनाइ छ । मिर्गौलाले काम नगरेपछि शरीर पूरै सुन्निएको अवस्थामा अस्पताल आएका तावाको पाँचथर अस्पतालमा निःशुल्क डायलासिस गरिएको थियो । पाँचथर अस्पताललाई डायलासिस गर्न अनुदानमा उपलब्ध गराएको हेमो डायलासिस मेसिन दुई दिनअघि मात्रै जडान गरिएको थियो । मेसिन आउने पक्का भएपछि अस्पताल विकास समितिले एक जना डायलासिस टेक्निसियन नर्स पनि नियुक्त गरिसकेको छ । 

आर्थिक अभावका कारण डायलासिस गर्न नपाएका बिरामीलक्षित सेवा गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बेले बताउनुभयो । उहाँका अनुसार दसैँपछि यो सेवा नियमित गरिने छ । तावाको डायलासिस गर्न गणेश बनेको नेतृत्वमा डाक्टरहरू भाष्कर झा, प्राञ्जलचन्द्र पौडेल र डायलासिस टेक्निसियन (नर्स) नीलिमा बान्तावा राईको टोली खटिएको  थियो । तावालाई ‘डबल क्याथेटर’ राखेर डायलासिस गरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

पहिलो पटक गरिएको डायलासिस सेवा सफल भएसँगै स्वास्थ्यकर्मी र स्थानीयवासी उत्साहित भएका छन् । यसअघि साबिक मेची अञ्चलका इलाम जिल्ला अस्पताल र मेची अञ्चल अस्पताल झापामा मात्रै डायलासिस सेवा सञ्चालनमा थियो ।