काठमाडौं, असोज २४ गते । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताउनुभएको छ ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताउनु भयो ।
उपाध्यक्ष पाण्डेले स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य निभाउन आवश्यक रहेको बताउनु भयो । उहाँले फाइललाई वर्षौँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले आयोगले कमजोरी गरेको बखतमा बाहेक न्याय दिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।
‘‘कतिपय ऐन बनाउने सवालमा उहाँहरूलाई पाएको अधिकारलाई पनि अलिकति दुरुपयोग हुने काम भएको छ । त्यतातिर हामीले ध्यान दिनुपर्छ । स्थानीय तहमा सहभागी भएका राजनीतिक दलहरूले आफ्नो दलका कार्यकर्तालाई ठिक ठाउँमा राख्ने कर्तव्य हाम्रो पनि हो । कहिले कहीँ अख्तियारले सम्झाउँछ, कहिले कहीँ आफैँले पनि सम्झिँदा हुन्छ ।,’’ उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘यतातिर पनि हामीले ध्यान दिनुपर्छ । फाइललाई वर्षौँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ की छैन ? रातो घरको बेसगरी आतङ्क छ । त्यो आतङ्क होइन, कमजोरी गरे भने छुट्टै हो नत्र यो घरले न्याय दिन्छ भन्ने विश्वास जगाउनु पर्छ । यो विश्वासमा केही कमी भएका छन् । अनुचित कार्य अनुचित ढङ्गले नै प्रयोग भएकाले संविधानबाट पनि यो शब्द हटाउनु परेको हो । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि एक्सपोटिजको विकास गर्ने ढङ्गले लाग्नुपर्छ । क्षमता वृद्धिको लागि भूमिका खेल्नुपर्छ ।’’ सांसद पाण्डेले अख्तियारमा क्षमता वृद्धि हुन जरुरी रहेको बताउनु भयो ।